ओमस्टोन एशिया क्यापिटल नेपाल प्रालि (ओएसिएनपिएल)ले धुलिखेलमा सुविधासम्पन्न पाँचतारे होटल स्थापना गर्नको लागि वित्तीय व्यवस्थापन भएको छ।
दुसित थानी हिमालयन रिसोर्ट एन्ड स्पा स्थापनाको लगानीका लागि सहवित्तीयकरण अन्तर्गत सानिमा बैंकको अगुवाईमा राष्ट्रिय वाणिज्य बैंक सहभागी भई गत ७ गते ऋण सम्झौता गरिएको हो।
सो परियोजना निर्माणको अनुमानित लागत एक अर्ब २७ करोड रुपैयाँ रहेको छ। ओएसीएनपिएलले दुसित थानी हिमालयन रिसोर्ट तथा भिल्ला व्यवस्थापन र संचालनको लागि दुसित इन्टरनेशनलसँग सहकार्य गर्ने बताएको छ।
दुषित इन्टरनेशनल थाइल्याण्डको प्रख्यात हस्पिटालिटी तथा शैक्षिक क्षेत्रसँग सम्बन्धित ब्रान्ड हो। दुषित इन्टरनेशनलको हाल १८ वटा देशहरुमा २९ वटा होटल तथा रिसोर्ट संचालनमा रहेको छ। साथै अस्ट्रेलिया, नेपाल, भुटान, चीन, इन्डोनेशिया, केन्या, म्यानमार, ओमन, फिलिपिन्स, कतार,
साउदी अरब, सिंगापुर, टर्की र युएई जस्ता देशहरुमा ५२ वटा प्रोजेक्ट निर्माणको योजनामा रहेका छन्। सानिमा बैंकको सातवटै प्रदेशमा ७९ वटा शाखा, ३ एक्सटेन्सन काउन्टर र ७९ वटा एटिएम संचालनमा रहेका छन्।