पछिल्ला दिनमा दोस्रो बजारका लगानीकर्ताहरु जलविद्युत कम्पनीहरुमा आकर्षित भएको देखिन्छ। मंगलबार र बुधबार जलविद्युत कम्पनीको सूचकमा उच्च वृद्धि देखियो।
तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार केहीको नाफा घटेको छ। विद्युत उत्पादन नै नभएपछि कतिपय कम्पनीहरु नोक्सानीमै छन्।
सूचीकृत २८ जलविद्युत कम्पनीमध्ये कतिपयको सेयर मूल्य १ सय रुपैयाँभन्दा तल छ। बुधबार बजार बन्द हुँदा आँखुखोलाको ८२, दिव्यश्वरीको ७४, खानीखोलाको ७२ र नेसनल हाइड्रोको ७५ रुपैयाँमा प्रतिसेयर मूल्य रह्यो।
सूचीकृत जलविद्युत कम्पनीहरुमा चिलिमे र बुटवल पावरको मूल्य उच्च छ। बुधबार बजार बन्द हुँदा चिलिमेको ५५४ र बुटवलको ४४४ रुपैयाँ प्रतिसेयर मूल्य रह्यो।
हेरौँ, प्रमुख जलविद्युत कम्पनीहरुको वित्तीय स्थिति
अपि पावर
१ अर्ब १९ करोड चुक्ता पुँजी रहेको अपिले ९ महिनामा ७ करोड ३१ लख खुद नाफा कमाएको छ। गत वर्षको समिक्षा अवधिमा ३ करोड ८१ लाख खुद नाफा कमाएको थियो।
कम्पनीको खुद नाफामा उल्लेख्य वृद्धि भएको छ। कम्पनीको विद्युत विक्रीवापतको आम्दानी नै बढेपछि नाफामा सुधार आएको हो। एक वर्षको अवधिमा विद्युत विक्रीवापतको आम्दानी १० करोडबाट १५ करोड पुगेको छ।
प्रतिसेयर आम्दानी ८ रुपैयाँ १९ पैसा छ। समीक्षा अवधिमा प्रतिसेयर आम्दानी झण्डै दोब्बरले बढेको छ। नेटवर्थ पर सेयर १०६ रुपैयाँ छ।
अरुण भ्याली
९३ करोड ३० लाख सेयर पुँजी रहेको कम्पनीको नाफामा उल्लेख्य सुधार आएको छ। यस आवको ९ महिनामा ४ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको यस अवधिमा यस्तो नाफा २ करोड ३९ लाख थियो।
प्रतिसेयर आम्दानी ५ रुपैयाँ ९७ पैसा छ। प्रतिसेयर कुल सम्पत्ति मूल्य ११५ रुपैयाँ छ। रिजर्भ कोषको आकार ६ करोड ६३ लाख पुगेको छ। बुधबार बजार बन्द हुँदा प्रतिसेयर मूल्य १२१ रुपैयाँ छ।
अरुण काबेली
डेढ अर्ब चुक्ता पुँजी रहेको कम्पनीको विद्युत विक्री हुन पाएको छैन। अन्य स्रोतको आम्दानीबाट ९ महिनामा १ लाख ५० हजार खुद नाफा कमाएको छ। गत वर्षको यस अवधिमा १० लाख २४ हजार नोक्सानीमा थियो। बजारमा सेयर मूल्य भने प्रतिकित्ता २१७ रुपैयाँ छ।
बरुण
२५ करोड ५१ लाख रुपैयाँको सेयर पुँजी रहेको छ। रिजर्भको आकार २ करोड ५३ लाख रुपैयाँको छ। ९ महिनामा २१ लाख ५४ हजार नोक्सानीमा छ। गत वर्षको यस अवधिमा ५५ लाख नोक्सानीमा थियो। प्रतिसेयर आम्दानी ९ रुपैयाँ ९५ पैसा छ। प्रतिसेयर नेटवर्थ १०९ रुपैयाँ छ। बुधबार बजार बन्द हुँदा प्रतिसेयर मूल्य १०२ रुपैयाँ छ।
बुटवल पावर
सूचीकृत जलविद्युत कम्पनीमध्ये राम्रो नाफा कमाउँदै लगानीकर्तालाई उचित प्रतिफल दिँदै आएको कम्पनी हो बुटवल पावर। कम्पनीमा २ अर्ब ४४ करोड सेयर पुँजी रहेको छ।
कम्पनीले ९ महिनामा ७५ करोड खुद नाफा कमाएको छ। गत वर्ष यसै अवधिमा ६५ करोड ९२ लाख कमाएको थियो। प्रतिसेयर आम्दानी ३० रुपैयाँ ७७ पैसा छ। प्रतिसेयर नेटवर्थ २७६ रुपैयाँ छ। बुधबार बजार बन्द हुँदा मूल्य प्रतिकित्ता ४४४ रुपैयाँ छ।
चिलिमे
सेयर बजारमा सूचीकृतमध्ये यो कम्पनी उत्कृष्ट जलविद्युत कम्पनीका रुपमा गनिँदै आएको छ। कम्पनीले लगानीकर्तालाई उचित प्रतिफल दिँदै आएको छ।
४ अर्ब ७५ करोड सेयर पुँजी रहेको कम्पनीको नाफा भने घटेको छ। ९ महिनामा ५४ करोड ३६ लाख खुद नाफा कमाएको छ। गत वर्ष यस अवधिमा ६५ करोड ८५ लाख कमाएको थियो।
कम्पनीको संचालन खर्च बढ्दा नाफामा असर परेको हो। कम्पनीको प्रतिसेयर आम्दानी १५ रुपैयाँ २३ पैसा छ। प्रतिसेयर नेटवर्थ १९४ रुपैयाँ छ। बुधबार बजार बन्द हुँदा मूल्य प्रतिकित्ता ५५४ रुपैयाँ छ।
हिमालयन पावर पार्टनर
१ अर्ब ६ करोड सेयर पुँजी रहेको कम्पनीको आयोजना निर्माणाधीन अवस्थामा रहेकोले विद्युत विक्री हुन सकेको छैन। सोवापतको आम्दानी छैन। प्रतिसेयर नेटवर्थ १ सय रुपैयाँ छ। दोर्दीखोलामा २७ मेगावाटको आयोजना बनाइरहेको छ। चलु दायित्व ६० प्रतिशतले बढेको छ।
दिव्यश्वरी
२६ करोड ४० लाख सेयर पुँजी रहेको कम्पनी ९ महिनामा २ करोड ६ लाख नोक्सानीमा छ। विगतका वर्षको नोक्सानी समेत रहेकाले कम्पनको वार्षिक प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ऋणात्मक छ। प्रतिसेयर नेटवर्थ ५५ रुपैयाँ छ।
कालिका पावर
६० करोड सेयर पुुँजी रहेको कम्पनीको ९ महिनाको नाफा २ करोड ३३ लाख छ। गत वर्ष यस अवधिमा १ करोड १२ लाख थियो। प्रतिसेयर आम्दानी वार्षिक ५ रुपैयाँ १८ पैसा छ। प्रतिसेयर नेटवर्थ १०१ रुपैयाँ छ।
नेपाल हाइड्रो डेभलपर
२६ करोड सेयर पुँजी रहेको कम्पनीले ९ महिनामा २ करोड खुद नाफा कमाएको छ। अघिल्लो त्रैमासिक अवधिको तुलनामा नाफा घटेको छ। अघिल्लो त्रैमासमै कम्पनीले २ करोड १५ लाख कमाएको थियो।
कम्पनीको प्रतिसेयर आम्दानी अघिल्लो त्रैमासमा ८ रुपैयाँ २८ पैसा रहेकोमा घटेर ७ रुपैयाँ ७२ पैसामा झरेको छ। प्रतिसेयर नेटवर्थ १११ रुपैयाँ छ। बुधबार बजार बन्द हुँदा मूल्य प्रतिकित्ता १७० रुपैयाँ छ।
राधी विद्युत
४५ करोडको सेयर पुँजी रहेको कम्पनीले ९ महिनामा ४ करोड ७२ लाख खुद नाफा कमाएको छ। गत वर्षको यस अवधिमा यस्तो नाफा ४ करोड २३ लाख थियो। कम्पनीको आम्दानी बढ्दा नाफामा सुधार देखिएको हो।
यस अवधिमा ११ करोड ४५ लाख रुपैयाँको विद्युत बिक्री भएको छ। गत वर्षको सोही अवधिमा १० करोड ८ लाख रुपैयाँ आम्दानी भएको थियो।वार्षिक प्रतिसेयर आम्दानी १३ रुपैयाँ ९६ पैसा छ। प्रतिसेयर नेटवर्थ २१३ रुपैयाँ छ। बजार मूल्य भने जम्मा १८२ रुपैयाँ छ।
रिडी हाइड्रोपावर
५३ करोड ११ लाख सेयर पुँजी रहेको कम्पनीले ९ महिनामा ७६ लाख खुद नाफा कमाएको छ। गत वर्ष यस अवधिमा ७२ लाख कमाएको थियो। कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ७६ पैसा तथा प्रतिसेयर नेटवर्थ १०५ रुपैयाँ छ। बजार मूल्य प्रतिकित्ता १०१ रुपैयाँ छ।
सानिमा माई
२ अर्ब ३२ करोड सेयर पुँजी रहेको कम्पनीको खुद नाफा बढेको छ। ९ महिनामा २२ करोड ९३ लाख खुद नाफा कमाएको छ। गत वर्षको यस अवधिमा २० करोड २ लाख थियो। वार्षिक प्रतिसेयर आम्दानी ९ रुपैयाँ ८८ पैसा तथा नेटवर्थ १२२ रुपैयाँ छ।
नेसनल हाइड्रो पावर
कम्पनीले ९ महिनामा २२ लाख १९ हजार खुद नाफा कमाएको छ। प्रतिसेयर आम्दानी वार्षिक ३ रुपैयाँ ५६ पैसा छ। प्रतिसेयर नेटवर्थ ७० रुपैयाँ छ। मूल्य प्रतिकित्ता ७५ रुपैयाँ छ।