तपाईले आफ्नो राहदानी (पासपोर्ट)मा खोल हाल्नु भएको छ?
खोल साधरण छ की पासपोर्ट जस्तै देखिन्छ?
यदि तपाईको पासपोर्टको खोल पासपोर्ट जस्तै देखिने खाल्को छ भने अबबाट त्यस्तो खोल प्रयोग गर्न नपाइने भएको छ।
राहदानी विभागले सूचना जारी गर्दै झट्ट हेर्दा साधारण राहदानी जस्तो देखिने राहदानीको खोल खरिद बिक्री नर्गान अनुरोध गरेको हो।
यस्ता खोलमा सरकारसगँ अनुमती नलिई नेपाल सरकारको लोगो र डिजाइन प्रयोग गरिएको हुँदा यसको खरिद बिक्रीमा प्रतिबन्ध लगाइएको राहदानी विभागका महानिर्देशक रामकाजी खड्काले जानकारी दिए।
‘सरकारसगँ अनुमती नलिई सरकारको लोगो र डिजाइन प्रयोग गर्नु गैरकानुनी हो,’उनले भने ‘ विभाग अगाडि खोल बेच्ने प्रत्येक व्यापारीको हातमा यस्तो खोल देखिन्छ। यो झट्ट हेर्दा पासपोर्ट नै बेच्न राखेको जस्तो देखिन्छ।’
यस्तो खोल खरिद नगर्न खड्काले सर्वसाधरणसगँ अपिल गरे।
‘यसमा सेवाग्राहीको दोष छैन तर भोलीको दिनमा एयरपोर्ट वा अरु निकायमा समस्या पर्नसक्छ। त्यस्तै हामीले खोल बेच्नेहरूलाई पनि यस्ता खोल नबेच्न आग्रह गरिसक्यौं,’ उनले भने।
यसको सट्टा अरु पारदर्शी खोल प्रयोग गर्न सकिने खड्काले जानकारी दिए।