कर्मचारी सञ्चय कोषले साउन १ देखि लागू हुने गरि नयाँ ब्याजदर निर्धारण गरेको छ ।
कोषले जलविद्युत लगानीमा लिँदै आएको ब्याजदर घटाइ नयाँ ब्याजदर कायम गरेको हो। सञ्चय कोषले यसअघि जलविद्युतको लगानीमा लिँदै आएको १०.७५ प्रतिशत ब्याज घटाएर १० प्रतिशत बनाएको छ।
अहिले संचय कोषले माथिल्लो तामाकोशी, मध्ये भोटेकोशी, सन्जेन जलविद्युत आयोजना तथा रसुवागढी जलविद्युत आयोजनामा लगानी गरेको छ ।
कोषका अनुसार यी सबै आयोजनामा लिँदै आएको ब्याजदर घटेको छ।
यस्तै, कोषले ४० लाखभन्दा बढी घर सापटीको लागि लिएका ऋणीको ब्याजदर पनि घटाएको छ । कोषले १०.२५ प्रतिशत लिँदै आएको ब्याजदर ०ं२५ प्रतिशत घटाएको हो ।
बाँकी ब्याजदरमा भने कुनै परिवर्तन नगरेको सञ्चय कोषले जनाएको छ। संचय कोषको मौज्दातमा कोषले ८.२५, विशेष सापटीमा ९.५०, ४० लाख सम्मको घर सापटीमा ९.७५ तथा संचयकर्ता शौक्षिक सापटी र घर मर्मत सापटीमा ९.७५ तथा सरल चक्रकर्जामा १०.२५ प्रतिशत ब्याज लिँदै आएकोमा ब्याज यो वर्ष पनि यथावत छ ।
जलविद्युत लगायत नेपाल वायुसेवा निगममा पनि कोषको लगानी छ । नेपाल वायुसेवा निगमको लगानीबाट कोषले १०.५० प्रतिशतका दरले ब्याज उठाउँछ ।
कोषले नयाँ परियोजना आएमा त्यसको लागि बैंकसँग मिलेर सयुक्त लगानी गर्नुपरेमा न्यूनतम १०.५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । सहकार्य हुने बैंकको कर्जासँग मिल्नेगरि यसलाई परिर्वतन् गर्न सकिने कोषले जनाएको छ ।
तर, कोष एक्लैले नयाँ परियोजनासँग ऋण सम्झौता गरेमा त्यसको लागि १०.७५ प्रतिशत नघट्ने गरि कर्जा स्वीकृत गर्ने कोषले जनाएको छ । अहिलेसम्म कोषले जलविद्युतका विभिन्न परियोजनामा मात्रै ४५ अर्ब ८९ कारोड ६० लाख ८८ हजार रुपैयाँ लगानी गरेको छ ।
कोषको आकार गत आर्थिक वर्षको अन्तसम्ममा ३ खर्ब १२ अर्ब भन्दा बढी छ ।
सञ्चय कोषले किन घटायो त जलविद्युतको ब्याजदर ?
पछिल्लो समय नेपालमा जलविद्युतको आर्कषण बढ्दै गएकोले त्यसलाई थप प्रोत्साहन दिन ब्याजदर घटाएको कोषको लगानी विभाग प्रमुख अर्जुनकुमार गौतमले बताए।
‘सरकारले पनि अहिले जलविद्युतमा प्रोत्साहन दिदै आएको छ,’ गौतमले भने, ‘त्यसमा हामीले पनि सहयोग पु¥याउन ब्याजदर घटाएको हो ।’ कोषले नयाँ वर्षको लागि ब्याजदर निर्धारण गर्न समिति बनाएको थियो । समितिको लामो अध्यायनपछि मात्रै नयाँ ब्याजदर निर्धारण गरिएको हो ।