एउटा ट्वीट गर्नुपर्यो भनेर ज्याकेटको गोजीबाट मोबाइल निकालेँ।
म विराटनगरदेखि काठमाडौं जान‘समय ट्रभल्स’को ‘बि’साइड को ४ नं सिटमा थिएँ।
मोबाइलमा ब्याट्री ४५ प्रतिशतमात्र रहेछ।
सिटको छेउमा चार्जिङ सकेट थियो। देखेपछि खुसी हुन कारण चाहिएन। ट्वीटर खोलेँ ‘सुनाखरी’भन्ने ह्याण्डलबाट एउटा ट्वीट थियो यस्तो ‘इटहरी टु काठमाडौं, समय ट्राभल्स,सिट नं बि ३, एकघण्टा भयो बस कुरेको। बस हो कि सन्खेकिरा हो यार?’
‘सुनाखरी’ भन्ने ह्यान्डल र मैले एकअर्कालाई फलो गरेका रहेछौं।
म कुनै छद्म नाम राखेर ट्वीटर चलाउँछु स्वतन्त्र रूपले लेख्न। किनकी फेसबुकमा त आजकल आमा,बा,काका,काकी,छरछिमेकी सबै छन्। छुस्स् मनको कुरा लेख्यो भने पनि होहल्ला मचिन्छ।
‘भाइ यो समय ट्राभल्स भन्ने गाडी धरान, काँकडभिट्टाबाट पनि काठमाडौं जान्छ?’ खलासी भाइलाई सोधेँ।
‘अह’उत्तर आयो।
मनमनै मुस्कुराएँ। छेउमा इन्ट्रेस्टिङ सहयात्री पर्ने भयो भनेर।
ह्यान्डल सुनाखरी भए पनि भ्रममा परि चै हालिनँ स्त्रीलिङ्गी नै हो भनेर। किनभने ट्वीटरमा केटाहरू केटी बनेर चलाइरहेका हुन्छन्।
फिफ्टी फिफ्टी थियो सम्भावना। तर विपरीत लिंगी भए हुन्थ्यो भन्ने प्राकृतिक चाहना थियो ममा। किनकी म‘स्ट्रेट’थिएँ। मलाई बरु एक्जाममा सिट पार्ट्नर को पर्छ भन्ने कुराको त्यत्ति ख्याल लाग्दैन जति यात्रा गर्दा बसमा को पर्ला भन्ने कुराको।
गाडी दुहबीमा दुई चारयात्रुलाई चढाउँदै इटहरीतिर हुइँकिदै थियो। गाडीको गतिसँगै अनायासै दिमागमा एउटा कुरा घुम्न थाल्यो।
केही दिन अगाडि एउटा पत्रिकामा कथा प्रतियोगिता भनेर सूचना निकालेको थियो। मलाई पनि लेख्न मन लागिरहेको थियो तर विषयवस्तु नभेटेर अलमल्ल परिरहेको थिएँ।
सोचे आजको यात्रालाई नै कथाको रङमा ढालिदिऊँ। त्यसको लागि यात्रालाई कथा जस्तै बनाउनुपर्नेथ्यो अलिअलि कल्पनाका फुलबुट्टा भरेर।
भाग्यले साथ दियो भने इटहरीबाट चढ्ने मेरो सिट पार्ट्नर नै कथाको प्रमुख पात्र हुन सक्थ्यो।
इटहरी आउन आउन लाग्दा मनभित्र अनौठो रसायनिक प्रतिकृया भएजस्तै भान भइरहेको थियो। गाडी स्टेण्डमा गएर रोक्यो।
मेरा आँखा खुरुरु गाडीको ढोकातिर दगुरे। यात्रुभन्दा अगाडि तछाडमछाड गर्दै केही व्यापारी चढे अनि त्यहीँ कहिले नबद्लिने मेलोडीमा भट्याउन थाले ‘ए काक्रा, बदाम, नारियल नारियल’।
मेरो नजर भने एकतमासले ढोकैतिर थियो। तर अचानक आफ्नो झ्यालतिरको बाहिरपट्टि तिखो स्वरमा नारी आवाज सुनियो ‘ओइ एउटा फोटो हान्त’।
म झ्यालतिर हेर्न थालेँ।
त्यो केटी मकै पोलेर बसेकी एउटी दिदीको छेउमा मुख चुचो पारेर देब्रेहातको दुई औंला ठड्याएर पोज दिएर बसिरहेकी थिइ।
त्यसपछि उसले दुई घोगा मकै किनेर एउटा साथीलाई दिइ अनि अर्को आफैं मुखले दारेर खान थाली।
वाउ ! सार्वजनिक ठाउँमा एउटा टिपटप केटीले मकै दारेको दृश्य दुर्लभ लागेर उसले थाहा नपाउने गरी एउटा तस्बिर खिचेँ।
अनि जुम गरेर हेरे नाकको टुप्पोमा कालो लागेको थियो।
‘ओ दिदी तपाईं नै हो समय ट्राभल्समा जाने ?’खलासीले अलि रूखो स्वरमा सोधेको थियो।
सहमतिमा केटीले मुन्टो हल्लाइ।
‘अनी के मकै खाएर बस्नुभा? गाडी हिँड्न लागिसक्यो’ खलासीले हप्काएको पाराले भन्यो।
‘तिमरु नै ढिला आउने अनि तिमेर्कै कुरा ठुला हुने’रिसाउँदै उत्तर दिएकी थिइ।
तपाईंको ब्याग डिक्कीमा राखिदिन्छु भन्दै खलासिले उसको हातबाट ब्याग तान्यो अनि केटीकी साथीले ढोकैबाट बिदावारी गरेर गइ।
हाते ब्यागको फिता दाहिने कुममा छिराउँदै अनि गगल्सलाई निधारमाथि लगाउँदै मेरो सिट छेउमा आएर टक्क अडी।
‘बि ३ सिट यही हैन ?’ मलाई सोधेकी थिइ।
मैले आँखाको इशाराले नै नम्बर लेखेकोतिर देखाएँ।
अनि पर सर्ने ठाउँ नभए पनि यसो मिलाए जस्तो गरेर जेन्टल्म्यान पारा देखाएँ।
मनमनै सोचे कथाकी मुख्य पात्र भेटी अब मात्र यो यात्रालाई कथा बनाउन बाँकी रह्यो।
‘मलाई भित्तातिरको सिट छाडिदिनुन’उभिएरै झ्यालबाट हेर्दै आग्रह गरेकी थिइ।
मैले उत्तर दिनुभन्दा अगाडि नै मैले सोचेको कुरा फेरि भनी ‘मलाई बमिटिङ हुन्छ’।
यो ट्रिकले चै अचुक काम गर्छ मैले छोडिदिएँ सिट।
लुज टाइपको ट्राउजर, स्पोर्टस सुज अनि रातो रङको पातलो हावा छेल्ने ज्याकेट लाएकी थिइ।
मान्छे स्पोर्टी लाग्यो। बोल्ने कुनै बहाना पाइरहेको थिइनँ। म अलिक अन्तर्मुखी स्वभावको पनि थिएँ। ऊ पनि मोबाइल मै व्यस्त थिइ। मोबाइल खोलेर ट्वीटर लगइन गरेँ।
उसको अघिको ट्वीटमा सिट पार्टनर कस्तो पर्यो त ?सोध्या रहेछ कसैले। उसले उत्तर लेख्न भ्याइसकिछे ‘खडुस’।
गाडी एकतमासले दगुरिरहेको थियो।
क्षितिजतिर आकाश सिन्दुरी रङमा परिणत हुँदै थियो।
उसको ट्वीटमा रिप्लाइ गर्न मन लाग्यो र गरेँ पनि ‘खडुस भनेको कस्तो टाइपको हो?’ एकछिनसम्म हेरेँ उत्तर आएको थिएन।
लगभग कोसीमा बस पुगेपछि फेरि मोबाइल हेरेँ।
उसको रिप्लाइ आएको थियो ‘क्लिन सेभ,नाक चुच्चो,गुम्मपरेर बस्ने, हातमा बिहेमा दिए जस्तो पहेँलो वाला घडी लगाउने अनि आफूलाई ओभर स्मार्ट देखाउन खोज्ने’।
ओहो रिप्लाइ देखेर त म ट्वा परेँ।
नहेरिकन नै धेरै कुरा विचार गरिसकिछे। मनमनै मुस्कुराएँ अनि रिप्लाइ फर्काएँ ‘आफैं बोल्दा पनि त हुन्छ नि,बा मान्छे इन्ट्रेस्टिङ छ कि!’
अब ठीक्क स्मार्ट हुनु पर्यो भनेर बोल्ने बहाना खोज्न थालेँ।
ऊतिर हेरेको दुइटै कानमा एयरफोन लगाएकी थिइ। त्यही पनि सुन्छे होला भनेर सोधे घर कहाँ हो? भनेर।
सुनिनछे देब्रे कानको डल्लो झिकेर ‘के भन्नु भा?’भनेर सोधी।
फेरि त्यही प्रश्न दोहोर्याएँ। उसको साइडमा राखेको सानो ब्यागबाट नागरिकता निकालेर थमाइ दिइ।
अलमल्ल परेर तर्किंदै भने‘ल मलाई किन दिनु भा?’
‘सब डिटेल छ पढ्नु होला।’ जवाफ फर्काइ।
उसको जवाफ सुनेर म जोडले हाँसेँ।
‘अपरिचित पुरूषहरू प्राय: नाम सोध्छन्, ठेगाना सोध्छन्, अनि उमेर सोधिहाल्न नसके पनि प्रश्न उब्जाउँछन् र भित्रै मार्छन् केटी मान्छेको सन्दर्भमा,यो पढेपछि बुवाको नाम समेत थाहा हुन्छ,’ उसले भनी। ‘स्मार्ट‘ भनेर सानो उत्तर दिएँ मैले।
‘हैन अलिकति फ्र्यान्क छु तर मान्छेले मेरो खुलापनलाई कमजोरी सम्झेर फाइदा लिन खोजी हाल्छन्’ उसले भनी।
नागरिकता यसो हेरेँ।
सुनगाभाशर्मा, उमेर २५ वर्ष, अनि घर चै झापातिर रहेछ।
सोचे कथाकी पात्र त चाखलाग्दो नै भेटाएँ अब अलिकति पात्रमा रङ भरिदिन पाए कथा मज्जाको हुनेथ्यो।
बाँकी यात्रालाई कथा हुनेगरी पार गर्नुथियो। गाडी ‘बरमझिया’मा रोक्यो । ‘लु पेडा लिन उत्रनु पर्यो भन्दै ऊ अर्लिइ।
म पनि उसको पछिपछि पाँच मिनेटवाला शौच गर्न ओर्लिएँ।
लाइनमा उभिएँ। म चुरोट पिएर सोच्दै उभिरहेको थिएँ।
छेउमै आएर पेडा लिनु भयो भनेर सोधी।
‘मलाई यहाँको पेडा ओभर रेटेड लाग्छ त्यसैले कहिले पनि किन्दिनँ’जवाफ दिएँ।
नास्ता खाइवरी फेरि गाडीमा फर्कियौं। गाडी अगाडि बढ्यो। गफ गर्न अघि सरेँ‘तपाईंले आफ्नो चै नागरिकता देखाउनुभयो तर मेरो नाम त सोध्नै भएन त?’, मैले सोधेँ।
‘नाममा के नै राखेको हुन्छ र ? सम्बोधनको लागि दाइ भन्या छु सक्किगयो नि!
‘काठमाडौं किन जाँदै हुनुहुन्छ?’ धेरैबेरमा मौनता तोडी।
‘म त्यतै बैंकमा जब गर्छु तर घर चै विराटनगर हो’उत्तरदिए।
‘मैले घर सोधेर?’ उल्टो प्रश्न गरी।
‘मैले उपहारमा भन्दिएको’ फेरि उत्तर दिए।
ऊ मज्जाले हाँसी एकछिन।
साँझ छिप्पिसकेको थियो। झ्यालबाट छिरेको हावाले चिसो महशुस हुन थालिसकेको थियो।
मोबाइलमा एकछिन ट्वीटर खोलेँ।
‘खडुस मान्छे इन्ट्रेस्टिङ निक्लेला जस्तो छ’उसको ट्वीट थियो हाँसेको इमोजीसहित।
‘लभ पर्ला नि?’ उसको ट्वीटमा एउटा रिप्लाइ थियो, अनि उसको उत्तर थियो ‘वान साइडेड चै पर्न सक्छ’अनी हाँसेकोवाला इमोजी। कहिलेकाहीँ लाग्छ इमोजीद्वारा मान्छेहरू सत्यकुरा लुकाइरहेका हुन्छन्। ‘तपाईं म्यारिड हो ?’ उसले अचानक सोधी।
हेर्दा के जस्तो लाग्छ? भनेर प्रतिप्रश्न गरे।
‘अह गेस गर्न सकिनँ’ उत्तर दिई।
प्रेमिका पनि छैन मेरो भनेर के उत्तर दिएको थिए चाहिने भन्दा बढी उत्तर दिनुहुँदो रहेछ भनेर कुरो टुङ्ग्याइ।
‘अनि तपाईं चै के गर्नु हुन्छ?’ सोधे मैले।
दाहिने कानको डल्लो पनि निकाल्दै उत्तर दिइ ‘म एनजिओमा छु,थारु कम्युनिटीमा ट्रेनिङ चलाएर आएको इनरुवामा’।
विस्तारै हामी खुल्दै थियौं। घरपरिवार,राजनीति,देश विदेश कुनै टपिक बाँकी रहेन कुरा गर्ने।
मैले जस्तो चटपटे केटी सोच्या थिएँ कुरा गर्दै जाँदा गम्भीर पनि पाएँ। गाडी अगाडि बढ्दै थियो। ऊ मोबाइल चलाइरहेकी थिइ।
मैले पनि ट्वीटर खोलेर चलाउन थालेँ।
‘मान्छेलाई यति छिट्टै मन पराउन थालिन्छ लाग्या थिएन’ उसले ट्वीट लेख्न भ्याइसकिछे।
एउटा रिप्लाई पनि आएको थियो‘प्रपोज हान्देउ’भनेर।
जवाफमा उसले हाँसेको इमोजी दिएकी थिइ।
निदाउनुभन्दा अगाडि उसले आफ्नो रामकाहानी सुनाइ।
पाँच छोरीमध्ये जेठी, विवाहको कुरा चल्दै रहेछ। केटो विदेशी पिआर वाला।
उमेरको अन्तर धेरै भएकोले उसलाई मनपरेको रहेनछ।
वैशाखमा आएर उसलाई हेरेर अनि बिहे गर्ने रे।
मन परेन भने भाग्नु नि ब्वाइफ्रेन्डसँग भनेको थिएँ।
उसको जस्तो अनुहारले प्रेमी बनाउन नसकेको कुरा मजाकिया पाराले भनेकी थिइ।
एक घन्टा जति कुरा गर्यौ धेरै विषयमा, मैले पनि आफ्नो पारिवारिक कुराहरू सुनाएँ।
तर मलाई पनि बिहेको प्रेसर छ भन्नेकुरो चै सुनाइनँ।
सुनगाभा मलाई मनपर्न थालिसकेकी थिइ। एकदम फ्र्यान्क। काठमाडौं पुग्दासम्ममा प्रपोज गरेर वैशाखमै उसलाई नै उडाउ कि जस्तो पनि लाग्यो एकमनले।
राति निदाएको पत्तो भएन। सायद ५ बजेतिर होला चिया, नास्ता गर्न गाडी रोक्यो। दुबै जना ओर्लियौं। नित्य कर्म सकेर चियाको चुस्की लिन थाल्यौं।
धेरैबेर नदीलाई हेरिसकेपछि उसले मौनता तोडी ‘नदी बगेको हेर्दै चिया पिउनुको मज्जा बेग्लै छ है।’
‘प्रकृति मानिसको घनिष्ठसाथी हो, बस अनुभव गर्न जान्नुपर्छ सक्नुपर्छ‘अलि दार्शनिक उत्तर दिएँ।
‘अलि हलुका कुरा गर्न पर्यो’ जिस्किँदै भनी उसले।
‘तपाईंलाई थाहा छ? प्रेममा परेपछि मान्छेको मन कपास जस्तै हल्का भएर बेपर्बाह उड्छ रे नि त’ मैले भने।
‘हैन अचानक कहाँबाट प्रेमको प्रसंग हो फेरि?’ प्रश्न तेर्स्याइ मलाई। ‘हलुका कुरा गर भन्नु भयो त्यसैले प्रेमको हैन कपासको चैकुरा गरेको’ जवाफ दिएँ।
ऊ एकदम मज्जाले दिल खोलेर हाँसी। गाडी चढ्दै गर्दा भनी ‘रमाइलो मान्छे पर्दा त यात्राहरू पनि रमाइलै हुने है?’
‘किन? म रमाइलो रहेछु?’सिटमा बस्दै गर्दा सोधेँ।
‘मैले आजको यात्रा भनेको हो र’ जिस्काउने पाराले मतिरहेरेर जिब्रो निकालेर आँखा झिम्क्याउँदै उत्तर दिइ।
कुरो बुझे जस्तो गरेर म हाँसें। गाडी फेरि आफ्नो गन्तब्यतिर हुइँकियो। हामी लगभग सात बजेतिर कलंकी पुगेका थियौं।
मलाई काठमाडौंको दूरी त्यो दिन धेरै नजिक जस्तो अनुभव भयो।
उत्रन मन नलागी नलागीखुट्टा अगाडि बढ्यो। ऊ कोटेश्वर झर्ने रैछे। म ओर्लेर सिधै ऊ बसेको झ्यालतिर गएँ।
उसले मलाई नै हेरिरहेकी थिइ। ल सुनगाभाजी, हाम्रो यात्रा यत्तिनै रहेछ। म जान्छु है। बाटोमा भेट्दा बोलाउनु होला।
‘बोलाउने मात्र हैन चिया नै ख्वाउछु,यात्राको हिसाब किताबमा तपाईंको एक कप चिया उधारो छ,’ हाँस्दै जवाफ दिइ।
उसले फोन नम्बर माग्छे जस्तो लाग्या थियो मागिन।
मलाई पनि मेरो इगोले माग्न दिएन भद्र जो हुनुथ्यो।
इम्प्रेसन जमाउनु थियो। अनि झट्ट दिमागमा आयो ट्वीटरमा त फलो गर्या छ नि। उसले पो मलाई चिन्दिन त।
केही परी हाल्यो भने सम्पर्क गर्ने माध्यम छ।
‘तपाईंको नाम के हो यात्रा भरी थाहा भएन’सोधी।
‘नाममा के राख्या छ र ? यात्रामा भेटिएका मान्छे यात्रा मै सकिन्छन्’ मुस्कुराउँदै उत्तर दिएँ।
ऊ हाँसीमात्र। म नाम नै नभनी बिदा भएँ।
हिन्दी फिल्ममा हिरोले फर्केर हेर्दा हिरोइनले उस्लाई नै हेरेको दृश्य याद आएर फर्केर हेरेँ, मलाई नै हेरिरहेकी रहिछे। एकछिन हिरोवाला फिलिङ आयो।
कोठामा पुगेँ।
अब मलाई यात्राको कथा लेख्नु थियो।
थकाइ लागेकोले सुतेँ। ब्युझँदा ११ बजेको रहेछ। ट्वीटर लग इन गरे। स्क्रोलडाउन गर्दा देखेँ सुनगाभाले एउटा ट्वीट गरेकी रहिछे।
‘संयोग त होलानी केही क्षणको यात्रामा धेरै भन्दा धेरै कमनइन्ट्रेस्ट मिल्ने सहयात्री भेट्टाउनु। सायद त्यस्तो मान्छेसँग १२ घण्टे यात्रा मात्र हैन जिन्दगीको यात्रा पनि सँगै गर्न पाए?’ अनि आँखामा पानको पात भएको इमोजी।
एउटा रिप्लाई थियो ‘त्यही खडुस’? अनि उसको हाँसेको इमोजी वाला रिप्लाइ।
म पनि उसको ट्वीटमा सहमत थिएँ। संयोग नै त होला नि जस्तो लाग्यो। सम्झे बिचरीसँग त उपाय पनि केही रहेन।
फेसबुकमा खोज्थी होली तर नाम पनि भनिनँ उसलाई।
मलाई अलिकति कहानीमा ट्विस्ट ल्याउनुथ्यो। उसको झनै माया लागेर आयो। मैले त्यो यात्राको कथा लेखे हप्ता दिन लगाएर।
अनलाइन पत्रिकाले छापिदिएछ। ट्वीटरतिर पनि सेयर भएछ।
त्यो सेयर भएको कथाको लिन्कमा एउटा उसको रिप्लाइ थियो ‘पेडा १ किलो हैन आधा किलो थ्यो’ अनि हाँसेको इमोजी।
मलाई रिप्लाई पढेर खुब हाँस उठ्यो। अनl उसको रिप्लाइमा सधैंकोले रिप्लाइ गर्या थियो ‘खडुस त कथाकार पो निक्लेछ त।’अनि दुबैको हाँसेको इमोजी।
वैशाखमा मेरो पनि बिहे गर्नैपर्छ भन्ने बाध्यात्मक परिस्थिति थियो। भोलिपल्ट एक ठाउँ दिदीले भनेको केटी हेर्न जानुपर्ने पनि थियो। मलाई भने सुनगाभा एकदम मन पर्न थालिसकेकी थिइ।
मलाई केटी हेर्न जान मन थिएन। मैले ट्वीटर खोलेँ।
केही नसोची उसलाई डाइरेक्ट म्यासेज गरेँ आइ लभ यु सुनगाभा।
उसले मलाई ट्वीटरमा चिन्दिन थिइ र पनि जानीजानी म्यासेज गरेको थिएँ। ऊ अनलाइन थिइन उसको रिप्लाइ आएन।
लगभग एक घण्टापछि रिप्लाइ आयो।
को हो तपाईं?लाज लाग्दैन?ट्वीटरबाट केटी पट्याउँछु भन्ने लाग्छ?म साइबर क्राइम अन्तर्गत मुद्दा हालिदिम? के सोच्नु भाछ?अहो गालीको वर्षात् वाला रिप्लाइ आयो।
अनी मैले इटहरीमा उसले थाहा नपाउने गरी खिचेको मकै दार्दै गरेको फोटो पठाइ दिँदै लेखेँ जुम गरेर हेर्नुस् नाकको टुप्पोमा रिसको कालो पोको छ।
उताबाट एकछिन पछि रिप्लाइ आयो ‘लभ यु टु।’