जब कुनै जमानामा
कतैबाट भेट्टाएर जतन गरी राखेको
पुरानो – अतिप्रिय, तिम्रो तस्बिर हेर्छु
तब विश्वास लाग्छ
कोही तस्बिरमा मात्रै हुन्छन्, तक्दिरमा हुँदैनन्
तिम्रो तस्बिर हेर्दैगर्दा
विगतका कैयौं तस्बिरहरू सँगै आउँछन्
सम्झन्छु, कुनै दिन तिमीले
मसँग भएको चाल पाएर
‘फोटो फिर्ता लेऊ’ भनेकै बेलातिर
यही बोलको लोक गीत पनि चर्चित थियो
अचेल
यो गीत सुन्दा वा यो तस्बिर देख्दा
विगतका कैयौं तस्बिरहरू सँगै आउँछन्
लाग्छ यस्तै केही गीतले र तिम्रो तस्बिरले
मेरो विगतलाई जीवित राखेको छ
यौटा तस्बिर मसँग फिर्ता माग्ने तिमी
अचेल धेरै तस्बिरहरू कता कता टाँसी रहन्छ्यौ
शायद समय बदलियो वा तस्बिरको मूल्य
तर अचेल देख्छु,
तिमीले फेसबुकको भित्तामा टाँसेका तस्बिरहरू
र मसँग भएको तस्बिर
र फरक पाउँछु
कि तिमी पहिले ज्यादै खुसी थियौ
कि तिमी अहिले थोरै दु:खी छ्यौ
म पहिल्यैदेखि भाग्यवादी
अचेल भाग्यमाथि झनै विश्वास लाग्छ
तिमीसँग भेटिनु र थाहै नपाइ छुटिनु
आखिर भाग्यकै लेखा त होला नि!
तिमीलाई थाहा छ ?
म आज अर्कै हुन्थें,
सायद भीडमा हुन्थें तर एक्लै हुन्थें
बाहिर भरिएर भित्र रित्तै हुन्थें
सायद थोरै खुसी र धेरै उदास हुन्थें
तर, तिमीलाई भेटेपछि र तिमीसँग छुटेपछि
म ‘देवकोटाको पागल’ को अंश भएको छु
आज मान्छे मान्छेसँग बोल्दै बौल्दैनन्
म तिम्रो तस्बिरसँग घण्टौं कुरा गर्न सक्छु
आज मान्छे मान्छेसँग बाँच्न जान्दैनन्
म तिम्रो तस्बिरसँग जुनी काट्न सक्छु
धन्न,
तिम्रा लागि जे पनि गर्छु भन्ने मैले
तिमीले माग्यौ भन्दैमा
तिम्रो तस्बिर ...फिर्ता दिइनछु