प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बनाएको छाया सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री संजयकुमार गौतमले पूर्वाधारको नाममा शक्तीशाली पोस्ने गरी बजेट आएको आरोप लगाएका छन्।
विगतदेखि निर्माणाधिन रहेका रणनीतिक महत्वका सडक तथा अन्य पूर्वाधार पूरा गर्न बजेट विनियोजन गर्नुको साटो सयौं नयाँ आयोजना थप गरेर करोडका दरले कनिका छरेजस्तो बजेट आएको उनले बताए।
संसदमा बोल्दै गौतमले पूराना आयोजना पूरा गर्ने भन्दा पनि ससाना आयोजनाको दायित्व सिर्जना गर्नेतिर सरकार लागिपरेको आरोप लगाए।
'देशभर सयौं सडकमा करोडका दरले बजेट कनिका छरिएको छ। ठूला राजमार्ग वा एकैपटक निर्माण गर्ने भन्दा पनि स्थानीय तहले ल्याउनेजस्तै बजेट विनियोजन गरेको छ। करोड बजेट संघले विनियोजन गरे प्रदेश सरकारले के गर्छन्?' उनले प्रश्न गरे।
पछिल्लो समय प्रधानमन्त्री र अन्य मन्त्रीले आजको भोलि नै नेपालमा रेल र पानीजहाज आउलाजस्तो गरेर भाषण गरेपनि बजेट भने नगन्य विनियोजन गरिएकाले त्यो सपनामात्र थियो भन्ने पुष्टि हुँदै गएको उनको भनाइ छ।
'पानी जहाजका लागि जम्मा २ करोड ६२ लाखमात्र छुट्याएको छ। यसले कसरी आउला। त्यस्तै रेलका लागि ७ अर्बमात्र छ यसले कसरी रेल विकास होला?'गौतमले भने।
त्यस्तै भौतिक पूर्वाधारमा पिछडिएको क्षेत्रमा भन्दा पनि शक्तीशाली नेताको क्षेत्रमा केन्द्रित भएको उनको आरोप छ।