नागरिक उड्डयन क्षेत्रको नियमक र सेवाप्रदायक संस्था बनाउनका लागि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले सहयोग गर्ने भएको छ। नेपालमा संस्थागत सुधार गर्नका लागि आइकाओले नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)लाई प्राविधिक सहयोग उपलब्ध गराउने भएको हो।
यसका लागि आइकाओ र क्यानबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
सम्झौताअनुसार आइकाओले क्यानलाई संस्थागत सुधारका लागि ४८ हजार अमेरिकी डलर बराबरको प्राविधिक सहयोग उपलब्ध गराउने छ।
आइकाओले संस्थागत पुर्नसंरचनाका लागि यो सहयोग उपयोग गरिने क्यानका महानिर्देशक राजन पोखरेलले जानकारी दिए।
अहिले नेपालमा हवाई क्षेत्रको नियमन र विमानस्थल निर्माण तथा सञ्चालनको काम क्यानले गर्दै आएको छ। नियमक र सेवाप्रदायक एकै संस्था हुँदा त्यसको असर हवाई सेफ्टीमा परेको भन्दै आइकाओ लगायतका संस्थाले कैफियत देखाउँदै आएका छन्।
अन्तर्राष्ट्रिय दबाबकै कारण नेपाल सरकारले नियमक र सेवाप्रदायक छुट्यायउनका लागि कानून निर्माणको काम अघि बढाएको छ। यसका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिधेयकको मस्याौता तयार पारि मन्त्रीपरिषदमा पठाएको छ।
उक्त बिधेयक संसदबाट पारित भएपछि क्यान टुक्रिने छ।
कानूनले निर्धारण गरेको प्रक्रियाबाट संस्थागत संरचना बन्ने भएपनि त्यसमा प्राविधिक सहयोग आइकाओले गर्ने पोखरेलले जानकारी दिए।
मन्त्रिपरिषद पुगेको मस्यौदाअनुसार नियमक र सेवाप्रदायकको प्रमुख बाहिरबाट पनि पदपूर्ति गर्न सकिने भएको छ। अहिले आन्तरिक वरिष्ठताको आधारमा प्रमुख छनौट हुँदै आएको छ।
यही वर्ष नेपालमा सेफ्टी अडिट गर्न आउने सेड्युल भएको आइकाओ यही संस्थागत पुर्नसंरचनाकै कारण पछि आउने भएको छ। संस्थागत संरचना निर्माणमै आइकाओ संलग्न भएपछिमात्र आइकाओको सेफ्टी अडिट गर्न आएने पोखरेलले जानकारी दिए।
नियमित अडिटसँगै आइकाओले संस्थागत पुर्नसंरचनापछि पनि अडिट गर्ने भएकाले एकैपटक गर्न खोजेको उनको भनाइ छ।