२०७४ सालको फागुन २८ गते काठमाडौं विमानस्थलमा युएस बांग्ला एयरको जहाज दुर्घटना भयो। उक्त दुर्घटनामा परी मृत्यु भएका आफन्तले क्षतिपूर्तिका लागि अहिले कानूनी उपचार खोजिरहेका छन्।
मृतकका आफन्तमध्येका एक समूहले एयरलाइन्सका कानून व्यावसायीले दबाब दिएको आरोप लगाएका छन्।
दुर्घटनामा परी मृत्यु भएका एन्जिला श्रेष्ठ,आश्ना शाक्या,प्रिन्सी धामी,निगा महर्जन,मिली महर्जन,सञ्जय महर्जन र श्रेया झाका आफन्तले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी एयरलाइन्सको तर्फबाट वकालत गरिरहेका वकिले धम्की दिएको आरोप लगाएका हुन्।
उनीहरुले आफ्ना वकिल अमृत खरेललाई धम्की दिएको आरोप लगाएका छन्। एयरलाइन्सको तर्फबाट वरिष्ठ अधिवक्ता देवेन्द्र प्रधान रहेका छन्।
मृतकका आफन्तहरुले असिमित दायित्व पाउनुपर्ने भन्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका छन्। उनीहरुले प्रति व्यक्ती ३० करोडका दरले क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेका छन्।
उनीहरुले मुद्दा दायर गरेपछि प्रधानले आफूलाई पनि फोन तथा अन्य माध्यमबाट एयरलाइन्सले दिएको रकम लिएर मिल्न दबाब दिएको मृतक एन्जिला श्रेष्ठका आफन्त विदुरमान श्रेष्ठले बताए।
उनीहरुलाई एयरलाइन्सले अग्रिम क्षतिपूर्ति स्वरुप २० हजार अमेरिकी डलर दिइसकेको छ। अहिले थप ३० हजार डलर दिन एयरलाइन्स तयार भएको छ। तर मृतकका आफन्तहरुले नियमअनुसार असिमित बीमा दायित्व माग गर्दै कानूनी उपचारमा गएका छन्।
अदालतमा मुद्दा विचाराधीन भएकै अवस्थामा विपक्षीका कानून व्यवसायीले धम्कीपूर्ण भाषामा पत्र पठाएको मृतकका आफन्तको तर्फबाट वकालत गरिरहेका खरेलले जानकारी दिए।
'विपक्षीका वकिलले मलात्र लेखेर अदालतले यस्तो फैसला गर्दै छ भनेर पत्र लेख्नुभयो। उहाँहरुले कसरी थाहा पाउनुभयो अदालतले गर्ने फैसला? यो सामन्य कानूनी मान्यता विपरीत छ यसमा मेरो पक्षका क्लाइन्टले आपत्ति जनाउनुभएको छ यो जायज छ' खरेलले भने।