चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा नेपालमा महँगी ६. ५५ प्रतिशतले बढेको छ। सरकारले बजेट वक्तव्यमार्फत यस आर्थिक वर्षमा मूल्यवृद्धि साढे ६ प्रतिशतमा सीमित राख्ने लक्ष्य लिएको छ।
राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार साउनदेखि मंसिरसम्म बस्तु तथा सेवाको मूल्यवृद्धि अर्थात मुद्रास्फिति ६.५५ प्रतिशत छ। गत वर्षको सोही अवधिमा मुद्रास्फिति ३.७१ प्रतिशत मात्रै थियो।
यो अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ९.७६ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्यवृद्धि ४.१० प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।
खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत तरकारी, मसला, फलफूल, दाल तथा गेडागुडी उपसमूहको मूल्य वृद्धि उच्च छ। गैर–खाद्य तथा सेवा समूह अन्तर्गत शिक्षा, लुगा, जुत्ता र फर्निसिङ तथा घरायसी उपकरणहरु उपसमूहको मूल्य उच्च छ।
समीक्षा अवधिमा काठमाडौं उपत्यकामा ७.६० प्रतिशत, तराईमा ६.६६ प्रतिशत, पहाडमा ५.२७ प्रतिशत र हिमालमा ४.८३ प्रतिशत मूल्यवृद्धि भएको राष्ट्र बैंकले जनाएको छ।