नेपाल निर्माण व्यवसायी महासंघले १०औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गर्ने भएको छ।
महासंघले बुधवार पत्रकार सम्मेलन गरी आउदो शुक्रवार आयोजना गरिने अवार्डको सबै तयारी भइसकेको बताएको हो।
महासंघले ‘१२औं राष्ट्रिय निर्माण दिवस २०७६’को अवसरमा अवार्ड कार्यक्रम आयोजना गर्दैछ।
नेपाली निर्माण उद्योगको विकासमा विभिन्न क्षेत्रबाट विशेष योगदान पुर्याउने व्यक्ति, संघ–संस्था तथा फर्म÷कम्पनीहरुलाई अवार्ड कार्यक्रममार्फत् महासंघले सम्मान गर्दै आएको महासंघका अध्यक्ष रवि सिंहले बताए।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री आउने महासंघले जानकारी दिएको छ।
अवार्ड वितरणका लागि वरिष्ठ प्राविधिक विज्ञ प्रा. डा. राजेन्द्र प्रसाद अधिकारीको संयोजकत्वमा ‘पुरस्कार तथा सम्मान मूल्याङ्कन समिति’ गठन गरिएको महासंघका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेले बताए।
उत्कृष्ट निर्माण कम्पनी राष्ट्रिय सम्मानमा (क वर्ग, ख वर्ग, ग वर्ग र घ वर्ग) को अलग–अलग मूल्याङकनका आधारमा स्वर्ण, रजत र काँस्यगरी १२ वटा कम्पनी पुरस्कृत हुने बाइएको छ।
साथै प्रदेश महासंघको सिफारिसमा घ वर्गका ७ वटा फर्म ÷कम्पनी प्रदेशगत रुपमा पुरस्कृत हुने भएका छन्।
विदेशमा निर्माण कार्य गर्ने उत्कृष्ट नेपाली कम्पनी, भुगोलमा आधारित रही उत्कृष्ट काम गर्ने व्यवसायी, उत्कृष्ट प्रदेश निर्माण व्यवसायी लगायतलाई समेत महासंघले सम्मान गर्ने भएको छ।
त्यस्तै नेपालभरका निर्माण व्यवसायीका छोराछोरी मध्येबाट सिभिल इन्जिनियरिङमा उत्कृष्ट हुने विद्यार्थीलाई सोही सम्मान गरिने भएको छ।
निर्माण व्यवसायको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने व्यक्तिलाई ‘महासंघ गौरव सम्मान’ प्रदान गरिने महासंघका महासचिव रोशन दाहालले जानकारी दिए।
निर्माण व्यवसायमा उदाहरणीय कार्य गर्ने महिला निर्माण व्यवसायी, उत्कृष्ट परामर्शदातृ कम्पनी, उत्कृष्ट निर्माणमैत्री ईन्जिनियरलाई पनि सम्मान गरिने भएको छ।
निर्माण व्यवसायको क्षेत्र समेटेर उत्कृष्ट समाचार सम्प्रेषण गर्ने टेलिभिजन, दैनिक पत्रिका, रेडियो र अनलाइनलाई अर्वाड प्रदान गरिने महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।