म जन्मिएको साल
देशको प्रधानमुखिया बनेथे उनी
जनआन्दोलन पछिका उल्लासका
दिन थिए ती
आशाहरू वशिभूत थिए र देशभक्तिको
भावना उत्कर्षमा थियो
उनी क्रान्तिका नायक,लाखौंजनका
ढुकढुकी
समयको हिसाबले मेरो जन्म
सार्थक थियो
देश परिवर्तन हुँदै थियो मेरो
जीवनले गति लिँदै थियो
तर समयक्रमसँगै ती आशामुखी फूल
ओइलाउन थाले
छेपारोकोझै क्रान्तिका नायकहरूका
रंग बदलिन थाले
निराशाको कालो बादलले देशलाई
छोप्दै लगे
किशोरवयमा पुग्दानपुग्दै देश विस्फोट
हुँदै थियो
शोषक र शोषितका नाम देश लड्दै गर्दा उनी
फेरि दोस्रोपटक प्रधानमुखिया बने। यो द्वन्द्व र अस्थिरताको विषले मेरो
युवा शरीरलाई कुज्याँयो
मेरो सृजनशिलता बाध्यताको चाङमा
दबियो
कुनै राक्षसलेझै देशको अवस्थाले मेरो
रहरहरू निल्दै गयो
मेरा सपनाहरू दरफरिए ।
चढ्दो उमेरसँगै चुलिएका जिम्मेवारीले
आमाको काख र जीवनसंगिनीका
प्रेमिल स्पर्शहरू छुटायो
छोरीले तोते बोलीमा बाबा भन्दा हजुर
भन्न नसक्ने बनायो
म एयरपोर्टबाट खाडी उडेको दिन उनी
फेरि देशको प्रधानमुखिया चुनिँदै थिए ।
जिवनमा असफल भएर म खाडीमा बेल्चासँग
लड्दै छु
सुन्दैछु उनी फेरि प्रधानमुखिया बम्ने सूरमा छ्न् रे
देश पनि असफल भयो र म पनि असफल भएँ
तर
असफल देशमा उनी बारम्बार प्रधानमुखिया बनेर
सफल राजनेता बने सायद सबैलाई असफल बनाएर आफू
सफल हुनु नै राजनेता बन्ने हो।