काठमाडौंको कमलादीमा ‘स्काई वाक भ्यू टावर’ बन्ने भएको छ।
शनिबार आयोजित एक कार्यक्रममा उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई लगायतले टावरको शिलान्यास गरेका हुन्।
वन्डरर्स नेपाल प्रालिले निर्माण गर्न लागेको उक्त टावरको लागत दुई अर्ब रहेको प्रालिका प्रोजेक्ट म्यानेजमेन्ट डाइरेक्टर सन्जिव रोकाहले जानकारी दिए।
१३.२ रोपनी जग्गामा बन्ने ७८ मिटर उचाइको उक्त टावर २८ वर्षको लागि भाडामा लिएको कम्पनीले जनाएको छ।
उक्त स्काई टावरको लिफ्ट चढेपछि ग्राउण्ड फ्लोरबाट सिधै ६८ मिटरमा मात्र लिफ्ट रोकिन्छ। त्यहाँ ८/१० ओटा कोठा, मिटिङ हल हुने कम्पनीले जनाएको छ।
त्यसको माथि एक सय जना अट्ने रेष्टुरेन्ट हुनेछ भने सबभन्दा टपमा स्काई वाक हुनेछ। उक्त टावर चढ्नको लागि सर्वसाधारणले निश्चित रकम तिर्नुपर्ने हुन्छ। १८ महिनामा काम सक्ने कम्पनीले जनाएको छ।
उक्त स्काई वाक टावरमा ११ जना लगानीकर्ता छन्। टावर बनाउने जिम्मा अमर कन्ट्रक्सनले पाएको छ भने स्टिल स्ट्रक्चरको जिम्मा सेफ स्टिलले पाएको छ।
स्काई वाक टावर दैनिक ४ हजार ४ सय जनालाई अवलोकन गराउन सक्ने क्षमताको हुनेछ।