अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले यो वर्ष नेपालको आर्थिक वृद्धिदर ६ प्रतिशत हुने अनुमान गरेको छ।
राजनीतिक स्थायित्व, विद्युतको सहज आपूर्ति र २०७२ सालमा गएको भूकम्पपछिको पुनर्निर्माण काम भइरहेकाले आर्थिक वृद्धि राम्रो हुने आइएमएफको तर्क छ। भारतको अर्थतन्त्रमा मन्दी हुनु, रेमिट्यान्स घट्नु तथा कमजोर कृषि उत्पादनले गर्दा आर्थिक वृद्धि ६ प्रतिशतमाथि नजाने आइएमएफको तर्क छ।
आइएमएफको तर्फबाट गत पुस २० गते लाउरा जरामिलोको नेतृत्वको टोली नेपाल आएको थियो। टोलीले यसबीचमा अर्थमन्त्री युवराज खतिवडा, गभर्नर चिरन्जिवि नेपाल लगायत उच्च सरकारी पदाधिकारीसँगै विभिन्न निजी क्षेत्रका प्रतिनिधीलाई समेत भेटगरी उक्त निश्कर्ष निकालेको हो।
देश संघीयतामा गएकाले वित्तीय नीति विचार गरेर बनाउन आइएमएफले सुझाव दिएको छ। राष्ट्र बैंकले लिएको मौद्रिक नीतिलाई सकारात्मक भनेको आइएमएफले त्यसको कार्यन्वयनको लागि बन्ने नियम र सुपरिवेक्षणमा ध्यान दिनुपर्ने बताएको छ।
यस्तै वैदेशिक लगानी भित्र्याउन कानुन बनेको तर लगानीको वातावरण भने बन्न नसकेको आइएमएफले जनाएको छ। नेपालमा वैदेशिक लगानी ल्याउन दक्ष कर्मचारीको अभाव रहेको पनि आइएमएफले उल्लेख गरेको छ। ठूला परियोजनामा मन्त्रालयबीच समन्वय नहुनाले लगानीको वातावरण बन्न नसकेको आइएमएफको दाबी छ।
उता गत महिना विश्व बैंकले भने नेपालको आर्थिक वृद्धिदर ६.४ प्रतिशत हुने प्रक्षेपण गरेको थियो। बिहीबार मात्रै संयूक्त राष्ट्र संघले एक प्रतिवेदन सार्वजनिक गर्दै नेपालमा यो वर्ष ७.१ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरेको छ। त्यस्तै नेपाल सरकारले भने यो वर्ष साढे आठ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य राखेको छ।