सरकारले राष्ट्रिय अर्थतन्त्रमा योगदान दिने व्यक्ति तथा संस्थालाई महत्वपूर्ण व्यवसायिक व्यक्ति (सिआइपी) सम्मान गरेको छ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा राजधानीमा मङ्गलबार आयोजित एक कार्यक्रममा राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउने १३ विधामार्फत् २५ जना व्यक्ति तथा संस्थालाई सिआइपी सम्मान गरिएकाे हो।
सरकारले आर्थिक वर्ष ०७४/७५ को योगदानलाई आधार मानेर सम्मान गरेकाे हाे। सो आवमा उनीहरूबाट ३ खर्ब १८ अर्ब ६२ करोड ५६ लाख रूपैयाँ अर्थतन्त्रमा योगदान भएको छ।
सिआइपीबाट सम्मानित हुनेमा पाँच वस्तुहरूको सबैभन्दा बढी निकासी गर्ने निर्यातकर्ता/उद्योगीहरूमा धागोतर्फ त्रिवेणी स्पिनिङ मिल्सका अध्यक्ष रामचन्द्र संघाई, ऊनी गलैचातर्फ दि साङ्ग्रिला कार्पेट एण्ड ह्याण्डिक्राफ्टस उद्योगका प्रबन्ध सञ्चालक दोर्जे ग्याल्सेन लामा, तयारी पोसाकतर्फ काठमाडौं स्टार फेसनका प्रबन्ध निर्देशक राहुलमान शाक्य, पश्मिना सलतर्फ एभरेष्ट पश्मिनाका सञ्चालक सूर्यकुमार गुरुङ र उनी फेल्ट उत्पादनतर्फ एभरेष्ट फेसनका प्रतिनिधि रवीन श्रेष्ठ सिन्या रहेका छन्।
उनीहरुले देशको अर्थतन्त्रमा क्रमशः ३ अर्ब ५६ करोड २९ लाख, ९४ करोड १७ लाख, ८२ करोड ८७ लाख, ४८ करोड १४ लाख, ४८ करोड १४ लाख रूपैयाँकाे सामान निर्यात गरेर योगदान दिएका छन्।
भारततर्फ रकमका आधारमा प्रथम, दोस्रो र तेश्रो स्थान हासिल गर्ने नेपाली निर्यातकर्ता/उद्योगीहरूमा डाबर नेपालका हरकिरत सिंह बेदी, आरती स्ट्राईप्सका दिव्यराज सापकोटा र हुलास वायर इन्डष्ट्रिजका युक्ति गोल्छालाई सम्मानित गरियो।
उनीहरुले क्रमशः १२ अर्ब ७० करोड ६७ लाख, ५ अर्ब ३ करोड ३५ लाख, ४ अर्ब ९५ करोड ६० लाख रूपैयाँकाे सामान निर्यात गरेर योगदान गरेका छन्।
चीनतर्फ रकमको आधारमा प्रथम, दोस्रो र तेस्राे स्थान हासिल गर्ने नेपाली निर्यातकर्ता/उद्योगीमा न्यु हस्तकला एक्स्पोर्टका पेम्बा दोर्जे शेर्पा, गणेश हिमाल इम्पोर्ट तथा एक्सपोर्टका विश्वराज बस्नेत, न्यु प्यागोडा इन्टरप्राइजका मछिन्द्र पाण्डे र पिपुल्स क्राफ्ट एक्सपोर्टका प्रोपाइटर गोपी प्रसाद कँडेलले सिआइपी सम्मान पाएका छन्।
उनीहरुले क्रमशः २२ करोड ४२ लाख, १७ करोड ३७ लाख, ८३ बरोड ८४ लाख, ३१ करोड ८५ लाख, ४ अर्ब ९५ करोड ६० लाख, १९ करोड ११ लाख, १० अर्ब ७१ करोड अर्थतन्त्रमा योगदान गरेका छन्।
वाणिज्य नीति २०७२ र नेपाल व्यापार एकीकृत रणनीति २०७३ ले प्राथमिकतामा राखेका निर्यात सम्भावनायुक्त वस्तु मध्ये कृषिजन्य वस्तुहरुको सबैभन्दा बढी निर्यात गर्ने विधाबाट मनराम हिमालयन ह्याण्डिक्राफ्टसका प्रबन्ध निर्देशक सुजन कुमार श्रेष्ठ, जडिबुटीतर्फ सिजी बायोटेक प्रालिका अध्यक्ष निर्वाणकुमार चौधरी सम्मानित भएका छन्।
उनीहरूबाट क्रमशः ८३ करोड ८४ लाख, ३१ करोड ८५ लाख रूपैयाँ योगदान रहेको छ।
निर्यात व्यापारमा कूल रकमको आधारमा सबैभन्दा बढी रकमको निर्यात गर्ने महिला निर्यातकर्ता हुलास वायर इन्डष्ट्रिका प्रबन्ध निर्देशक राजलक्ष्मी गोल्छाले सीआईपी सम्मान पाएकी छिन्। उनीबाट ४ अर्ब ९५ करोड ६० लाख रूपैयाँ योगदान भएको छ।
सफ्टवेयर निर्यातमा रकमको आधारमा प्रथम स्थान हासिल गर्ने निर्यातकर्ता दीपेश प्रधान सिआइपी सम्मानबाट सम्मानित भएका छन्। उनीबाट १९ करोड ११ लाख रूपैयाँ योगदान भएको छ।
उद्योग स्थापना भई सञ्चालनमा रहेका सबैभन्दा बढी लगानी गर्ने (स्वदेशी श्रम र सीप उपयोग गर्ने) उत्पादनमूलक उद्योगका उत्कृष्ट व्यवसायी होङ्शी सिमेन्टका प्रबन्ध निर्देशक लीऊ शु कुवाङ सम्मानित भए। उनीमार्फत १० अर्ब ७१ करोड रूपैयाँ लगानीमा योगदान भएको छ।
सबैभन्दा बढी रोजगारी सिर्जना गर्ने उद्यागी व्यवसायीतर्फबाट सम्मानित हुनेमा पवनकुमार गोल्यान छन् भने बैकिङ प्रणालीमार्फत रेमिट्यान्स कारोबार गरी सबैभन्दा बढी वैदेशिक मुद्रा भित्र्याउने कम्पनी–व्यवसायीबाट चन्द्रप्रसाद ढकाल छन्।
पवन कुमार गोल्यानले रिलायन्स स्पिनिङ मिल्सबाट ४ हजार १२८ जनालाई रोजगारी प्रदान गरेका छन् भने चन्द्रप्रसाद ढकालले २६१ अर्ब ९८ करोड ५१ लाख बराबरको विप्रेषण भित्र्याउन योगदान दिएका छन्।
यस्तै पर्यटन क्षेत्रबाट सम्मानित हुनेमा सबैभन्दा बढी विदेशी मुद्रा आर्जन गर्ने होटल व्यवसायीबाट सुरेशलाल श्रेष्ठ छन्। श्रेष्ठले १ अर्ब ३ करोड २५ लाख रूपैयाँ विदेशी मुद्रा भित्र्याउन याेगदान दिएका छन्।
युवा उद्यमीतर्फबाट महिलामा सुनिता शेर्पा र पुरुषमा अक्षय गोल्यान सम्मानित भएका छन्। उनीहरूबाट क्रमशः ८ करोड ८८ लाख र ८ अर्ब ७ करोड रूपैयाँ योगदान रहेको छ।
निर्यात व्यापारका साथै वाणिज्य क्षेत्रमा प्रवर्द्धनात्मक कार्य गरी आर्थिक विकासमा उल्लेख्य योगदान पुर्याएका संघका अध्यक्षहरुबाट सम्मानित हुनेमा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी रााणा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ र नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोर छन्।
महत्वपूर्ण व्यावसायिक व्यक्ति (सिआइपी) छनोट, सम्मान तथा सुविधासम्बन्धी कार्यविधि २०७४ अनुसार सिआइपी दिइएको हो।
कार्यक्रममा प्रधानमन्त्री केपीशर्मा ओलीले सम्मान पाउने उद्योगीलाई सिआईपी ब्याज वितरण गरे भने उद्योग राज्यमन्त्री मोतीलाल दुगडले सम्मान पत्र वितरण गरे।
यस्तो सम्मान पाउने व्यक्तिले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भिआइपीको दर्जा पाउँछन्। उनीहरुका लागि सिंहदरबार जान तथा उच्च पदस्थहरुसँग भेट्न पनि सहज हुने वाणिज्य सचिब वैकुण्ठ अर्यालले बताए।