७ सय ५६ मेगावाटको तमोर जलासययुक्त आयोजनाको निर्माणका लागि लगानी बोर्ड र पावर चाइनाको बीचमा समझदारीपत्र (एमओयु) मा हस्ताक्षर भएको छ।
आइतबार एक कार्यक्रमका बीच एमओयु भएको हो।
एमओयुमा बोर्डको तर्फबाट प्रमुख कार्यकारी अधिकृत माहाप्रसाद अधिकारी र पावर चाइनाको तर्फबाट उपाध्यक्ष पानले हस्ताक्षर गरेका हुन्।
यसअघिनै परियोजनाको लागि पावर चाइना र नेपाली साझेदारी कम्पनी हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) बीचमा एमओयु भइसकेको थियो।
चिनियाँ राष्ट्रपति सी जिनफिङ नेपाल भ्रमणका क्रममा उक्त आयोजनामा सयुक्त लगानी गर्न पावर चाइना र नेपालको एचआईडीसीएलबीच एमओयु भएको हो।
यो आयोजनाको लागि गत चैत सम्पन्न भएको लगानी सम्मेलनमा दुई वटा प्रस्ताव सोकेस गरिएको थियो। गत साउन १६ गतेको बोर्ड बैठकले एचआइडीसीएल तथा पावर चाइना संयुक्त र कतारको नेब्रस पावर तथा जापानको फुजी इलेक्ट्रिकलाई छनोट गरी प्रस्ताव माग गरिएको थियो।
आइतबार भएको सहमती अनुसार पावर चाइनाले ६ महिनामा बोर्डबाट सर्भे लाइसन्स पाउने छ भने, त्यसको १८ महिना पछि डिपिआर तयार गर्ने छ।
उक्त अयोजना निर्माणका लागि २ खर्ब ६० अर्ब लाग्ने अनुमान गरिएको बोर्डले जनाएको छ।