दशैतिहारको आगमनसँगै एउटा समस्या धेरै सुनिन्छ। धेरै जनगुनासामध्येको एक हो विमानस्थलमा लगेज हराउने र चोरी हुने। विदेशबाट फर्किएका नेपालीहरुको लगेज चोरी हुँदा त्यसको पहिलो दोषी विमानस्थल प्रशासन हुन्छ।
विमानस्थल कार्यालय, नेपाल प्रहरी तथा सम्बन्धित एयरलाइन्सलाई यात्रुहरुले सँधैजसो गाली गर्छन्।
दशै आउन केही हप्ता बाँकी हुँदा अहिले पनि लगेज हराउने,च्यातिने जस्ता गुनासा आउन थालिसकेका छन्। तर अब त्यस्तो नहुने विमानस्थल प्रशासनले बताएको छ।
त्रिभुवन विमानस्थल कार्यालयले नेपाल प्रहरीका अधिकारीसहितो सयुक्त पत्रकार सम्मेलनबाट अब चोरी नहुने घोषणा गरेको छ।
'विगतमा चोरी हुने समस्या थियो भन्ने गुनासो धेरै आएको छ। विशेषगरी दशैको समयमा यात्रुहरुले यस्तो गुनासो बढी गर्छन्। तर अब त्यस्तो हुनेवाला छैन। हामीले यसका लागि सबै सुरक्षाका उपाया अपनाएका छौ' विमानस्थल कार्यालय प्रमुख राजकुरमा क्षेत्रीले भने।
यसअघि यात्रुको लगेज विदेशकै विमानस्थलमा चोरी हुने तथा च्यातिएर आउने भएपनि नेपालकै विमानस्थल र प्रशासनलाई आरोपित गर्ने चलन भएपनि अब दूधको दूध पानीको पानी हुने उनको भनाइ छ।
'पहिले विदेशमा चोरी तथा क्षति हुँदा पनि हामिलाई आरोपित गरिन्थ्यो तर अब त्यस्तो हुँदैन। हामिले यसका लागि अहिले नै ३४५ सिसी क्यामेरा जडान गरेका छौ। अझै एक सय थप गर्दै छौ। प्तत्येक लगेजको फुटेज हुन्छ। च्यातिकएको वा नच्यातिएको,आएको वा नआएको सबै रेकर्ड भिडियोमा हुन्छ। कसैले हराएको भन्ने दाबी गर्नासाथ त्यो भिडियोबाट हामी अनुसन्धान गर्छौ। त्यसपछि हामी क्षतिपूर्तिका लागि सिफारिस गरिदिन्छौ' उनले भने।
नेपाल प्रहरीका डिआइजी सुर्यप्रसाद उपाध्याय पनि अबदेखि चोरी तथा लगेजमा क्षति गर्ने कोही पनि उम्किन नसक्ने दाबी गर्छन्।
सुरक्षा निगरानीलाई प्रविधिको साहयताबाट विस्तार गरिएकाले चोरीको सम्भावना लगभग सकिएको उनको भनाइ छ।
'विमानस्थलभित्रको त कुरा छाडौ यदि कुनै यात्रुको ट्याक्सीमा सामान छुटेछ भने पनि हामि पत्ता लगाउन सक्छौ। कुन यात्रु कति नम्बरको ट्याक्सीमा गएको थियो भन्ने कुरा हाम्रो निगरानीमा हुन्छ। त्यसैले विमानस्थल पेरीफेरिमा कुनै पनि चोरी वा अवैध काम हुननसक्दैन' उनले भने।