चीनबाट फैलिएको कोभिड-१९(कोरना भाइरस)का कारण विश्वभर हवाई यात्रुको संख्यामा कमी आएकाे छ।
हवाई यातायातसँग सम्बन्धित संघसंस्थाहरुले यात्रुको संख्यामा कमी आइरहे एयरलाइन्सहरुलाई थप ठूलो आर्थिक नोक्सानी हुने प्रक्षेपण गरेका छन्।
कोभिड १९ का कारण विश्वमा कतिपय एयरलाइन्सका उडान कटौति भइरहेका छन्। चीन बाहेकका अन्य गन्तव्यमा उडान थपिँदा यात्रा केही सस्तो भएकाले पनि एयरलाइन्सहरुलाई ठूलो नोक्सानी हुने उनीहरुले प्रक्षेपण गरेका छन्।
इन्टरनेशन एयर ट्रान्सपोर्ट एसोसिएसन(आएटा)ले कोभिड १९ का कारण यो वर्ष एयरलाइन्सहरुले करिब २८ अर्ब अमेरिकी डलर गुमाउने प्रक्षेपण गरेको छ।
आएटाले एसिया प्रशान्त क्षेत्र र त्यसमा पनि चीनमा दर्ता भएका एयरलाइन्सले नोक्सानी धेरै ब्यहाेर्ने प्रक्षेपण गरेको छ।
यो वर्ष १३ प्रतिशत यात्रु घट्न सक्ने र त्यसको आर्थिक नोक्सानी २७.८ अर्ब डलर हुने उसको प्रक्षेपण छ।
चीनको डोमेस्किट सेवा दिने एयरलाइन्सको मात्र नोक्सानी १३ अर्ब डलर पुग्ने उसको प्रक्षेपण छ।
एसिया प्रशान्त क्षेत्र बाहिर पनि यसको असर देखिने उसले जनाएकाे छ। आएटाका अनुसार चीनसँगको गन्तव्य जोडिएका कारण बाहिरका एयरलाइन्सले पनि करिब २ अर्ब डलरको नोक्सानी ब्यहाेर्ने देखिएकाे छ।
नेपाली एयरलाइन्सहरुले पनि यो वर्ष नोक्सानी ब्यहोर्ने अनुमान गरेका छन्। कोभिड १९ का कारण विदेशी पर्यटकको संख्या न्यून हुने वित्तिकै त्यसको असर आन्तरिक तथा अन्तर्राष्ट्रिय दुबै सेवा दिने एयरलाइन्समा पर्ने छ।