म मान्छेहरूको शरीरभित्र
पिँजडाभित्र थुनिएको चरा जसरी
थुनिएर अड्की रहेको हुन्छु
मलाई कतिले कयौं वर्षसम्म थुनि रहन्छन्
अनि कतिको कैदबाट छिट्टै उम्किन्छु
म मान्छेको शरीरबाट छिटो मुक्त हुन
-कतिलाई दुर्घटनामा पारी दिन्छु
-कतिलाई रोगले ग्रस्त बनाइ दिन्छु
-कतिलाई आत्महत्या गर्न दुरूत्साहन गर्दिन्छु
चारैतिर बाट बन्द रहेको
मान्छेरूपी जेलबाट उम्किएर
खुला आकाशमा चरा जस्तै
खुला आकाशमा बादल जस्तै
खुला आकाशमा हावा जस्तै
उड्न,भौंतारिन धेरै रहर हुन्छ मलाई
म बिनाका मान्छेहरू
सुकेको मूढो जस्तो हुन्छन्
बगारमा मिल्काइएका ढुंगा जस्तै हुन्छन्
मान्छेबाट छिन भरमा लासमा गनिन्छन्
मलाई उनीहरूको शरीरप्रति कुनै मोह लाग्दैन
माया लाग्दैन, दया लाग्दैन
केबल मलाई आफ्नो शरीरमा बन्दक
बनाएका मान्छेहरूदेखि घृणा जाग्छ
कहिले यी मान्छेका शरीरबाट छुट्करा पाउँछु
कहिले यी मान्छेका बन्दकबाट मुक्ति पाउँछु
हरेक सेकन्ड पर्खाइमा रहेको हुन्छु
मलाई वायुमण्डलमा उड्नु छ
मलाई खुला आकाशमा रमाउनु छ
पिँजडाभित्र सुगा थुनिए झैं
जेलभित्र कैदी अड्किए झैं
मान्छेको शरीरभित्र थुनिरहन मन छैन
ठूलो र गरूङ्गो शरीरभित्र
मलाई जालभित्र माछा अड्काए झैं
अड्काउन बाध्य बनाइएको हुन्छ
कतिले म मान्छेरूपी जेलभित्र पस्न नपाउँदै
बच्चा तुहाइ दिएर मलाई उन्मुक्ति गरिदिन्छन्
म बाहिरी संसारमा जानको लागि
मान्छेको शरीरभित्र भौंतारिरहेको हुन्छु
कैयौं मान्छे सुतेको बेला फुत्त बाहिर भाग्छु
ऊ सधैंको लागि सुतेको सुत्तै हुन्छ
म सास न हुँ
हरेक मान्छेका शरीरबाट
बाहिर निस्किन प्रयत्न गरी नै रहेको हुन्छु...