स्वदेशी लगानीमा निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको ठाडो सुरुङमा २७.५ मिटर पेनस्टक पाइप जडान गरिएको छ।
आयोजनाको सबैभन्दा जटिल मानिएको तल्लो ठाडो सुरुङमा २० मिटर र माथिल्लो ठाडो सुरुङमा ७.५ मिटर पेनस्टक पाइप जडान गरिएको हो।
ठाडो सुरुङमा गत असार १ गतेबाट र माथिल्लोमा ९ गतेबाट पेनस्टक पाइप जडान सुरु गरिएको थियो। ३७२ मिटर लामो तल्लो पेनस्टक साफ्टमा अब ५ मिटर लम्बाइ र २७ टन तौल भएका ७० वटा पाइप जडान गर्न बाँकी छ। माथिल्लो पेनस्टक साफ्टको लम्बाई ३१० मिटर हो।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक एवं तामाकोसीका अध्यक्ष कुलमान घिसिङले आइतबार निर्माणस्थलको निरीक्षण गरी पछिल्लो पटक तय गरिएको समयतालिकाभित्रै निर्माण सम्पन्न गर्न निर्देशन दिए।
‘जसरी पनि आगामी चैतको दोस्रो साताभित्र अर्थात २०२० को मार्चभित्र पहिलो युनिटबाट ७६ मेगावाट र बाँकी ५ युनिटबाट असार भित्रमा विद्युत उत्पादन गरी आयोजनाको निर्माण सम्पन्न गर्नु पर्छ’ घिसिङले भने।
जनशक्ति बढाएर दिनमा तीन सिफ्टमा काम गर्न पनि उनले ठेकेदार कम्पनीलाई निर्देशन दिए। यसअघि उर्जामन्त्री वर्षमान पुनले पछिल्लो पटक तय गरिएको तालिकाभित्रै निर्माण सम्पन्न गर्न हरेक महिना आयोजनास्थलमै उच्चस्तरीय बैठक राख्न निर्देशन दिएका थिए।
आयोजनाको विद्युत् गृह निर्माण सम्पन्न भई तयारी अवस्थामा छ भने प्रसारण लाइनको निर्माण अन्तिम चरणमा छ।