सरकारले केही नेपाल ऐनमार्फत् बोनस ऐनमा संशोधन गर्दै कम्पनीहरूमा बोनस बाँडेर बचेको रकम सिधै योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा जम्मा हुने व्यवस्थाको प्रस्ताव संसदको कानुन समितिले उल्टाइ दिएको छ।
बोनस ऐनको दफा १३ मा बोनस दिएर बाँकी रहेकोमध्ये ७० प्रतिशत रकम प्रतिष्ठानस्तरको कल्याणकारी कोषमा जम्मा हुने र बाँकी ३० प्रतिशत रकममात्र योगदानमा आधारित सामाजिक सुरक्षा ऐनअनुसार गठन भएको सामाजिक सुरक्षा कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको सांसद कृष्णभक्त पोखरेलले जानकारी दिए।
कानुन मन्त्रालयले सामाजिक सुरक्षा ऐनअनुसार बनाउने भन्दै संसदमा दर्ता गराएको उक्त संशोधन प्रस्तावमा ऐनको दफा ५ बमोजिम बोनस वापत छुट्याइएको रकममध्येबाट बोनस वितरण गरेपछि बाँकी आएको रकममध्ये ७० प्रतिशत रकम प्रचलित कानुनबमोजिम स्थापना भएको प्रतिष्ठानस्तरको कल्याणकारी कोषमा र बाँकी तीस प्रतिशत रकम योगदानमा आधारित सामाजिक सुरक्षा कोष ऐनको दफा २६ बमोजिम स्थापना सुरक्षा कोषमा सम्बन्धित आर्थिक वर्ष समाप्त हुनुभन्दा अगाडि नै जम्मा गर्नुपर्ने व्यवस्था राख्न प्रस्ताव गरेको थियो।
सरकारले बोनस बाँडेर रहेको रकम सबै सामाजिक सुरक्षा कोषमा जम्मा हुने भन्ने व्यवस्था गर्न प्रस्ताव गरेको थियो। हाल प्रतिष्ठान र केन्द्रीय गरी दुई प्रकारका कोष हुने व्यवस्था रहेको छ।