नवलपुरको देबचुली नगरपालिकाका हुरी पीडितलाई चौधरी फाउण्डेशनले एक सय बण्डल जस्तापाता सहयोग उपलब्ध गराएको छ।
नेपाली काँग्रेसका सांसद एवं चौधरी फाउण्डेशनका अध्यक्ष बिनोद चौधरीले आफ्नो जिल्लामा हुरी र असिना पानीले व्यापक क्षति पुर्याए लगत्तै सहयोग उपलब्ध गराएको .जानकारी दिएका छन्।
बिहीबार चौधरी फाउण्डेसनले देवचुली नगरपालिकाका प्रमुख पूर्णकुमार श्रेष्ठलाई जस्तापाता हस्तान्तरण गरेको छ।नगरपालिकाको अध्ययन टोलीले हुरी पीडितका लागि तत्काल सबैभन्दा आवस्यक जस्तापाता रहेको सुझाव दिएपछि जस्तापाताको व्यवस्था मिलाएको सांसद चौधरीको भनाइ छ।
पीडितमध्ये पनि आर्थिक रुपमा विपन्न र सर्वा्धिक प्रभावित परिवारलाई उच्च प्राथमिकतामा राखेर सहयोग वितरण गर्ने व्यवस्था मिलाइएको छ । सांसद चौधरीको सहयोग करिब १० लाख रूपैयाँ बराबर रहेको छ।
जेठ ७ र ८ गते आएको हावाहुरीले देबचुली नगरपालिकाको सितावास, रामबास, मुण्डे, बिशालटार र लक्ष्मीपुर क्षेत्रका घर, गोठका छानो उडाएको छ ।
जसका कारण पीडितहरू चर्को गर्मी र हुरी वतासकाबीच खुला आकाशमा बस्नुपर्ने अवस्था छ । हुरीसँगै आएको असिनापानीले खाद्यान्न, लत्ताकपडा समेत भिजेको सिताबासका पीडित आषिश भुर्तेलल बताए।
देबचुली नगरपालिका वडा नम्बर ७ का अध्यक्ष भुपराज पाठकले छानो उडाएका कारण विचल्लीमा परेका सर्वसाधरणलाई जस्तापाता उपलब्ध गराएर सांसद चौधरी नवलपुरवासीप्रति जिम्मेवार भएको सन्देश दिएको बताए।
देबचुली नगरपालिकाका मेयर पूर्णकुमार श्रेष्ठले सांसद एवं देशकै वरिष्ठ उद्योगपति बिनोद चौधरीले आफ्नो जिल्लावासीका लागि साँच्चिकै अभिभावकको जिम्मेवारी निर्वाह गरेको बताए।