जब मान्छे परदेश लाग्छ
ऊ एक्लै परदेशिँदैन
यादहरू लिएर जान्छ
यादहरूको गुजुल्टोभित्र संसार अटेको हुन्छ
परदेशीको साथ लागेर
थोरै देश पनि परदेशिन्छ।
परदेशीसँग
एक टुक्रा ममता जान्छ
आशिर्वाद र जिम्मेवारी अघि पछि लाग्छन्
प्रेमिहरूको प्रेमिल स्पर्श
दिल बन्दी भएर जान्छ
आफन्तहरू अँगालोमा बेरिएर हिँड्छन्
जब मान्छे परदेश लाग्छ
घर-समाज परदेशिन्छ।
परदेशीले
नयाँ बस्तीहरूलाई पुराना कथाहरू सुनाउन थाल्छ
भाषा जिब्रोमा झुन्डिएर जान्छ
झ्याउरे, देउडा, सिलोक भाकाहरू उतै पुग्छन्
नयाँ माटोमा ऊ धान नाच नाच्छ
सनाई, ढोलक र नरसिङ्गा बज्छन्
यात्री बाटो लाग्दा
यात्री एक्लै हिँड्दैन
कुल देवी देउता पनि साथ लाग्छन्
जब परदेशी बसाइँ सर्छ
संस्कृति र सभ्यता पनि यात्रीसँगै बाटो लाग्छन्।
परदेशीहरू पर पुग्लान्
तर कदाचित पराई हुँदैनन्
दूरदराजमा धरहरा ढल्दा
या मुसहर बस्तीमा चुह्लो नबल्दा
भनौं देश दुख्दा
परदेशीहरू पनि दुख्छन्
परदेशीको ज्यान र मन सधैं सँगै हुन पाउँदैनन् ।
परदेशीले
सीमानामा दशगजा देख्दैन
उनीहरूलाई देश सीमानाविहीन लाग्छ
बन्दुकहरूले देशको नक्सा कोरेको मीठो लाग्दैन
परदेशीहरूको परिभाषामा
मान्छेको जात हुँदैन
मान्छेको वर्ग हुँदैन
मान्छेभन्दा अर्को मान्छे हुँदैन।
मान्छे परदेशिएपछि
देश परदेशमा भेटिन्छ
परदेश देशमा भेटिन्छ
जब एउटा मान्छे परदेशिन्छ
छातीमा माटो बोकेर हिँड्छ
ऊ जहाँ जहाँ पुग्छ नयाँ देश बनाउँछ
हेर त संसारभरि कति धेरै स्वतन्त्र नेपालहरू हुर्किरहेका छन्।