इम्प्याक्ट विक कार्यशाला सोमबारदेखि काठमाडौंमा संचालनमा आएको छ।
लुफ्थान्सा ग्रुप, जर्मनी र किङ्स कलेज, काठमाडौंको सहकार्यमा आयोजना भएको आठ दिने कार्यशाला दुई चरणमा संचालन हुने भएको हो।
जसअन्तर्गत पहिलो चरणमा जर्मनीको प्रसिद्ध लुफ्थान्स एअरलाइन्स ग्रुपका सातजना यूरोपेली प्रशिक्षकले १८ जना नेपाली शिक्षक तथा फ्याकल्टी सदस्यलाई ‘डिजाइन थिङ्की’ विधिबारे प्रशिक्षण दिनेछन्।
दोश्रो चरणमा ती प्रशिक्षण प्राप्त गर्ने १८ जनाले यूरोपेली प्रशिक्षकहरुको अनुगमनमा विभिन्न कलेज तथा पेशा वा उद्यम पृष्ठभूमीका अन्य १२० जना विद्यार्थी तथा प्रोफेसरलाई ‘डिजाइन थिङ्की’ विधिको प्रयोगबाट स्थानीय तथा राष्ट्रियस्तरमा भएका चुनौतीलाई कसरी समाधान गर्ने भन्नेबारे तालिम प्रदान गर्नेछन्।
यस कार्यशालाको अन्त्यमा ती १८ जना विद्यार्थी तथा प्रोफेसरले कृषि, पर्यटन, यातायात, कला, संस्कृती र स्वास्थ्य तथा शिक्षा गरी छ वटा क्षेत्रहरुसँग सम्बन्धित दिइएको समस्याको समाधानको लागि ‘डिजाइन थिङ्की’ विधिको प्रयोगबाट नविन उपायहरु प्रस्तुत गर्नेछन्।
लुफ्थान्सा ग्रुपको सामाजिक सहायता निकाय हेल्प अलायन्स र नेपालस्थित जर्मनी दूतावाससँगै विभिन्न यूरोपेली कम्पनीहरुका प्रतिनीधिहरु यस अन्तर्राष्ट्रिय कार्यशालाका लागि काठमाडौंमा भेला भएका छन्।
प्रमुख आयोजक अमन भट्टराई र टिलो हिल्मर तथा प्रमुख प्रशिक्षक ड्यानी टोकिचका अलावा लुफ्थान्सा ग्रुपका स्वयंसेवकको समूहहरुद्धारा यस इम्प्याक्ट विक कार्यशाला संचालन हुनेछ।