नेपालको अर्थतन्त्रमा रेमिट्यान्सले भरथेक गरिरहेको कुरा विगतदेखि चर्चा हुँदै आएको छ। यद्यपी अहिले पनि यसले महत्वपूर्ण भुमिका खेलिरहेको छ।
तर पछिल्लो समय नेपाली अर्थतन्त्रको मागलाई रेमिट्यान्सलेमात्र पूरा गर्ने अवस्था रहेको छैन।
गएको आर्थिक वर्षको ११ महिनामा नेपालको शोधानन्तर घाटा झन्डै १ खर्ब नजिक पुगेको छ। अर्थात् नेपाल भित्रिने विदेशी मुद्राको तुलनामा बाहिरिने मुद्राको अन्तर ९० अर्ब पुगेको छ।
नेपालले कुनै पनि चिजको बिक्री गरे बापत ल्याउने मुद्रा भन्दा ९० अर्ब बढीको त्यस्तै चिज किनेको छ। गएको वर्षको ११ महिनामा नेपालको शोधानन्तर ९० अर्बले घाटामा गएको छ।
यो भनेको अघिल्लो वर्षको यही अवधिको तुलनामा सयौं गुणाले बढेको छ। अघिल्लो वर्ष ९ अर्ब रहेको यस्तो घाटा यो वर्ष बढेर ९० अर्ब पुगेको छ।
यसको मतलब नेपाल आउने विदेशी मुद्राको स्रोत कमजोर हुँदै गएको छ। भने जाने बाटो फराकिलो हुँदै गएको छ।
तीब्र आर्थिक विकासको क्रममा वैदेशिक वस्तु तथा सेवाको माग धेरै हुँदा यस्तो अवस्था आउने भएपनि भुक्तानी सन्तुलनमै असर पर्नेतिर अवस्था जान थालेको विश्लेषण हुन थालेको छ।
भुक्तानी सन्तुलनलाई यथास्थानमा राख्नका लागि केही वर्ष अघिसम्म रेमिट्यान्सले भुमिका खेलेको थियो। पछिल्ला केही वर्षदेखि रेमिट्यान्सको बृद्धिदर स्थिर हुँदै गएको छ। त्यस्तै वैदेशिक लगानी तथा अन्य स्रोत पनि खासै बढ्न सकेका छैनन्।
वस्तु व्यापारमा हुने घाटा ज्यामितीय आकारमा बढ्दै गएको छ। तर रेमिट्यान्स अंकगणीतीय आकारमा।
२०७३/७४ को ११ महिनामा ८ खर्ब १० अर्बको व्यापार घाटा हुँदा रेमिट्यान्स ६ खर्ब ३३ अर्ब आएको थियो। त्यसको पछिल्लो वर्षको ११ महिनामा १० खर्ब पुग्यो व्यापार घाटा तर रेमिट्यान्स भने ६ खर्ब ७९ अर्बमात्र आयो।
त्यस्तै यो वर्ष व्यापार घाटा बढेर ११ खर्ब ७८ अर्ब पुगेको छ भने रेमिट्यान्स भने ७ खर्ब ९९ अर्बमात्र आएको छ।
वस्तु व्यापारमा सँधै घाटामा रहने नेपालको सेवा व्यापार पनि घाटामा जान थालेको छ। अघिल्लो वर्षसम्म नाफामै रहेको सेवा व्यापार यो वर्षदेखि ऋणात्मक भएको छ। चालु वर्षको ११ महिनामा १० अर्ब सेवा व्यापार घाटामा रहेको छ।