आमा,
तिमीले गर्भ धारण गरेदेखि
मैले धर्ती नटेकुन्जेलसम्म
कत्ति पीडा खप्यौ होला?
आफू स्वयं मान्छे भएर फेरि
अर्को उस्तै मान्छेको सृजना गर्नु
कम अप्ठ्यारो कुरा हो र?
तर पनि तिमीले ती सब
पीडा/व्यथालाई सहेर मलाई
सकुशल धर्तीमा अवतरण गरायौ।
हो .......आमा, म आफूलाई धन्य मान्छु
तिमी एक कोमल नारीले असंख्य चित्कार
ओकल्दै भए पनि आज मलाई
यो धर्तीमा टेक्ने सु-अवसर दिलायौ
यो सांसारिक नियतिका भोगाईहरु
भोग्ने र जीवन बाँच्ने कला सिकायौ
नमन छ आमा तिमीलाई यो सन्तानको,
जस्ले केवल आमा शब्द भन्न मात्र जान्यो
तर .....तिम्रो ममत्वको कदर गर्न जानेन सायद|
आमा,
तिमीलाई जति नै मनको भाव बिसाउँ कमी नै हुन्छ,
तिम्रो ममत्वको जति बर्णन गरूँ उति नै थोरै लाग्छ
त्यसैले .......मेरो प्राप्तिको साँचो अर्थ
तिमीलाई आमा भन्न पाउनु हो
नमन छ आमा तिमीलाई
यो भाग्यमानी सन्तानको |