उद्योगी तथा व्यवसायी रुपज्योती पक्राउ प्रकरणमा नाडा अटोमोवाइल्स एसोसियसन अफ नेपालले असन्तुष्टि जनाएको छ।
‘उद्योग व्यवसाय गर्ने सन्दर्भमा गरिने सम्झौता एवं आर्थिक कारोबारहरुमा उत्पन्न हुने विवादको समाधान देवानी दायीत्व अन्तर्गत सधिकार निकायबाट उपचार खोजी विवादको समाधान गर्ने बाटो हुदा हुदै गम्भीर किसिमको कसुरमा पक्राउ गरी म्याद थप गर्ने, थुनामा राख्ने कार्यले नेपालको समग्र निजी क्षेत्र हतोत्साहित भएको छ’, विज्ञप्तीमा उल्लेख छ।
जाहेरीमा उल्लेखित व्यहोरा बमोजिम दुईपक्षबीच लेनदेन कारोवार भएको र पहिले नै अदातलमा धरौटी रकम समेत राखिएको अवस्थामा निजहरुलाई थुनेर अनुसन्धान गर्नु पर्ने अवस्था नरहेको नाडाको तर्क छ।
यो विषयमा छिटो अनुसन्धान सम्पन्न गरी अदालतमा पेश गर्ने व्यवस्था गर्न नाडाले गृह प्रशाशनलाई अनुरोध गरेको छ।
त्यस्तै गत बिहिबार उद्योग वाणिज्य महासंघ तथा नेपाल चेम्बर अफ कमर्सले विज्ञप्ती मार्फत् सरकारको यस्तो क्रियाकलापले निजी क्षेत्र प्रोत्साहित नुहने बताएका थिए।
मुलुकका प्रतिष्ठित उद्योगपति माथि विना सोचविचार गरिएको यस्तो व्यवहारले निजी क्षेत्र प्रोत्साहित नहुने उद्योग वाणिज्य महासंघले जनाएको थियो।
नेपाल चेम्बर अफ कर्मसले यस्तो गतिविधीले देशमा उद्योगको वातावरणमा नै असर पार्ने बताएको थियो।