अकस्मात आँखा खुल्यो। झ्यालबाट मिर्मिरे उज्यालोले चिहाइरहेको थियो। ढल्किँदै गएको शरद ऋतुको चिसो बिहानीमा न्यानो विस्तारा झट्टै छोड्न मन लागेन। व्ल्यांकेटभित्रै गुटमुटिएर छेवैमा रहेको मोबाइल खोलें। स्क्रिनमा मेसेन्जरको नोटिफिकेसनहरू टन्नै थिए। स्क्रोल गर्दै जाँदा अलि तल प्रेक्षाको मेसेज रहेछ– सर, बिहान आठ बजेलाई अपोइन्टमेन्ट राखेको छु।
शनिबारको दिन त अलि ढिला अपोइन्टमेन्ट राख्नु भनेर पटकपटक भनिसकें । ‘हस’ भन्छे, मुसुक्क हाँस्छे, सकियो। फेरि भनेको मान्ने चाहिँ कहिल्यै होइन। नटेरेको देख्दा कहिलेकाहीँ त बेस्मारी गाली गरौं झैं झोंक चल्छ। फेरि यसो सोच्छु उसैले त हो मेरो ढिलासम्म सुत्ने बानीलाई परिर्वतन गराइदिएकी। बरु उसलाई त धन्यवाद भन्नुपर्ने हो। मनमनै थ्यांक्यु प्रेक्षा भनें। तर आजसम्म यो कुराको लागि उसले सुन्नेगरी धन्यवाद पाएकी छैन।
प्रेक्षा, अफिसको मेरो असिस्टेन्ट हो । क्लाइन्ट ह्याण्ड्लिङदेखि मेरो कामको म्यानेजमेन्टसम्मको जिम्मा उसैलाई छ। उसको कामप्रतिको लगाव देख्दा म नतमस्तक हुन्छु। बिहान सवेरै होस् कि राति अबेर होस् ऊ आफ्नो जिम्मेवारीप्रति हरवखत प्रतिबद्ध हुन्छे। कहिलेकाहीँ त भन्छु, ‘तिमी कति काम मात्र भन्छौ, कहिलेकाहीँ त यसो घुम्न पनि जाऊ । रमाइलो गर। बेलाबेला रिफ्रेस त हुनु पर्यो नि।’ ऊ सधैं झैं मुसुक्क हाँस्छे। उसको रेडीमेड जवाफ एउटै हुन्छ– जाउँला नि कुनै दिन।
घडी हेरें । सात बज्न लागिसकेछ। उठेर फ्रेस भइवरी अफिस पुग्दा सवा आठ बजिसकेको थियो। प्रेक्षा प्रि काउन्सेलिङ रूममा क्लाइन्टसँग परामर्श गरेर फाइल तयार गर्न व्यस्त थिई। म सरासर आफ्नो क्याविनमा छिरें। कार्यालय सहयोगी दिदीले ल्याइदिएको कफी पिउँदै पत्रिका हेर्दै थिएँ, प्रेक्षा फाइल बोकेर आइपुगी। मलाई फाइल दिँदै क्लाइन्ट काउन्सेलिङ रूममा मलाई पर्खिरहेको जनाउ दिएर फर्की।
फाइलको बाहिरपट्टि नै ठूलो अक्षरमा नाम लेखिएको थियो– भविशा कोइराला, उमेर २७ वर्ष।
भविशा...? म झसंग भएँ। अरे भविशा यहाँ ? त्यो पनि परार्मशको लागि ? म चकित परें। साँच्चै त्यही भविशा हो त? म तिर्मिराएँ। हतारहतार टेबलमा रहेको सिसिटिभीको मोनिटर अन गरें। काउन्सेलिङ रूमको क्यामेराले देखायो उही भविशा सोफामा मलाई कुरिरहेकी थिई।
मेरो हातखुट्टा फतक्कै गले। एकाएक मुटुको चाल बढ्यो। के गरौं के भयो। कहिले कुर्सीमा त कहिले सोफामा बस्दै उठ्दै गरें। चिट्चिट् पसिना निस्कियो। एकाएक बेचैनीको पारो चढ्यो।
भविशालाई थाहा छैन उनले परामर्शको लागि समय लिएको परामर्शदाता म हुँ भन्ने। किनकी उनलाई मेरो यो काम र यो कामको नाम बारेमा कुनै जानकारी छैन। उनलाई थाहा भएको मेरो वास्तविक नाम यो काममा प्रयोग हुँदैन। उनलाई परामर्शको लागि जसले यहाँ सिफारिस गर्यो उसलाई मेरो वास्तविक नाम थाहा हुने कुरै थिएन।
तर, मान्छे त एउटै हो। जुन उनको अगाडि उपस्थित हुने बित्तिकै थाहा हुने नै थियो। म विलखबन्दमा परें। उनलाई भेटौं कि नभेटौं भन्ने द्विविधा भयो। नभेटौं पैसा तिरेर, समय लिएर परामर्शको लागि आएकी एउटा क्लाइन्ट हुन्, उनलाई सेवा दिनु मेरो दायित्व हो। भेटौं हाम्रो विगत पुनरावृत हुनेवाला थियो। अर्को डर भनेको उनको अगाडि बसेर मैले परामर्श दिन र मेरो अगाडि बसेर उनले परामर्श लिन सम्भव होला कि नहोला भन्नेमा थियो।
मैले झट्टै निर्णय लिन सकिनँ। एक ग्लास चिसो पानी पिएर दस मिनेट त्यतिकै सोफामा बसिरहें। निक्कैबेर म ननिस्किएको देखेर प्रेक्षा क्याविनमै आई। उसलाई देख्ने बित्तिकै भनें, ‘यो क्लाइन्टलाई आज भेट्दिनँ। भोलि आठ बजेलाई टाइम दिनू।’
मैले यति भनिसक्दा प्रेक्षा ट्वाँ परेर मलाई हेरिरहेकी थिई। किनकी, समय दिइसकेको क्लाइन्टलाई मैले यसरी फिर्ता पठाएको रेकर्ड नै थिएन।
‘सर, एकछिन भेटेर बरु भोलिलाई बोलाउनुस् न। भेट नै नदिई कसरी फर्काउनु? तीन हप्ताअघि देखि आजको टाइम लिएको हो।’
सेवाग्राहीको चित्त दुखाउनु हुँदैन भन्ने उसको सल्लाह ठीक थियो। तर मेरो मनभित्र चलेको आँधी विचरी उसलाई कसरी थाहा होस्। भविशा र मबीचको सम्बन्धको स पनि प्रेक्षालाई थाहा छैन। मेरो त्यस्तो रुढ भनाईप्रति उसले अनौठो मान्नु स्वभाविक नै थियो। मलाई सधैं ‘कुल म्यान’ देखेकी उसको लागि मेरो त्यो रूप अनौठो हुने नै भयो।
म चुपचाप बसिरहें। एकछिनमा क्याबिनबाट बाहिरिँदै उसले भनि, ‘ओके सर, टेक केयर।’ प्रेक्षाको ‘टेक केयर’ शब्द मप्रति व्यंग्य थियो।
ऊ सरासर काउन्सेलिङ रूममा गएर भविशालाई आफ्नो क्याबिनमा लगी। म सिसिटिभी क्यामेराबाट भविशालाई नियाली रहेको थिएँ। तीन वर्षपछि उसलाई मैले प्रत्यक्ष देख्दै थिएँ। प्रत्यक्ष पनि नभनौं मोनिटरमा हेरिरहेको थिएँ। ऊ प्रेक्षासँग मज्जाले गफिरहेकी थिई। केहीबेरमा कफी आइपुग्यो । कफी पिउँदै उनीहरू आधा घण्टा बात मारे। यता म भने आँखै नझिम्काइ मोनिटरमा हेरिरहेको थिएँ। मन त मलाई भविशाको आवाज नै सुन्न थियो। तर सिसिटिभीमा त्यो सुविधा थिएन। तल पार्किङबाट स्कुटर लिएर उनी निस्किएकोसम्म हेरिरहेँ।
बाहिर मौसम धुम्म परेको थियो। क्षितिजमा कतै जान लम्किरहेका बादलहरूको घुइँचो देखिन्थ्यो। एकछिन अघिसम्म सँगै भएका बादलका टुक्राहरू हावाको वेगले छुट्टिएर आ–आफ्नै बाटो लाग्दै थिए। जसरी केही वर्ष अगाडि छुट्टिएर हामी पनि आ–आफ्नै बाटो लाग्यौं।
ती बादलका टुक्राहरूको फेरि मिलन होला कि नहोला थाहा छैन तर हाम्रो चाहिँ कम्तीमा भेट हुन लाग्दै थियो। म झ्यालबाट आकाश हेर्दै स्मृतिमा हराउन पुगेछु। कतिबेला प्रेक्षा आएर मेरो हालत नियाल्न भ्याइसकिछ। नजिकै आएर सोधी, ‘सर, हजुरलाई आज सन्चो छैन हो?’ म झसंग भएँ। नर्मल भएको देखाउन खोज्दै भनेँ, ‘नो नो आई एम ओके।’ तर मेरो अनुहार हेरेर मलाई पढ्न सक्ने प्रेक्षाले मेरो देखावटी भनाइमा विश्वास भने गरिन।
प्रेक्षा थप केही नभनि क्याबिनबाट बाहिरिई। मोबाइल खोलें। मोबाइलको ‘फोटो भल्ट’ एपमा उनको र उनीसँगको संयुक्त कैयौं फोटोहरू सम्झनाको लागि पासवर्डको चाबी लगाएर राखेको थिएँ। पासवर्ड नै उही थियो– भविशा। भित्र उनै भविशाका तस्वीरहरू।
निक्कैपछि यो भल्ट फेरि आज खोल्दै थिएँ। सितिमिति यो भल्ट खोल्न मलाई आँट नै आउँदैन। तर आज एकाएक उनको आगमनले ममा हलचल ल्याइदिएको थियो। भल्ट त खोलेँ तर फोटोहरू हेर्न सक्ने साहस जुटेन। मोबाइल बन्द गरेर आँखा चिम्लिएर त्यतिकै सोफामा सुस्ताएँ।
आज मेरो काम नगर्ने मुड देखेर प्रेक्षाले अरु दुई जना क्लाइन्टको अपोइन्टमेन्ट पोस्टपोण्ड गरिसकेकी थिई। भित्तामा झुण्डिरहेको घडीले ११ बज्नै लागेको संकेत गरेको थियो। लन्च टाइम भयो।
म अफिसबाट बाहिरिएँ। घर जान मन लागेन। उसै पनि शनिबारको दिन थियो। फोन गरेर बाटोबाटै दुई जना साथी लिएर जहरसिङपौवा डाँडोमा पुगें। जहाँ आफैंले छानेर लोकल भाले काट्न लगाएर पिरो झोल र भात खान पाइन्छ।
ठण्डीयाममा डाँडाको न्यानो घाम ताप्दै पारीपट्टि जुगल हिमालको मनमोहक दृष्य हेर्दै दुई चार घण्टा बिताउनुमा स्वर्गीय आनन्द मिल्छ।
तर, आज मन रमाएको थिएन। जाँदै गर्दा साथीहरूले धेरै पटक सोधे, ‘तेरो आज मुड अफ छ त ? के भयो ?’ मैले एउटै जवाफ दिइरहेँ, ‘होइन, तिमीहरूलाई त्यस्तो लाग्या मात्र हो।’
उनीहरूलाई जे लागिरहेको थियो त्यो त सत्य नै थियो। म नदेखाउन खोजिरहेको थिएँ। छलछाम गर्थें। मेरो आँखा अगाडि भने उनकै स्मृति नाचिरहेको थियो। छेउमा साथीहरू अनेक किस्साहरू सुनाउँदै रमाइरहेका थिए।
एक मनले त साथीहरूलाई मनभित्र गुम्सिएका सबै कुरा सुनाएर मन हलुका पारौं भन्ने लाग्थ्यो।
फेरि झल्याँस्स सम्झिन्थें उनले गराएको बाचा। अनि त घाँटीसम्म आइपुगेका कुराभित्रै दबिन्थे।
एक घण्टाको ड्राइभमा हामी डाँडामा पुग्यौं। सधैंझैं लामा दाइले मुस्कुराएर हाम्रो स्वागत गरेका थिए। पर सेताम्य हिमाल उसैगरी मुस्कराइ रहेको थियो। तलतिर देखिने जंगल, खोला, बस्ती अनि पहेँलै भएर धान पाकेको खेतहरू उस्तै सुन्दर थिए। तर जब मन नै शान्त छैन भने प्रकृतिका यस्ता सुन्दरताले कहाँ छुन सक्थ्यो र! खै किन हो यी सबै चिज मलाई फिक्का लागिरहेका थिए। म आफैंभित्र हराइरहेको थिएँ।
उत्तर आयरल्याण्डको नेक्सस् युनिर्भसिटीमा काउन्सेलिङसम्बन्धी कन्सल्ट्यान्ट ट्रेनिङ कोर्स गर्दा क्लासमा प्रोफेसर मार्कले बीचबीचमा रमाइला किस्साहरू सुनाउँथे। एक पटक उनको अफिसमा उनकै पूर्वपत्नि काउन्सेलिङको लागि आइछिन्। त्यो पनि पूर्वपति उनै मार्ककै बारम्बार आइरहने यादहरूबाट छुटकारा खोज्न। सुरूमा त मार्कले अरु प्रोफेसर काउन्सेलरकोमा पठाइदिने निर्णय लिएछन्। तर पूर्वपत्निले अरुकोमा नजाने अडान लिएपछि परामर्शको लागि उनी बाध्य भएछन्। त्यसको लागि एक महिनासम्म निरन्तर भेट भएपछि आखिरमा फेरि नजिकिन पुगेछन्। उनले ठट्यौली पारामा भने, ‘जीवनमा मेरो काउन्सेलिङ काम फेल भएको यही एउटा घटना हो।’
प्रोफेसर मार्ककै जस्तै एउटा घटना मसामू पनि आइपुगेको छ। फरक यति हो भविशा मेरो पत्नि थिइनन्। सुरूमा त मैले पनि मार्कले जस्तै अरु नै काउन्सेलरकोमा रिफर गर्ने नसोचेको होइन। तर उनको समस्या म आफैं उनकै मुखबाट सुन्न र परामर्श दिन चाहन्थेँ। मलाई डर भनेको उनको अगाडि म परामर्शदाताको रूपमा प्रस्तुत हुन सक्छु कि सक्दिनँ भन्नेमा मात्र थियो। उनले पनि सेवाग्राहीको रूपमा आफूलाई उभ्याउन सक्छिन् कि सक्दिनन् भन्नेमा पनि थियो।
हिमाल पारि घाम लुक्यो। धर्तीमा अँध्यारो झर्न थाल्यो। झ्याउँकिरीहरूले साँझ परेको संकेत दिँदै थिए। दिनभरि चर्न टाढा–टाढा पुगेका चराहरू आफ्नै गुँड फर्किंदै थिए। उसैगरी हामी पनि आफ्नो गुँड फर्किन त्यो डाँडा छोडेर ओरालो लाग्यौं। साथीहरूलाई ड्रप गरेर अबेर साँझ घर पुग्दा नौ बजिसकेको थियो। कपडा चेन्ज गरेर फ्रेस भएर डङ्रङ्ग बेडमा पल्टिएँ। म हरेक रात कम्तीमा तीन घण्टा भोलिपल्टको दिनको तयारीको लागि बिताउथें। तर आज ल्यापटपसम्म खोल्ने जाँगर चलेन।
मानसपटलमा उनीसँग बिताएका ती स्वर्णिम तीन वर्ष घुम्न थाले। म नोस्टाल्जिक भएँ।
०००
२०७० साल मंसिरमा एक चर्चित राष्ट्रिय दैनिकमा ‘युवापुस्तामा मौलाउँदो लिभिङ टुगेदर’ शिर्षकमा मेरो एउटा आर्टिकल छापिएको थियो। त्यो आलेखको अन्तिममा मेरो इमेल ठेगाना पनि थियो। त्यसको दुई दिन पछिको साँझमा मलाई एउटा झण्डै आधा पेज लामो एक जना युवतीको इमेल आयो। धेरै शब्द त मेरो आलेखको प्रसंसा गर्नमै खर्च भएको थियो भने अन्तिममा लिभिङ टुगेदर कन्सेप्टको बारेमा थप बुझ्न मसँग भेट्न चाहेको कुरा पनि लेखिएको थियो। त्यसपछि लेखिएको थियो उनको नाम– भविशा कोइराला।
मैले रिप्लाई दिएर भेट्ने कुरामा मन्जुरी दिएँ। त्यसैदिन रातिबाट हामी फेसबुकमा पनि जोडियौं। राति अबेरसम्म कुराकानी भयो। उनी इन्जिनियर बन्ने सपना बोकेर चितवनबाट काठमाडौं आएकी रहिछिन्। हामीले त्यो रात आ–आफ्नो घरपरिवारदेखि जीवनको लक्ष्यसम्म एक अर्कालाई बताउन भ्याइसकेका थियौं। अब हरेक दिन कुराकानीको सिलसिला चल्न थाल्यो । बिहान गुडमर्निङबाट सुरू भएको गफ राति गुडनाइटमा पुगेर टुंगिन्थ्यो । अचम्म चाहिँ झट्टै हाम्रो मन मिलेको थियो। यस्तो संयोग सायद कमै मात्र पर्छ।
दुई हप्ता त्यतिकै बित्यो। तेस्रो हप्ताको शुक्रबार साँझ बानेश्वरको एक कफी सपमा हाम्रो पहिलो भेट भयो। हँसिलो गोरो अनुहार, कर्ली कपाल, सर्लक्क मिलेको ज्यानमा, नीलो बुट्टा भएको सेतो कुर्ता–सुरुवालमा उनी निक्कै आकर्षक देखिएकी थिइन्।
उनले आइपुग्ने बित्तिकै सोधिन्– म कस्तो देखिएकी छु ?
वाह.., यु लुक भेरी व्युटिफुल...एण्ड नाइस् ड्रेस।
कफीबाट सुरू भएको गफ लम्बिएर डिनरसम्मै पुग्यो। राति नौ बजे उनलाई होस्टेल पुर्याइदिएर म घर फर्किएँ। भेटघाटपछि भने हाम्रो सम्बन्धको उडानले टेक–अफ गर्यो। उडानले उचाइ लिइरहँदा हामीले घुम्न र मोजमस्ती गर्न सायद कुनै कसर बाँकी राखेनौं। काठमाडौं वरिपरिका पार्क, डाँडा, जंगल, तालतलैया, मठमन्दिरदेखि सहरभित्रका रेस्टुराँ, सिनेमा हल, नाटक घरहरू हाम्रो डेटिङ्का गन्तव्य बनिसकेका थिए। प्रेमको रसपानमा भुलिएर एक वर्ष बितेको पत्तै भएन।
एक दिन उनले आफू होस्टेलमा बस्न नसक्ने भन्दै सँगै बस्ने प्रस्ताव गरिन्। म आफन्तकोमा बस्थें। सँगै बस्ने भए हामीले छुट्टै बस्ने व्यवस्था मिलाउनु पर्ने हुन्थ्यो। त्यसो गर्नु भनेको हामीले बिहे गर्नु सो सरह हो। बिहे गर्ने कुरामा न म तयार थिएँ न उनी। एकाध वर्ष होस्टलमै बस्न र पढाइ सकिने बित्तिकै काम गरौंला अनि सँगै बसौंला भनेर मैले सम्झाई रहें। तर उनले आफ्नो ढिपी छोड्दै छोडिनन्।
मप्रति मेरो परिवारको सपना थियो, परिवारप्रति मेरो दायित्व। उनको पनि त्यही हो। यति ठूलो निणर्य निक्कै सोच विचार गरेर लिनुपर्छ भनेर उनलाई बारम्बार सम्झाई रहें। जति कुरा गरे पनि अन्तिममा उनको एउटै भनाई हुन्थ्यो– कि मलाई छोड कि सँगै राख।
म बडो संकटमा परेँ। न उनलाई छाड्न सक्थें न परिवारलाई म बिहे गर्छु भन्न नै सक्थें। पढाई सकिएको थिएन। काम गरेको थिइनँ। घरबाट पैसा मागेर भागी बिहे गरेर बस्न मेरो मनले मानेन। मनले एकथोक भन्थ्यो, दिमागले अर्को थोक। मैले धेरै रात एकान्तमा मन र दिमाग बीचको द्वन्द्वको सामना गरिरहें।
उनी हरेक बिहान ‘एस’ र ‘नो’ मा निर्णय माग्थिन्। म हरेक दिन थप एक रात सोच्न समय माग्थें।
सोचेर धेरै चिसा रातहरू बिताएपछि मैले निर्णय लिएँ जुन मैले एक वर्ष अगाडि आफैंले लेखेको आर्टिकल जस्तै थियो– लिभिङ टुगेदर विथ भविशा।
परिवारलाई होस्टेल बस्छौं भन्ने झूट बोलेर विशालनगरमा हामी गोप्य रूपमा लिभिङ टुगेदरमा बस्न थाल्यौं। सँगै आ–आफ्नो पढाइलाई निरन्तरता पनि दियौं। दिनहरू राम्रै बित्तै गए। बिहानहरू उमंग लिएर उदाउँथे। साँझहरू रंगिन बनेर अस्ताउँथे।
खुसी खुसीमा तीन वर्ष कति चाँडै बित्यो हामीलाई पत्तै भएन। यसैबीच बिबिए सकाएर मैले एक कर्मसियल बैंकमा काम सुरू गरें, उनले इन्जिनियरको रूपमा एक हाइड्रोपावर कम्पनीमा काम सुरू गरिन्।
काम गर्दै मास्टर्स डिग्री पढ्ने योजना बनाएका थियौं। समय सोचे जस्तै नै चल्दै थियो। अब हामी बिहे गर्ने निणर्यमा पुग्नुपर्छ भन्ने पनि सल्लाह हुँदै थियो।
एक साँझ डिनरपछि छिट्टै उनले बेडमा बोलाइन्। सितिमिति ११ बजे अघि हामी बेडमा जाने चलन थिएन। आज नौ बजे नै किन बोलाइन्? भन्नेमा मैले केही अनुमान भने लगाइसकेको थिएँ।
केही दिनदेखि उनले मसँग केही गम्भीर कुरा भन्न खोजिरहेको छिन् तर भन्न सकिरहेकी छैन भन्ने मलाई महशुस भइरहेको थियो। अलि ठूलै कुरामा सरसल्लाह गर्नु पर्यो भने बेड टाइममै गर्ने उनको बानी थियो। आज पनि केही गम्भीर कुरा छ भन्ने मेरो अनुमान गलत थिएन। हामी बेडमा गयौं।
‘सुन न... तिमीलाई थाहै छ, मैले मास्टर्स अब्रोडबाट गर्ने योजना बनाएको कुरा। बाहिरबाट मास्टर्स गर्यो भने धेरै राम्रो हुन्छ। घरबाट पनि त्यही भनिसिन्छ। तिमी पनि उतैबाट मास्टर्स गर्नू। हामी सँगै बाहिर जाऔं न।’ उनले मेरो कपाल सुम्सुमाउँदै बडो मायालु पाराले प्रस्ताव राखिन्।
उनको यो प्रस्ताव पहिलो पटक थिएन। धेरै पटक मैले अस्वीकार गर्दै आएको थिएँ। मैले जति पटक ‘नो’ भने पनि उनी मलाई फकाइरहन्थिन्। एक दिन कन्भिन्स हुन्छ भन्ने उनको आशा थियो। मैले पनि धेरै पटक असहमति राखेपछि उनले त्यो योजना रद्द गर्लिन् भन्ने मेरो आशा थियो। अति नै भएपछि आज चाहिँ फाइनल कुरा गर्नु पर्यो भन्ने मनस्थितिमा म पुगें।
‘हेर भवि..., मैले धेरै पटक भनिसकें मेरो बाहिर जान मिल्दैन। म जान्नँ पनि। तिमी नगई नछोड्ने हो भने एक्लै जाऊ । पढाई सकेर आऊ। म कुरौंला,’ मैले मेरो तर्फबाट स्पष्ट भनें।
थोरै पर सर्दै सिलिङ्तिर हेरेर भनिन्, ‘एक्लै जान त घरबाट दिसिन्न। तिमी नजाने भए मैले विकल्प सोच्नुपर्ने हुन्छ।’
‘हुन्छ, सोच...’, मैले भनें, ‘मेरो कुनै अब्जेक्सन छैन।’
‘तिमीले मेरो कुरा बुझेनौ जस्तो छ । म बाहिर बिहे गरेर जाने हो,’ उनले आँखा जुधाएरै भनिन्।
‘मैले तिम्रो सबै कुरा बुझेको छु। तिमीसँग संगत गरेकै चारवर्ष भयो। एउटै बेड शेयर गरेकै तीन वर्ष बित्यो। तिमीले के भन्न खोजेको भन्ने कुरा तिमीले आँ गर्दै म बुझ्छु। तिमीलाई जे ठीक लाग्छ गर। तिमी अरुसँग बिहे नै गरेर जाने भए पनि तिमी स्वतन्त्र छौ। तर हामी जुन रिलेसनले जसरी बसिरहेका छौं यो समान्य कुरा होइन। एकपटक ठण्डा दिमागले सोचेर मात्र निणर्य लिनू। यो विषयमा मैले भन्ने यति हो। फेरि पनि यो टपिकमा म कुरै गर्न चाहन्नँ,’ मैले कुरा टुंग्याएँ।
आँखाभरि टिलपिल आँसु पार्दै रुन्चे स्वरमा भनिन्– ‘ठीकै छ....आज आएर मलाई साथ दिएनौ। त्यसो भए भोलिबाटै हामी आ–आफ्नो बाटो लागौं। म यो घर छोड्छु। यति भनिसकेर उनी जुरुक्क उठेर वास रूम गइन्।
यो विषयमा एकदिन ठूलै विवाद पर्छ भन्ने मलाई लागेको थियो। तर यही कुराले हामी छुट्टिनु नै पर्छ भन्नेसम्म चाहिँ मैले सोचेको थिइनँ। यो हदसम्मको सम्बन्ध एउटा योजना वा केही शब्दहरूले यति सजिलै टुंग्याउन सक्छ भन्ने पनि मलाई लागेको थिएन।
त्यो अन्तिम रात एउटै बेडमा हामी अपरिचित जस्तो भएर पटकपटक कोल्टे फेर्दै बितायौं। आँखामा झिपिक्क पनि निन्द्रा परेन। कोल्टो फेर्नु र डिम लाइटको मधुरो उज्यालोमा आक्कल झुक्कल आँखा जुध्नु बाहेक अरु थिएन। सदा मभन्दा दस पन्ध्र मिनेट भए पनि उनी अघि उठ्थिन्। हट लेमन बनाएर खुवाथिन्। आज उनलाई त्यो जाँगर चलेन। वा त्यो गरिरहन मन लागेन वा आवश्यक ठानिनन्। भगवान जाने।
म नियमित समयमै उठें। दुई कप हट लेमन बनाएँ। उनलाई पनि बेड छेउमै लगेर राखिदिएँ। खाना तयार गरें। आफू खाएँ, उनको भाग छोपी राखिदिएँ। खाना खाउन्जेल एक मनले भन्थ्यो बोलाएर खुवाउँ। फेरि अर्को मनले भन्थ्यो आ..होस्। सँगै खाने बानी परेकोले होला एक्लै खान खासै मन लागेन। नरुच्दा नरुच्दै अलिकति खाएर म अफिस जाने तयारी गर्न लागें। उनी अझै मुख छोपेरै सुतिरहेकी थिइन्।
तयार भएर म निस्किनै लाग्दा ढोकैनेर पछाडि आएर भनिन्, ‘म दिउँसो जान्छु.... सधैंको लागि। तिम्रो राम्रो होस्। सधैं खुसी देख्न पाउँ । लभ यु फरयभर!’
हजारौं सियोले मुटु घोचे जस्तैगरी ती शब्दले एकैपटक घोच्यो। आँखामा टिलपिलाएका आँसु बर्रर झरे। ती आँसु उनले नदेखुन् भनेर पछाडि नफर्की, एकशब्द नबोली म निस्किएँ। दिउँसो तीन बजेतिर टेक्स्ट आयो– ढोकाको चाबी तल छोडेको छु। म निस्किएँ... गुड बाई!
०००
चार वर्षको स्मृतिमा डुबुल्की मार्दामार्दै छर्लङ्ग रात बित्यो। बिहानी सधैंझैं उसैगरी उदायो। तर नियमित बिहानीभन्दा आजको बिहानी मेरो लागि भिन्न थियो। मनमा उमंग थियो, उत्सुकता थियो। अनि थियो उनीसँग हुने भेटको व्यग्र प्रतीक्षा। आठ बज्नु अगावै अफिस पुगें।
‘गुड मर्निङ सर’ भन्दै प्रेक्षा क्याविनमा आइपुगी।
‘भविशालाई कति बजे बोलाएकी छौ?’ प्रेक्षालाई सोधें।
‘सवा आठ’
घडी हेरें। आठ बजेको रहेछ। अनयासै बोलेछु– अब पन्ध्र मिनेट बाँकी रहेछ। त्यो सुनेर प्रेक्षाले अलि ठूला आँखा बनाउँदै शंका गरेझै सोधी, ‘हजुर त काउन्ट डाउनमा हुनुहुन्छ त?’
‘साँच्ची.. एउटा कुरा मेरो मनमा लागिरहेको छ, सोधौं ?’ प्रेक्षाले हँसिलो मुहार बनाएर भनि।
‘भनन’– मैले स्वीकृति दिएँ।
‘हिजो यो क्लाइन्ट आएदेखि हजुरमा एक्कासी परिवर्तन देखेको छु। चिनजान को हो ? वा अरु केही... ?’
मैले ऊतिर हेर्दै नहेरी जवाफ दिएँ, ‘त्यस्तो केही होइन।’
यो जवाफले उसको चित्त पक्कै बुझेको थिएन। कतिपय कुराहरू मैले नभने पनि मेरो मुड हेरेर अनुमान लगाइरहेकी हुन्छे। यो कुरामा पनि उसले जे अनुमान लगाएर मलाई जिस्काउने पारामा सोधेकी छ त्यो सत्य नै हो। फरक यति हो भविशा र म लिभिङ टुगेदर मै बसेको थियौं भन्ने अनुमान चाहिँ उसले पक्कै लगाएकी थिइन।
थप केही नबोली एकछिन बसेर ऊ आफ्नो क्याबिनमा गई। यता म पटकपटक घडी हेर्दै भविशाको प्रतीक्षामा व्याकुल थिएँ।
त्यस दिन विशालनगरबाट हिँडेपछि उनीसँग आज भेट हुँदै थियो। तीन वर्षपछि।
उनी हिँडेपछि मेरो जीन्दगीमा के–के भयो म सुनाउन चाहन्थें। उनको जीवनमा के–के भयो सुन्न चाहन्थें। मुख्य कुरा त उनले हिजो फाइलमा लेखेको डिप्रेशन शब्दले म उनलाई कतिबेला भेटौं भन्ने हालतमा पुगेको थिएँ।
आठ बजेर पच्चिस मिनेट गयो, उनी आइपुगेकी छैनन्। पौने नौ.... नौ.... साढे नौ... दस बज्यो तर उनी आइनन्। पन्ध्र दिनदेखि नियमित आउनु पर्ने तीन जना क्लाइन्टको परामर्श सकाउँदा ११ बज्यो। अझै उनी नआएपछि प्रेक्षालाई मोबाइलमा कल गर्न भनें।
उनको मोबाइल स्वीच अफ रहेछ। मनमनै आफैंलाई सान्त्वना दिएँ– कतै काम पर्यो होला, भोलि आउलिन्।
प्रतीक्षाको घडी मिनेटबाट घण्टा, दिन हुँदै हप्ता बित्यो। अहँ उनी आइनन्। न त मोबायल नै अन भयो। सामाजिक संजालतिर सर्च गरें। कतै फेला परेन। उनलाई चिन्ने एक दुई जना साथी थिए, उनीहरूलाई पनि केही जानकारी रहेनछ। केही नलागेपछि उनलाई अफिसमै कुर्नु बाहेक मसँग अर्को विकल्प थिएन।
पन्ध्र दिनपछि बिहान अफिस पुग्ने बित्तिकै प्रेक्षा हातमा पत्रिका बोकेर दौडिँदै मेरो कोठामा आई। स्याँ.. स्याँ… गर्दै आइपुगेकी उसले सासले नै भनि, ‘हेर्नु त सर यहाँ...।’
ठूलो अक्षरमा लेखिएको ‘हार्दिक श्रद्धान्जली’ मुनि मुस्कुराइरहेको ठूलो फोटो र फोटोमुनि लेखिएको थियो स्व.भविशा कोइराला।
०००