नेपाल एयरलाइन्समा हवाई सुरक्षा सम्बन्धि नियमको गम्भिर उलंघन गरेर प्रशिक्षक पाइलट नियुक्त गरेको पाइएको छ। एयरलाइन्सको सेफ्टी म्यानुअल उलंघन गर्दै एयरलाइन्समा पाकिस्तानी मुलका पाइलटलाई नियुक्त गरेको पाइएको हो।
नेपाल एयरलाइन्समा सेफ्टी गुणस्तर पालना नभएको समयसमयमा कुरा उठिरहेको र युरोपलेसमेत हवाई सुरक्षामा गम्भिर चासो देखाइरहेका बेला नियम उलंघन गरी पाइलट नियुक्त गरेको पाइएको हो।
नेपाल एयरलाइन्सको एयरबस ए३२० जहाज उडाउने प्रशिक्षक पाइलट भारतीय मुलका नागराजलाई जवरजस्ती हटाएर पाकिस्तानी मुलका पाइलटलाई ल्याइएको हो। नेपाल एयरलाइन्सका केही पाइलट तथा अपरेशन विभाग प्रमुख रविन्द्र शेरचनको योजनामा नागरिक उड्डयन प्राधिकरणको समेत मिलेमतोमा उक्त काम गरिएको एयरलाइन्स उच्च स्रोतको दाबी छ।
एयरलाइन्सको नियमअनुसार प्रशिक्षक पाइलट नियुक्त हुनका अनुभवी प्रशिक्षक तथा कोपाइलटसँगउडान गरेको हुनुपर्छ। तर शेरचनाको जोडबल तथा प्राधिकरणका केही अधिकारीहरुको संलग्नामा मोहमद घानीलाई उडान गर्न अनुमति दिइएको छ।
विदेशी पाइलट नेपाल आएर उडान शुरु गर्नुभन्दा पहिले नागरिक उड्डयन प्राधिकरणबाट सिमुलेटर तालिम लिएको हुनुपर्छ। त्यस्तै सम्बन्धित जहाजको प्रशिक्षक पाइलटसँग ८ उडान गर्नुपर्छ। त्योसँगै २ सेक्टरमा फूलफ्लेज पाइलटसँग उडान निरीक्षण गर्नुपर्छ।
घनीले यो कुनै पनि मापदण्ड पूरा नगरी उडान अनुमति पाएका छन्। नेपाल नागरिक उड्डयन प्राधिरकणले एयरलाइन्सको म्यानुअल नहेरी उडान अनमुति दिएको बताएको छ। एयरलाइन्सको सेफ्टी विभागका एक अधिकारीकाअनुसार अपरेशन विभाग प्रमुख रविन्द्र शेरचनाको सिफारिसमा अनुमति दिइएको हो।
नेपाल एयरलाइन्सका वरिष्ठ पाइलटहहरुका अनुसार गुटबन्दीका कारण यस्तो भएको हो।
भारतीय मुलका प्रशिक्षक पाइलट नागराजलाई जवरजस्ती हटाइएको छ। ककपिटमा निदाएको फोटो सार्वजनिक भएपछि त्यही अधारमा उनलाई उडानमा रोक लगाएर यही अवसरमा पाकिस्तानी मुलका पाइलट ल्याइएको स्रोतको दाबी छ।
उडानको समयमा पाइलट, कोपाइलट सबै समय मिलाएर १०÷१५ मिटर न्यापिङ लिने विश्वव्यापी प्रचलन भएपनि त्यही कुरालाई उचालेर निलम्बन गरिएको थियो। यही मौकामा हतारहतार पाकिस्तानी मुलका घनीलाई भित्र्याइएको एक पाइलटले बताए।
‘यहाँ कतिपय भर्खर अपग्रेड भएर आएका कोपाइलट तथा कतिपय पुरानै पाइलटलाई नागराज मन परेको थिएन, उनीहरुले फोटो पनि सार्वजनि गरे र त्यही कुरा उचालेर नागराजलाई हटाए अहिले फेरि त्यही समूह सक्रिय भएर घनीलाई ल्याएको छ’ ति पाइलटले सेतोपाटीसँग भने,‘यसले सेफ्टी म्यानुअलको धज्जी उडाएको छ यो कुरा गम्भिर हो।’
जापान कोरिया, चीन उडान गर्ने तयारी गरिरहेको अवस्थमा यस्ता गम्भिर कुराले असर गर्ने अधिकारीहरुको भनाइ छ।
नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीहरु यसबारेमा खुलेर बोल्न चाहेका छैनन्। उनीहरुले एयरलाइन्सको म्यानुअल नहेरेको र हेरेर छानविन अघि बढाउने बताएका छन्। यदि उलंघन भएको भए कारबाही हुने उनीहरुको भनाइ छ।