सरकारले राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने व्यक्ति तथा संस्थालाई महत्वपूर्ण व्यवसायिक व्यक्ति (सिआइपी) सम्मान गर्ने भएको छ।
तेस्रो मुलुकतर्फ निकासी रकमको आधारमा, भारततर्फ रकमको आधारमा निकासीकर्ता, चीनतर्फ रकमको आधारमा निकासीकर्ता, कृषिजन्यतर्फ, जडिबुटीतर्फ, निर्यात व्यापारतर्फ, सफ्टवेयर निर्यातकर्ता, सबैभन्दा बढी लगानी गर्नेतर्फ, सबैभन्दा बढी रोजगारी सिर्जना गर्ने, बैङ्किङ प्रणालीबाट कारोबार गरि वैदेशिक मुद्रा भित्र्याउनेलाई सिआइपी सम्मान गर्ने भएको छ।
त्यस्तै, पर्यटन क्षेत्रबाट, युवा उद्यमीतर्फबाट र निर्यात व्यापारका साथै वाणिज्य क्षेत्रमा प्रबद्र्धनात्मक कार्य गरी आर्थिक विकासमा उल्लेख्य योेगदान र्पुयाएका संघका अध्यक्षहरुलाई सिआइपी सम्मान गर्ने भएको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रकी सूचना अधिकारी शान्तिदेवी मल्लले जानकारी दिइन्।
तेस्रो मुलुकतर्फ निकासी रकमको आधारमा धागोतर्फ त्रिवणी स्पिनिङ मिल्सका अध्यक्ष रामचन्द्र संघाई, ऊनी गलैचातर्फ दि साङ्ग्रिला कार्पेट एण्ड ह्याण्डिक्राफ्टस उद्योगका प्रबन्ध सञ्चालक दोर्जे ग्याल्सेन लामा, तयारी पोसाकतर्फ काठमाडौं स्टार फेसनका प्रबन्ध निर्देशक राहुलमान शाक्य, पश्मिना सलतर्फ एभेरेष्ट पश्मिनाका सञ्चालक सूर्यकुमार गुरुङ र उनी फेल्ट उत्पादनतर्फ एभरेष्ट फेसनका प्रतिनिधि रवीन श्रेष्ठ सिन्या छन्।
भारततर्फ रकमको आधारमा निकासीकर्तामध्येबाट डाबर नेपालका हरकिरत सिंह बेदी, आरती स्ट्राईप्सका दिव्यराज सापकोटा र हुलास वायर इन्डष्ट्रिजका युक्ति गोल्छा रहेका छन्।
यस्तै चीनतर्फ रकमको आधारमा निकासीकर्तामध्येबाट न्यु हस्तकला एक्स्पोर्टका पेम्बा दोर्जे शेर्पा, गणेश हिमाल इम्र्पोटका विश्वराज बस्नेत, न्यु प्यागोडा इन्टरप्राइजका मछिन्द्र पाण्डे र पिपुल्स क्राफ्ट एक्सपोर्टका प्रोपाइटर गोपी प्रसाद कँडेल छन्।
कृषिजन्यतर्फ मनराम हिमालयन ह्याण्डिक्राफ्टसका प्रबन्ध निर्देशक सुजन कुमार श्रेष्ठ, जडिबुटीतर्फ सिजी बायोटेक प्रालिका अध्यक्ष निर्वाणकुमार चौधरी छन्।
निर्यात व्यापारतर्फ हुलास वायर इन्डष्ट्रिका प्रबन्ध निर्देशक राजलक्ष्मी गोल्छालाई सीआईपी अवार्ड दिइने भएको छ।
सफ्टवेयर निर्यातकर्ता दीपेश प्रधान रहेका छन्। उद्योग स्थापना भई सञ्चालनमा रहेका सबैभन्दा बढी लगानी गर्ने (स्वदेशी श्रम र सीप उपयोग गर्ने) उत्पादनमुलक उद्योगतर्फ होङ्शी सिमेन्टका प्रबन्ध निर्देशक लीऊ शु कुवाङ छन्।
सबैभन्दा बढी रोजगारी सिर्जना गर्ने उद्यागी व्यवसायीतर्फबाट पवनकुमार गोल्यान छन् भने बैकिङ प्रणालीमार्फत रेमिट्यान्स कारोबार गरी सबैभन्दा बढी वैदेशिक मुद्रा भित्र्याउने कम्पनी–व्यवसायीबाट चन्द्रप्रसाद ढकाल छन्।
यस्तै पर्यटन क्षेत्रबाट सबैभन्दा बढी विदेशी मुद्रा आर्जन गर्ने होटल व्यवसायीबाट सुरेश लाल श्रेष्ठ छन्। युवा उद्यमीतर्फबाट महिलामा सुनिता शेर्पा र पुरुषमा अक्षय गोल्यान रहेका छन् ।
निर्यात व्यापारका साथै वाणिज्य क्षेत्रमा प्रबद्र्धनात्मक कार्य गरी आर्थिक विकासमा उल्लेख्य योेगदान र्पुयाएका संघका अध्यक्षहरुमा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी रााणा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ र नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोर रहेका छन्।
महत्वपूर्ण व्यावसायिक व्यक्ति (सिआइपी) छनोट, सम्मान तथा सुविधासम्बन्धी कार्यविधि २०७४ अनुसार सिआइपी दिइने भएको हो।
यस्तो सम्मान पाउने व्यक्तिले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भिआइपीको दर्जा पाउँछन्। उनीहरुका लागि सिंहदरबार तथा उच्चपदस्थहरुसँग भेट्न पनि सहज हुन्छ।
सिआइपीबाट सम्मानित हुने उद्योगी व्यवसायीलाई माघ २८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान प्रदान गर्ने केन्द्रकी सूचना अधिकारी मल्लले जानकारी दिइन्।