चालू आर्थिक वर्ष २०७६/०७७ को पहिलो महिनामा स्थायी लेखा नम्बर (प्यान) लिने करदाताको संख्या १३.४ प्रतिशतले बढेको छ। अर्थ मन्त्रालयले जनाएअनुसार अघिल्लो आर्थिक वर्ष २०७५/०७६ को अन्त्यसम्म २१ लाख ७२ हजार २ सय जनाले स्थायी लेखा नम्बर लिएका थिए।
साउन महिनामा मात्रै त्यो संख्या बढेर २४ लाख ६३ हजार १ सय १४ पुग्यो।
सरकारले नयाँ आर्थिक वर्षबाट रोजगार गर्ने सबैलाई अनिवार्य प्यान नम्बर लिनुपर्ने बाध्यकारी नियम बनाएसँगै प्यान नम्बर लिनेको संख्या बढेको हो।
सरकारले सबै रोजगार कामदारलाई करको दायरामा ल्याउन यस्तो बाध्यकारी नियम बनाएको हो।
अर्थ मन्त्रालयका अनुसार २०७६ साउन मसान्त्तसम्म व्यवसायको स्थायी लेखा नम्बर लिने करदाता १२ लाख १४ हजार ५ सय २१ थिए।
यस्तै, व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाता १२ लाख ४७ हजार ४ सय ८९ पुगेका हुन्। साउन महिनामा मात्रै स्थायी लेखा नम्बर लिने करदाता २ लाख ९० हजार ९ सय १४ थप भएका हुन्।
यस्तै २०७६ साउन मसान्तमा मूल्य अभिवृद्धि करमा दर्ता भएका करदाताको संख्या २ लाख २५ हजार ९२ पुगेको छ।
साउन महिनामा मात्रै ११ हजार ३ सय २२ नयाँ करदाताहरु मूल्य अभिवृद्धि करमा दर्ता भएको अर्थमन्त्रालयले जनाएको छ ।