यस आर्थिक वर्षको मध्यावधिसम्म मुलुकको व्यापार घाटामा ६ प्रतिशतले कमी आएको छ।
राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार साउनदेखि पुससम्मको व्यापार घाटामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६. १ प्रतिशतले कमी आएको हो।
मध्यावधिसम्म व्यापार घाटा ६ र्खा ३७ अर्ब रुपैयाँ छ। गत वर्षको सोही अवधिमा व्यापार घाटा ३२ प्रतिशतले बढेको थियो।
यस अवधिमा बस्तु निर्यात २६.१ प्रतिशतले बढेको छ। अर्थात ५७ अर्ब २८ करोडको बस्तु निर्यात भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ११.५ प्रतिशतले बढेको थियो।
गन्तव्यका आधारमा भारततर्फ ४५.८ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फ ८.५ प्रतिशत र अन्य मुलुकतर्फ ३.८ प्रतिशतले घटेको छ।
वस्तुगत आधारमा पाम तेल, अलैंची, जुटका सामान, आयुर्वेदिक औषधि, दाल लगायतका वस्तुको निर्यात बढेको छ भने जस्तापाता, तार, तयारी पोशाक, जुस, तामाको तार लगायतका वस्तुहरुको निर्यात घटेको छ।
सोही अवधिमा आयातित बस्तु भने ४ प्रतिशतले घटेको छ। अर्थात यस अवधिमा ६ खर्ब ९४ अर्बको विदेशी सामान आयात भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३०.५ प्रतिशतले बढेको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात ९.१ प्रतिशतले घटेको छ भने चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १२.१ र ०.४ प्रतिशतले बढेको छ।
वस्तुगत आधारमा कच्चा पाम तेल, हटरोल सिट, रासायनिक मल, मेसिनरी तथा पार्टपुर्जा, विद्युतीय उपकरण लगायतका वस्तुको आयात बढेको छ भने एम.एस. बिलेट, पेट्रोलियम पदार्थ, सुन, यातायातका साधन तथा पार्टपुर्जा, सिमेन्ट लगायतका वस्तुको आयात घटेको छ।
भन्सार नाकाका आधारमा निर्याततर्फ वीरगंज, विराटनगर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, मेची र तातोपानी भन्सार कार्यालय बाहेकका नाकाहरुबाट गरिएको निर्यातमा ह्रास आएको छ। आयाततर्फ सुख्खा बन्दरगाह, तातोपानी, कन्चनपुर र रसुवा भन्सार कार्यालय बाहेकका नाकाहरुबाट भएको आयातमा ह्रास आएको छ।
निर्यात–आयात अनुपात ८.२ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ६.३ प्रतिशत थियो।
व्यापार घाटासँगै रेमिट्यान्स आप्रवाहको वृद्धिदर पनि खुम्चिएको छ। समीक्षा अवधिमा ०.९ प्रतिशतले रेमिट्यान्स बढेको छ। ६ महिनामा कुल ४४७ अर्ब २६ करोड रेमिट्यान्स भित्रिएको छ। गत वर्षको यसै अवधिमा रेमिट्यान्स ३०.२ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १.३ प्रतिशतले बढेको छ।
अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा १७.७ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३७.३ प्रतिशतले घटेको थियो।
पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ०.५ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४.५ प्रतिशतले बढेको थियो।
चालु खाता एवम् शोधनान्तर स्थिति
समीक्षा अवधिमा चालु खाता घाटा ८४ अर्ब ७१ करोड रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १ खर्ब ५२ अर्ब १६ करोड रहेको थियो।
अमेरिकी डलरमा अघिल्लो वर्षको ६ महिनासम्ममा १ अर्ब ३३ करोड रहेको चालु खाता घाटा समीक्षा अवधिमा ७४ करोड ३९ लाख रहेको छ।
समीक्षा अवधिमा शोधनान्तर स्थिति २६ अर्ब ६५ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ६३ अर्ब ६८ करोडले घाटामा रहेको थियो।