भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले सार्वजनिक खरिद नियमावली नवौं संशोधन आइसकेपछि कुनै पनि आयोजनाहरु शून्यमा रहन नसक्ने बताएका छन्।
आज सडक बोर्ड नेपालले आयोजना गरेको रणनीतिक सडक मर्मत संभार सम्बन्धी वार्षिक समीक्षा एवम् प्रगति गोष्ठिलाई सम्वोधन गर्दै उनले यस्तो बताए।
गोष्ठिमा सहभागी, सडक विभाग, सडक बोर्ड नेपाल, संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय र विभिन्न डिभिजन प्रमुखहरुलाई लक्षित गर्दै मन्त्री नेम्वाङले राज्यले कानुन बनाएरै निर्माण व्यवसायीहरुलाई मौका दिएको बताए।
मन्त्री नेम्वाङले रणनीतिक सडकहरुको मर्मतसम्भार गर्ने कार्य सानो भएपनि त्यसको असर र प्रभाव व्यापक रहेको उल्लेख गरे। उनले भने ‘सडक मर्मत, सडक सुरक्षा सडक दुर्घटनासँग जोडिएका हुन्छन्, जुन काम सानो भएता पनि महत्वपूर्ण हो, तर त्यसले पार्ने दुरगामी प्रभाव अत्यन्तै महत्वपूर्ण हुन्छ।’
उनले सडक मर्मत संभार सेकेण्डरी काम हुन नसक्ने दावी गरे। मन्त्री नेम्वाङले भने ‘केही अघिसम्म सडकका खाल्डाखुल्डी नपुरिएका कारण सडक दुर्घटना बढ्यो, मानिसहरुको मृत्यु भयोजस्ता घटना आउँथ्यो, त्यसकारण नयाँ बाटो निर्माण, कालोपत्रेसँगसँगै मर्मतमा ध्यान दिनु जरुरी छ।’
मन्त्री नेम्वाङले अहिलेसम्मको भौतिक प्रगति तथा पुँजीगत खर्च न्यून र निराशाजनक रहेको भन्दै यतातिर गम्भीर हुन निर्देशन दिए।