हजुरबाले बालाई भन्नुहुन्थ्यो रे
तेरोझैं जवानीमा त हामी
जिउँदो बाघको जुँगा उखेल्थ्यौं
बाले पनि हामीलाई भन्नु भएकै हो
स्याल घोर्ले उमेरमा त हामी
१२ हानेर अठार छिनाल्थ्यौं
मैले पनि मेरो छोरालाई
दङ्ग्याएकै छु घरिघरि
नाथे तँ पानीमरुवा!
तेरो उमेरमा त हामी
माछालाई पौडी खेल्न सिकाउँथ्यौं !
यसरी
क्रमश: हामीहरू
बहादुरीको आवरणमा
हिङ नै नबाँधिएका टालाहरू
सन्तान दरसन्तानलाई बाँड्दै रह्यौं
विरासतबाट प्राप्त
फाँटिला स्वाभिमानहरूलाई
खण्ड खण्ड
कित्ताकाट गरी रह्यौं
भन्दा/भनिरहँदा
सुन्दा/ सुनाइरहँदा
हाम्रो सिंगो वंशवृक्ष नै
भाषामा बहादुर बन्दै आयो
भावमा बुद्धु बन्दै आयौं
थाहा छैन छोराले
मेरो नातिलाई सुनाउन
फेरि बहादुरीको कस्तो किस्सा बुन्ने हो!