अर्थमन्त्री युवराज खतिवडाले सम्पूर्ण नेपालीको अनुहारमा उज्यालो ल्याउनु सरकारको प्राथमिकता रहेको बताएका छन् ।
राष्ट्रियसभाको सोमबार बसेको बैठकमा आगामी वर्षको विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तका बारेमा उठेका जिज्ञासाको जवाफ दिँदै खतिवडाले बजेटको केन्द्रमा 'मान्छे' हुने बताए।
‘नेपालीको अनुहारमा खुसी ल्याउनलाई जे गर्छौं त्यो हाम्रो प्राथमिकता हो। कृषि प्राथमिकता, उद्योग प्राथमिकता, यातायात प्राथमिकता भनेर अल्झिन हुन्न', खतिवडाले भने, 'हामीले मान्छेलाई प्राथमिकतामा नराखेर के/के क्षेत्रलाई राख्ने? सडक भनेर सडकमा यात्रा गर्न सक्ने क्षमता हाम्रो विकास भएन भने? कृषिमा एक पक्षीय विकास भएर कृषिमा एउटा कुनै वर्गले लाभ लिने अवस्था भयो भने?’
उनले क्षेत्रगत भन्दा पनि नीतिगत, कार्यक्रमिक, परियोजना र आयोजनागत प्राथमिकताका आधारमा बजेटका प्राथमिकताहरू तय हुने बताए।
‘केही क्षेत्रगत कुरा हुन्छ। कृषिमा पनि उत्पादनले मात्र हुन्छ? उत्पादनलाई बजार ल्याउन सडक चाहिएन? उत्पादनलाई व्यवसायीकरण गर्न विद्युत चाहिएन? उत्पादित वस्तु बजारमा मूल्य सूचना पाउन प्रविधि चाहिएन? अनि कृषि ज्ञान केन्द्र चाहिएन?,उनले भने,‘त्यसैले हाम्रा प्राथमिकता क्षेत्रगत भन्दा पनि नीतिगत हाम्रा प्राथमिकता के हो? नीतिगत के हो र परियोजना र आयोजनागत के हो? त्यसरी बजेटका प्राथमिकता तय भएका छन्। खुसी पार्ने भनेको उत्पादक नागरिकले काम पाउनुपर्यो।’
उनले साधन स्रोत तथा राजस्वको बाँडफाँट लगायतलाई मानव विकास सूचांकलगायतका आधारमा क्षेत्रीय सन्तुलन कायम गर्नेतर्फ सरकार गम्भीर रहेको बताए।
स्थानीय पूर्वाधार विकासका सन्दर्भमा उठेका जिज्ञासाहरूलाई मनन गरिएको भन्दै मिलाउन सक्ने विषयलाई विधिवत ढंगले समावेश गरिने बताए। कोरा अर्थशास्त्रले मात्रै मुलुक नबन्ने भएकाले सिद्धान्तलाई व्यवहारिक ढंगले कार्यान्वयनमा लैजानुपर्नेमा उनले जोड दिए।
विकृति हटाउने नाममा राम्रो प्रणाली फाल्न नहुने भन्दै उनले सामूहिक प्रणालीमा देखिएका समस्या समाधान गर्दै वित्तीय प्रणालीलाई विकास गर्दै लैजानुपर्ने बताए।
छोटो अवधिमा वित्तीय संघीयता कार्यान्वयन गर्ने तथा स्रोतको बाँडफाँटको विषयमा अधिकांश कुराहरू भएको र आवश्यक कानुनहरू बनेको भन्दै उनले वित्तीय संघीयता कार्यान्वयन पूर्ण नभएपछि उल्लेख्य मात्रामा अघि बढेको स्पष्ट पारे।
संघीयता कार्यान्वयनमा सरकार अघि बढ्ने भन्दै त्यसमा कुनै पनि प्रकारको शंका नगर्न उनले आग्रह गरे।
वैदेशिक रोजगारीलाई निरुत्साहित गर्दै विप्रेषणमा आधारित अर्थतन्त्रलाई स्वदेशी उत्पादन, बचत र आफ्नै राष्ट्रिय पूँजीबाट सञ्चालित हुने अर्थ प्रणालीतर्फ लैजान सके आयातमुखी भनिएको अर्थतन्त्रमा सुधार आउने भएकाले यसलाई प्राथमिकता दिइने खतिवडाले बताए।