भारतले नेपाललाई पाम आयल निर्यात गर्न अनुमति दिएको छ। भारतले एक महिनादेखि ‘रोक’ लगाएको पाम ओयलको आयात खोलिदिन नेपाल सरकारले भारतीय पक्षलाई आग्रह गरेपछि निर्यात अनुमति दिएको हो।
भारतले पाम आयल निर्यात गर्न अनुमति दिएको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सेतोपाटीलाई जानकारी दिए।
‘भारतले नेपाललाई मौखिकरूपमा पाम आयल निर्यात अनुमति दिएको छ, लिखितरूपमा भने आएको छैन,’ मन्त्री भट्टले भने।
एक उच्च स्रोतका अनुसार ६ फेब्रुअरीमा भारतले एक कम्पनीलाई निर्यात अनुमति दिएको छ। अरू कम्पनीले भने निर्यातका लागि निवेदन दिएका छन्।
पछिल्लो समय नेपालबाट उच्च निर्यात हुने वस्तुमा पाम आयल रहेको छ।
वनस्पती घ्यु उत्पादन गर्ने नेपाली उद्योगीहरूले इन्डोनेसीया र मलेसियाबाट पाम आयात गरेर प्रशोधन गरी भारत निर्यात गर्दै आएका थिए।
जनवरी ८ मा भारतीय सरकारले कुनै पनि प्रकारका रिफाईन्ड पाम आयलको आयात नगर्ने भनी आन्तरिक सूचना जारी गरी गर्यो।
जनवरी ९ अर्थात् पुस २४ देखि नेपालबाट पाम आयल भारत निर्यात भएको थिएन।
नेपालमा प्रशोधन हुने पाम आयलको प्रशोधन गुणस्तर हुनुका साथै उपभोक्ताले उपभोग गर्ने २ केजि, ५ केजि र १५ केजि लगायतको प्याकमा जाने गरेको मन्त्रालयका सहसचिब नवराज ढकालले जानकारी दिए।
‘नेपालबाट निर्यात हुने पाम आयलको प्रशोधन राम्रो छ। यसमा उद्योगीले ३० प्रतिशतभन्दा बढी भ्यालु याडिसन (मूल्य अभिवृद्धि कर) गरेका छन्’, उनले भने।
नेपालमा शिवशक्ति घ्यु उद्योग, स्वस्तिक आयल, श्रीकृष्ण आयल, शुसिल वनस्पति उद्योग, गणपति वनस्पति, सिद्धार्थ आयल, नन्दन घि यण्ड आयल, अन्नपूर्ण भेजिटेवल, पशुपति खाद्य तेल उद्योग, बाबा भेजिटेवल आयल, नारायणी आयल रिफाईनरी उद्योग, कुसुम आयल, बाग्मति आयल, श्रीराम रिफाईण्ड आयल, प्रोवायोटिक, ओसिवी फुड्स एण्ड फिड्स र महालक्ष्मी सोल्भेन्ट पाम आयल प्रशोधनगरि भारत निर्यात गर्दै आएका छन्।