माटोका मसिना कणहरू जस्तै
पानीका मसिना थोपाहरू जस्तै
मेरो अस्तित्व सङ्गालेर
आजको आकार दिने
अर्को एउटा अस्तित्व
जसलाई म बुबा भन्छु
हेर्छु ती रसिला आँखाहरूमा,
गालाका चाउरिएका धर्साहरूमा
उमेरका सेताम्मे केशहरूमा
यस्तो लाग्छ,
म रुँदै गर्दा दुखेर
खुम्चिए होलान् मलाई हँसाउन
म लड्नै लाग्दा अल्झेर
साटिए होलान् मलाई समाउन
कति मेटिए होलान् हातका रेखाहरू
मलाई जिन्दगीको बाटो देखाउन
र, त
आजको दिन छ
म हाँस्न सक्छु उन्मुक्त
म बलियो बनेको छु मेरा पैतालाहरूमा
मेरा आफ्नै सपनाहरूमा
बुबा,
याद छ हजुरलाई
च्याहा–च्याहा गर्दै रुने
हजुरको हत्केलाभरिको चिचिलो प्राण?
हेर्नुस् त मेरा आँखाहरूमा
तपाईंले आफ्नो उमेर बेचेर हुर्काउनुभएको सपना
दरिलो विश्वास बनेर हुर्किएको छ
मलाई विश्वास छ बुबा
मेरो दौड, मेरो लडाइँमा
हजुरले दिनुभएको उज्यालो संस्कारमा
एकदिन ढक्क फुल्नेछ गर्वले छाती
चम्किने छन् आँखाका डिलहरू
उज्यालिने छन् चाउरी परेका गालाका धर्साहरू
बुबा,
मेरो नाम हजुरलाई आशिष हुनेछ