तीन तले घरको छतबाट पहिले तल्लाको झ्यालसम्म झरेर पिलपिल गर्दै बलिरहेको झिलिमिली बत्तीलाई एकछिन टोलाएर हेर्यो र बसन्तले भन्यो, ‘जाऔं साथी हो अब यो घरका मान्छे तल झर्छन् जस्तो लाग्दैन मलाई।’ उसको स्वर लगातर आधा घण्टा भट्टयाएपछि सुकेको थियो, तिर्खा पनि उत्तिनै लागेको थियो, पाएको भए एक अम्खोरा पानी एक सासमै रित्याइदिने थियो।
पछाडिबाट रमेशले भन्यो, ‘जाने भए जाउँ तर आशिष दिएर जाउँ, घरबेटीले गति छाड्यो भनेर हामीले छाड्नु हुँदैन।’
‘किन गति नछाड्नू सालेहरूमाथि जाँड धोकेर तासमा मस्त होलान्, यत्रोबेर गाएको नसुन्नेले हाम्रो आशिष सुन्छन् जस्तो लाग्छ तिमीहरूलाई?’ झोक्किँदै भन्यो पुण्यरामले।
पुण्यरामको कुराले देउसी टोलीमा थोरै खैलाबैला भयो, केटाहरूको गाइगुइँ बढ्न थाल्यो।
‘ठीकै छ नि त यत्रोबेर त खेलियो अब दुई मिनेट त हो म भट्टाउँछु अनि जाउँला, ल विष्णु मादल बजा, सकेर गइहालौं अब त अबेर पनि भैसको दरबार पुग्नु छ,’ बसन्तले सुकेको स्वरमा भन्यो।
बसन्तका कुरा भुइँमा झर्न नपाइ विष्णुको मादलले ताल दिइहाल्यो अनि आशिष सुरू भयो।
बसन्त : आहै, भन मेरा भाइ हो
देउसे : देउसी रे
बसन्त : आहै, राम्ररी भन
देउसे : देउसी रे
बसन्त : आहै, स्वर मिलाइ कन
देउसे : देउसी रे
बसन्त : आहै, देउसी रे भन
देउसे : देउसी रे
बसन्त : आहै, यसैमा घरका
देउसे : देउसी रे
बसन्त : आहै, लाला र बाला
देउसे : देउसी रे
बसन्त : आहै, दुबो जस्तै
देउसे : देउसी रे
बसन्त : आहै, मौलाइ रहुन्
देउसे : देउसी रे
बसन्त : आहै, यसैमा घरका
देउसे : देउसी रे
बसन्त : आहै, परेवा पंक्षी
देउसे : देउसी रे
बसन्त : आहै उड्दामा खेरी
देउसे : देउसी रे
बसन्त : आहै, आकाशै ढाकुन्
देउसे : देउसी रे
बसन्त : आहै, बस्तामा खेरी
देउसे : देउसी रे
बसन्त : आहै, पृथ्वी ढाकुन्
देउसे : देउसी रे
बसन्त : आहै,, यसैमा घरमा
देउसे : देउसी रे
बसन्त : आहै, लक्ष्मीले
देउसे : देउसी रे
बसन्त : आहै, बासै गरून्
देउसे : देउसी रे
बसन्त : आहै, बासै गरून्
देउसे : देउसी रे
देउसी सकेर केटाहरू विस्तारै आफूले ल्याएको झोला मिलाउन थाले, जसमा पोहोरको भन्दा पनि थोरै भिक्षा थियो। अरूले झोला मिलाउँदा बसन्त भने एकटक त्यहीँ घरमा हेरिरह्यो।
घरको दोस्रो तलाको झ्यालबाट एउटा लगभग पाँच सात वर्षको केटो आफ्नो दुबै हातले चिउँडो अडाएर बसन्तलाई नै हेरिरहेको थियो।
त्यो केटोले बसन्तलाई यस्तो नजरले हेर्यो, मानौं बसन्त कुनै अर्कै ग्रहको प्राणी हो। केहीबेर झ्यालबाट हेरेर त्यो केटो बसन्तको नजरबाट बिलिन भयो।
बाहिर बसन्तलाई हेरेर भर्खर दाजुको कोठामा आएको केटोले बसन्तकै उमेरको आफ्नो दाजुलाई सोध्यो, दाइ ती अघिका मान्छे किन आएका? मोबाइलमा एकोहोरो भएर हेरिरहेका दाजुले उसका कुरालाई त्यति वास्तै गरेनन्।
भाइले निकैबेर कराएपछि दाइले झर्कंदै भन्यो, ‘देउसी खेल्न आएका हुन्, जा अब सुत एघार बजिसक्यो।’
भाइलाई सोध्न मन लागेको थियो ‘दादा देउसी भनेको के हो?’
तर दाजु भर्खरै जसरी झर्केको थियो त्यो सम्झेर सोध्नै सकेन।
मन खिन्न बनाएर ओछ्यानमा पल्टियो।
उसलाई मनमा लागेको थियो एकपल्ट बाबालाई सोधौ कि भनेर, तर हिजोमात्रै तास खेलेको बेलामा बाबाको छेउ बस्दा बाबाले भनेको सम्झियो, ‘बाबु सानो मान्छे तास खेलेका ठाँउमा आउनुहुन्न।’
अनि मनमनै सोच्यो, ‘सायद त्यो तुङ तुङ गरेर बज्ने कुरा देउसी हुनुपर्छ।’ यस्तै या सायद अरू केही सोच्दै केहीबेरमा ऊ निदायो।
त्यो केटो निदाउन्जेलमा भने देउसे टोली एउटा घना जंगलको बाटोमा हिँडिरहेका थिए।
‘अब थोरैमात्र पर हो साथी हो हामी दरबार पुग्न आट्यौं’, बसन्तले दरबार नजिकै भएको आश्वासन दिँदै भन्यो।
केटाहरू सबै निरास देखिन्थे। दरबारमा गएर के भन्ने होला भनेर सबै बहाना सोच्नमा ब्यस्त थिए। केहीबेर हिँडेपछि उनीहरू ठूलो दरबारको मूल ढोकामा आइपुगे।
ढोकाकै छेउमा एउटा दरबान कुर्सीमा मस्त निदाइरहेका थिए।
बसन्तले उसलाई उठाउनका लागि सुकेको स्वरमा आवाज दियो, ‘दाइ , हामी राजालाई भेट्न आएका ढोका खोलिदिनु न।’
दरबान बिस्तारै आँखा मिच्दै उठ्यो र भन्यो, ‘को हो तपाईंहरू ?’ अनि पुण्यरामलाई हेरेर बसन्तलाई देखाउँदै भन्यो, ‘अनि यो केटी जस्तो बोल्ने केटो को हो?’
पुण्यराम र अरू केटाहरूले हाँसो थाम्नै सकेनन् , साँच्चै धेरै भट्टयाएर बसन्तको स्वर केटीकोझैं भएको थियो।
‘खुब आशिष दिएर जाउँ भन्थिस् नि थाहा पाइस् नि अब हैन? कि यहाँ पनि एकछिन भट्टयाउने हो?’, पुण्यरामले जिस्काउँदै भन्यो।
‘नकरा कति जिस्केको’, बसन्तले केटीकै स्वरमा भन्यो।
केटाहरू फेरि एकपल्ट हाँसेर मुर्छा परे।
त्यतिकैमा दरबानले भनेँ, ‘भाइहरू देउसे हुनुहुँदो रहेछ, जानुहोस् तर धेरैबेर नलगाउनु होला, महाराज आजकल खासै खुसी हुनुहुन्न, सुनिन्छ मार्क जुकरवर्गले गर्दा उहाँको निद्रा हराएको छ। भित्र गएर मार्कको नामचै नलिनुहोला।’
केटाहरू विस्तारै दरबानले खोलिदिएको ढोकाबाट भित्र पसे।
तिहारले दरबार पूरै उज्यालो भएको थियो, बाटै भरि दीयो बालेर सजाइएको थियो। केटाहरू विस्तारै दीयो बालेको बाटो हुँदै दरबारभित्र पसे।
एउटा लामो सभाकक्षको अन्तिममा राजा आफ्नो राजगद्धीमा झोक्राएर बसिरहेका थिए।
केटाहरू राजासामू पुगेर उनलाई हात जोडे।
बली राजाले खुसी हुँदै भने,‘के ल्यायौ त देउसे?’
अनि एक/एक गर्दै सबैको अनुहारमा हेरे तर सबैको अनुहार झोक्रयाएका देखे।
‘के भो ए केटा हो, भन के लिएर आयौ?’, बली राजाले रिसाउँदै भने। कालो मुख लगाएर रमेशले सानो बोरामा भेला पारेको दुई माना चामल, एक दुई वटा केरा र पाँच सात वटा सेल रोटी देखायो।
बसन्त, पुण्यराम र अरू सात आठ जना देउसे कालानीला भए।
बली राजाले एकदमै निरास भएर भने, ‘भन त ए बसन्त, हरेक वर्ष किन यसरी मेरोसामू झनझन थोरै भिक्षा लिएर आउँछौ तिमीहरू? के तिमीहरू देउसी खेल्दा मेरो नाम लिदैनौ , मैले पठाएको भन्दैनौ?’
महाराज म हजुरलाई सबै कुरा विस्तारमा बताउँछु, तर त्योभन्दा पहिला मेरो एउटा अनुरोध छ कि म प्यास मेटिने गरी पानी पिउन पाउँ।
यो सुनेर राजा साँच्चै चिन्तित भए र दासीलाई एक अम्खोरा पानी मगाए। बसन्तले त्यो पानी एक सासमा सिध्यायो।
पानी पिउँदा उसको रुद्रघण्टी बजेको आवाजले त्यो शून्यतालाई चिरेको थियो।
पानी पिएर केटाको आवाजमा बसन्तले भन्यो, ‘महाराज क्षमा गर्नुहोस् हामीलाई,अब यो समाजले हजुरलाई बिर्सदै गइरहेको छ, हजुरको नाम लिएर देउसी हिँड्ने देउसे पनि वर्षैपिच्छे पातलिँदै गएका छन्।
तपाईंका नाममा भिक्षा माग्ने धेरै मान्छे सहरका पवहरूमा मातेर रातभरि नाचिरहेका छन्, अनि सुरक्षामा खटेका प्रहरीहरू हजुरका देउसेलाई दस बजेपछि गाउन रोकिरहेका छन्, हामीले त उनीहरूको आँखा छलेर आज एघार बजेसम्म जसोतसो देउसी खेलेर आयौं।
महाराज एकछिन मौन भए अनि केही सोचेजस्तो गरेर भने, ‘अनि बसन्त घर बस्ने पनि त निकै थिए होलान् नि तिनले मेरो नाममा भिक्षा दिन मानेनन्?’
‘महाराज हामी गएको धेरै घरमा मान्छे त थिए तर उनीहरूसँग समय थिएन। कोही हातमै भिक्षा लिएर आएँ, उनीहरूको एउटा हातमा मोबाइल थियो अर्कोमा पैसा। पैसा दिँदा पनि उनीहरूको आँखा मोबाइलमै थियो, मलाई लाग्छ ती भिक्षा दिने कसैलाई पनि हाम्रो अनुहार याद छैन। लाग्थ्यो उनीहरू हाम्रो भिडिओ खिच्न मात्र त्यहाँ आएका हुन्। महाराज कोही त देउसेलाई भिक्षा दिन तलसम्म पनि झरेनन्’, बसन्तले निरास भएर सुनायो।
‘महाराज मैले सुनेको अर्को कुरा के भने, मार्क जुकरवर्गले हजुरका प्रजालाई दासी बनाएका छन् रे, सबैको समयलाई बन्दी बनाएका छन् भन्ने सुनेको छु’, बसन्तले सानो स्वरमा महाराजलाई सुनायो।
महाराजले त्यो कुरा सुनेपछि केहीबेर सोचमग्न भइ सभाकक्षको चक्कर लगाए र भने, ‘बसन्त मलाई अब डर लाग्न थालेको छ, सबैले मलाई बिर्सन्छन् कि भनेर।’
यो कुरा भन्दा बली राजाको आँखा आँसुले भरिएका थिए।
राजा पदको बाँधले यदि नछेकेको भए सायद उनको आँसु बग्ने थियो।
‘महाराज मलाई पनि अब साँच्चै डर लाग्न थालेको छ, आज पानी पिउन नपाएर घिटघिटी हुँदा पनि कोही घरबाट निस्केनन्। मलाई त लाग्छ मार्क जुकर्सवर्गले हजुरका प्रजाको समयलाई मात्र नभएर मानवता र पहिचानलाई पनि बन्दी बनाएको छ। अब त हजुरले आफ्नो प्रजाको बारेमा सोच्ने बेला आएको छ’, बसन्तले यति भनेर लामो सास लियो।
बसन्तले लामो सास लिन मात्र भ्याएको थियो बली राजाले पनि लामो सास लिए।
राजा निकै ठिटलाग्दो देखिएका थिए। उनको अनुहारमा आफू राजा भएको वा नभएको अलमल झल्कन्थ्यो।
राजाले विस्तारै बसन्तको कपाल मुसारे अनि भने,‘भइगयो, म रिसाउँदिनँ नरो, बरू भोक लागेको होला खाएर जानू अनि सबै साथीलाई पनि खुवाउनू , बरू रमाउन पुगेको छैन भने एकछिन यतै नाचगान गरे हुन्छ, खुसीको चाडपर्वमा यसरी मुख बिगार्नू हुन्न।’
भक्कानिँदै बसन्तले भन्यो, ‘महाराज मैले आज एउटा केटो देखेँ जो हामीले देउसी खेलेको एउटा घरको झ्यालमा बसेर तपाईंलाई खोजिरहेको थियो। मलाई डर छ महाराज, बाटो बिराएका हजुरका प्रजाले के उसलाई तपाईंसम्मको बाटो देखाउलान्?’
महाराजले केही नभनी बसन्तको कपाल एकछिन मुसारे अनि विस्तारै थाके जस्तो चालमा आफ्नो सयनकक्षतिर लागे।
सुनिन्छ त्यो रात देउसे केटाहरूलाई राजाको दरबारमा नाचगान गर्दैगर्दा प्रहरीले समाएर लग्यो अनि भोलिपल्ट भाइटीकाको दिन छोड्यो तर उनीहरूसँगै पक्राउ परेका बली राजाको भने आजसम्म अत्तोपत्तो छैन। के तपाईंहरूले बली राजालाई कतै देख्नुभएको छ?