यती एयरलाइन्सले आफ्ना सबै जहाजबाट प्लाष्टिक कप विस्थापित गरेको छ । एयरलाइन्सले यात्रुलाई पानी तथा पेय पदार्थ दिन प्रयोग भइरहेको प्लाष्टिक कपको सट्टा पेपर (कागज) कप प्रयोगमा ल्याएको छ।
पेपरकपको उद्घाटन कार्यक्रममा सहभागी हुँदै युनएनडिपीकी आवासीय प्रतिनिधि आइसियानी लेबेले यती एअरलाइन्सको यो प्रयास अत्यन्तै सकारात्मक रहेको बताइन्।
यती एअरलाइन्स नेपालमा कार्वन न्युट्रल अभियान शुरुवात गर्ने पहिलो र एकमात्र हवाई कम्पनी भएकोले विमानमा प्रयोग भइरहेको प्लाष्टिक कपलाई विस्थापित गरेको एअरलाइन्सका प्रवक्ता भिमराज राईले जानकारी दिए । प्लाष्टिक कप विस्थापन कार्य कार्वन न्युट्रल अभियानमा थप एक कदम रहेको बताउँदै प्लाष्टिकको सट्टा पेपर कपको प्रयोगले वातावरण सफा हुने र कार्वन उत्सर्जनमा कमी आउने उनको भनाइ छ।
पेपर कपसँगै यती एअरलाइन्सले थप २ वटा विद्युतीय कार प्रयोगमा ल्याएको छ । कार्वन न्युट्रलको अभियानमा यती एयरलाइन्सको यो थप प्रयास भएको राईले बताए।
यतीले सहस्राब्दी दीगो विकास लक्ष्य पूरा गर्न संयुक्त राष्ट्र संघ विकास नियोग (युएनडिपि) सँग सहकार्य गरिरहेको छ ।