सरकारले कुखुराको मासुको मूल्य बढाउने व्यवसायीलाई कारबाही गर्ने भएको छ। एक्कासी कुखुराको मासुको मूल्य दिन प्रतिदिन बढ्दै गएपछि कारबाही गर्ने भएको हो।
व्यवसायीले एक्कासी मासूको मूल्य बढाएपछि के कारणले बढाइएको हो। त्यसको कारण खोज्न थालिएको वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले जानकारी दिए।
‘हामी अहिले के कारणले मासुको मूल्य बढेको हो अनुगमन गर्दै छौँ, यदी व्यवसायीले बिना कारण आफ्नै मनोमानी ढङ्गले मूल्य बढाएको पाइयो भने उपभोक्ता संरक्षण ऐनअनुसार कारबाही गछौँ,’ उनले भने।
यस सँगै पछिल्लो समय लसुनको मूल्य पनि ह्वात्तै बढेको छ। यसमा पनि विभागले अनुगमन गर्न थालेको महानिर्देशक सुवेदीले बताए। उनका अनुसार लसुन अनुगमनमा लसुनको स्टक नै सकिएको पाइयो।
व्यवसायीले माघको पहिलो हप्तादेखि मासुमा अत्यधिक मूल्यवृद्धि गर्दै आएका छन्।
माघ पहिलो हप्तासम्म मासु प्रतिकेजी २८० देखि ३०० रूपैयाँसम्म थियो। दोस्रो हप्ता ३६० देखि ३७० सम्म पुग्यो। तेस्रो हप्ता आइपुग्दा ४१० देखि ४२० रूपैयाँसम्म पुगेको छ। तीन सातामै १ सय ३० रूपैयाँले मूल्य बढेको छ।
मङ्सिर २९ देखि पुस ८ गतेसम्म ह्याचरी उद्योग संघले चल्ला उत्पादन नगर्ने घोषणा गरी करिब ५० लाख चल्ला र ५० करोड मूल्य बराबरको अण्डा नष्ट गरेका थिए।
१० दिनमा हुने करिब ६० लाख चल्ला उत्पादन नभएपछि बजारमा मासुको कृत्रिम अभाव सिर्जना भई मूल्य बढेको जानकारहरू बताउँछन्।
काठमाडौं, धनगढी, बुटवल, चितवन, पोखरालगायतका ठाउँका चल्ला तथा अन्डा नष्ट गरिएको थियो।