मेरो देश यस्तो बनोस्
जहाँ ! मूर्खहरूलाई पुज्न नपरोस्
लठैतहरूसँग झुक्न नपरोस्
मेरो देश सभ्य बनोस्
मेरो देश भव्य बनोस्
मेरो देश यस्तो होस्
जुन ! महिलाहरूका लागि सुरक्षित बनोस्
दुर्जनहरूका लागि नर्क बनोस्
सज्जनहरूका लागि स्वर्ग बनोस्
चार जात छत्तीस वर्णको फूलबारी बनिरहोस्
मेरो देश अब यस्तो होस्
जहाँ, पढ्नलाई राम्रो विद्यालय होस्
उपचार गर्न सुलभ औषधालय होस्
घर घरमा पानीसहितको शौचालय होस्
आधारभूत आवश्यकता सबैको पूरा होस्
ऋषिमुनिहरूको मेरो देशमा
नालायकहरूको नेतृत्व अस्वीकार्य होस्
नेताहरूमा दम्भ नरहोस्
सेवकहरूमा स्वार्थ नरहोस्
नेताहरूको छवि स्वच्छ होस्
अस्तव्यस्त मेरो देशमा
भूमाफियाहरूलाई जेल नेल होस्
माफिया दलालको अन्त्य होस्
अख्तियारको दुरूपयोग नहोस्
खर्बौंको बेरुजु फर्छ्यौट होस्
युवा निर्यात गर्ने मेरो देशमा
विदेशिएकाबाट मनग्य डलर आओस्
अरब,मलेसियाबाट लाश नआओस्
भूकम्पले क्षति नपुर्याओस्
बाढी पहिरोले बर्बाद नगरोस्
सुन्दर प्रकृति भएको मेरो देशमा
गुराँस फुलिरहोस्
डाँफे नाचिरहोस्
हिमाल हाँसिरहोस्
नदी बगी नै रहोस्
कहिँ नभएको जात्रा हाँडीगाउँमा
स्वच्छ छैन न्यायालय मेरो देशमा
प्रहरीबाटै असुरक्षित छन् जनता मेरो देशमा
व्यापार गर्छ सेना मेरो देशमा
हडताल गर्छन् डाक्टर मेरो देशमा
व्यापारी ,गुन्डा,दलाल देखिन्छन् नेताको भेषमा
हाम्रा मान्छे मात्र होइन
राम्रा मान्छे पनि आऊन्
सबैले योग्यता अनुरूप
राम्रा काम पनि पाऊन्
साहित्यको उत्थान होस्
कला संगीतको सम्मान होस्
सद्गुरुहरूको पूजा होस्
अध्यात्म चेतना जागृत होस्
तर पनि बाँच्नुछ मलाई मेरै देशमा
आयात घटोस्, निर्यात बढोस्
अर्थ तन्त्र सुध्रियोस्
जलवायु परिवर्तनको असर नपरोस्
दीगो विकासको लक्ष्य प्राप्त होस्
मेरो देश बस्न योग्य होस्
मेरो देश बाँच्न योग्य होस्