अब भारतबाट पेट्रोलियम पदार्थ पाइपलाइन हुँदै नेपाल आउने भएको छ।
पाइप लाइनको परीक्षणका लागि बुधबार बिहारको राजधानी पटनाबाट डिजेल पठाइएको छ।
उक्त डिजेल बिहीबार साँझसम्म अमलेखगन्जमा आइपुग्ने पाइपलाइन परियोजनाका प्रबन्धक प्रदीपकुमार यादवले जानकारी दिए।
परीक्षणको गर्न पाइपमा पानी, तिग (पाइप सफागर्ने) र डिजेल हालेर पठाइएको उनले बताए।
‘पाइपमा पानी, तिग र डिजेल हिजै हालिसकेको छ। उद्घाटनमा मेसिन अन गरेर डिजेल निकालिन्छ’, उनले भने।
उनका अनुसार उद्घाटन भइसकेपछि व्यवसायिक रूपमा पाइपलाइनबाट पेट्रोलियम पदार्थ ल्याइने छ।
साउन अन्तिममा पाइपलाइनको उद्घाटन गर्ने तयारी भइरहेको नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए।
अमलेखगन्ज डिपोमा पाइपलाइनबाट आएको तेल भण्डारणका लागि ४ वटा ट्याङ्की राखिएका छन्। ती ४१ सय किलोलिटर क्षमताका दुई वटा र ३९ सय किलोलिटर क्षमताका छन्।
पाइपलाइनबाट प्रतिघन्टा ३ सय किलोलिटर पेट्रोलियम पदार्थ आउने अपेक्षा गरिएको छ। पाइपलाइनबाट पेट्रोलियम पदार्थ भित्रिएपछि ढुवानीमा वार्षिक ७० देखि ८० करोड रूपैयाँ बचत हुने निगमले जनाएको छ।
नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनको संयुक्त लगानीमा भारतको मोतिहारीदेखि अमलेखगञ्जसम्म (६९.५ किलोमिटर) नयाँ पाइपलाइन बिछ्याइएको थियो। मोतिहारीबाट पटना झन्डै दुई सय किलोमिटर टाढा छ।
नयाँ पाइपलाइनमध्ये भारतमा ३२.२५ र नेपालमा ३७.५ किलोमिटर पर्दछ। परियोजनाका लागि भारतीय आयल कर्पोरेशनले २ सय करोड (भारू) अनुदान दिएको छ। नेपाल तर्फबाट ७५ करोड लगानी गर्ने निगमले जानकारी दिएको छ।
नेपालको ७५ करोड अहिले खर्च भएको छैन। यो रकम ४ हजार केएल क्षमताको पेट्रोलियम भण्डारण, ट्यांकर लोडिङको संरचना लगायत अन्य क्षेत्रमा खर्च गरिने निगमको भनाइ छ।