भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भौतिक संरचना निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी नर्थवेष्ट सिभिल एभिएसन कन्स्ट्रक्सनलाई तेस्रोपटक थप गरिएको छ।
धावनमार्ग निर्माण सम्पन्न भएपनि टर्मिनल भवनको फाइनल फिनिसिङ तथा टावर तथा अन्य पूर्वाधारको काम बाँकी रहने भएपछि यही जुलाईसम्म समय पाएको कम्पनीले सन् २०१९ को डिसेम्बरसम्मको समय पाएको छ।
नेभिगेशन,कम्युनिकेशन तथा अन्य इक्वुपमेन्ट जडानको काम अझै ६ महिना लाग्ने र त्यो काम नभइ कतिपय भौतिक पूर्वाधारको काम पनि नहुने भएकाले चिनियाँ कम्पनीलाई पनि सोहीअनुसार समय थप गरिएको आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिए।
उनका अनुसार आयोजना पुस १५ सम्म निर्माण सम्पन्न हुने छ। यसअघि असारभित्रै सम्पन्न गरी भदौबाट उडान शुरु गर्ने घोषणा गरिएको थियो।
२०७१ सालबाट निर्माण शुरु भएको उक्त आयोजनाको काम २०७४ सालमै सम्मपन्न गर्नुपर्ने थियो। यसअघि २ पटक समय थप गर्दै ठेकेदारले यही असार १५ सम्मको समयसीमा पाएको थियो।
भौतिक निर्माणको काम शुरुमा ६ अर्ब २२ करोडमा सम्झौता भएको थियो। गत वर्षमात्र साढे ९ प्रतिशतको भेरियसन पास गरी करिब ७ अर्ब लागत पुगेको छ।
यो पटकको समय थपसँगै भेरियसन भने नहुने अधिकारीले प्रष्ट पारे। भेरियसनका बारेमा स्थलतगत अध्ययनका लागि नागरिक उड्डयनको टोली आयोजनास्थलमै पुगेको थियो। तर उक्त टोलीले गर्नुपर्ने कारण नदेखेपछि पुरानै लागतमा काम हुने अधिकारीले जानकारी दिए।
एसियाली विकास बैंकको ऋण तथा सहायतामा भएको उक्त आयोजनाका लागि नेपाल सरकार र बैंकबीच सन् २०१० मे मा ऋण सम्झौता भएको थियो। आयोजनाको शुरु भने २०१४ बाट भएको थियो।
आयोजनाको कूल लागत ९ अर्ब बढी पुग्ने भएको छ।