उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उद्योगका समस्या विस्तारै हल गर्दै जाने बताएका छन्। राजधानीमा सोमबार आयोजित पाँचौ उद्योग दिवस कार्यक्रममा मन्त्री भट्टले उद्योगका समस्या विस्तारै हल गर्दै जाने बताएका हुन्।
‘म किसान भएकोले किसानका समस्या बुझिहाल्थे र छिटै समाधान पनि गरिहाल्थे’, मन्त्री भट्टले, ‘उद्योगका समस्याबारे मैले पनि अध्ययन गर्नुपर्ने भएकाले विस्तारै समाधान गर्दैु जान्छु।’
उद्योग प्रवद्र्धनका लागि यसका विषयमा उद्योगी व्यवसायीसँग छलफल गर्दै अघि बढ्ने मन्त्री भट्टले बताए।
मन्त्री भट्टका अनुसार कृषि उत्पादनलाई बढाएर औद्योगिकरण गर्ने तर्फ पनि उद्योग मन्त्रालयले अध्ययन गर्दै जानेछ।
म असफल हुनु निजी क्षेत्र असफल हुनु होः राज्यमन्त्री दुगड
उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले आफू असफल हुँदा निजी क्षेत्र असफल हुने बताए।
‘म असफल हुनु भनेकै निजी क्षेत्र असफल हुनु हो, मलाई सफल बनाउने निजी क्षेत्रको हात छ’, राज्यमन्त्री दुगडले भने, ‘निजी क्षेत्रको समस्या मलाई सबै थाहा छ। निजी क्षेत्रको समस्या निजी क्षेत्रले नै बुझ्ने भएकाले प्रधानमन्त्रीले मलाई उद्योग राज्यमन्त्री बनाएका हुन्।’
आउँदा दिनमा उद्योगको क्षेत्रमा धेरै परिवर्तन देखाउने बताउँदै राज्यमन्त्री दुगडले ऐतिहासिक मन्त्रालय बन्ने दावी गरे।
कार्यक्रममा निजी क्षेत्रका उद्योगी व्यवसायीले आआफ्ना क्षेत्रमा भएका समस्यमा र प्रगतीबारे कार्यपत्र प्रस्तुत गरे।
कार्यक्रममा उद्योगसँग सम्बन्धित सरकारी निकाय, उद्योगी व्यवसायीको उपस्थिति थियो।