तिमी निर्जीव पहाड भएर पनि
हे सगरमाथा
छौ तिमी संसारकै जानीमानी।
बस्छौ तिमी सन्त बनि
हजारौंले शिरमा टेक्दा पनि ।।
जब टेके हाम्रा बाउ बाजेले
तिम्रो पवित्र शिरमा जहिले ।
छोरा नाति पलाँतीसम्म
छन् निरन्तर टेक्दै आहिले ।।
चढ्छन् मानव तिम्रो शिरमा
ठोक्दै काँटीकिला शरीरभरि ।
फर्किन्छन् रमाउँदै खाली हात
छरी फोहोर तिम्रै तालुभरि ।।
तिमी निर्जीव पहाड भएर पनि
हे सगरमाथा.....
हाम्रा पुर्खाहरूको पालामा
थियौ तिमी राजकुमारै सरि ।
आज नातिहरूको पालामा
बन्यौ दुर्गन्धित हेर कठैबरी ।।
उठाउँछ करोडौं डलर यहाँ
वार्षिक रोयल्टी पनि ।
तर छैन चिन्तित कोही यहाँ
भयो फोहोर तिम्रो शरीर भनि॥
तिमी निर्जीव पहाड भएर पनि
हे सगरमाथा....
सजाइ दियौ होटल,रेस्टुरेन्ट
केही नहुने पाखाहरूलाई जहाँ ।
बोलायौ विदेशी ग्राहकहरू पनि
चलाइ दिन होटलहरू त्यहाँ ।।
खोलि दियौ पाठशालाहरू
बासिन्दाहरू अनपढ छन् जहाँ।
बनायौ पाइलट,इन्जिनियर पनि
तर छैन तिनीहरू कोही यहाँ ॥
तिमी निर्जीव पहाड भएर पनि
हे सगरमाथा.....
सिकाउँछौ मानवलाई तिमी
गाउँघरमै गरिखाने तरिका।
तर बने उनीहरू स्वार्थी सबै
सिके अंग्रेजी छिरे अमेरिका ।।
हेर्दा छौ तिमी विशाल पहाड
हिमाल हो तिम्रो जात ।
निर्जीव पहाड भएर पनि
हौ स्वार्थी मानवको अन्नदाता ।।
तिमी निर्जीव पहाड भएर पनि
हे सगरमाथा
छौ तिमी संसारकै जानीमानी ।
बस्छौ तिमी सन्त बनी
हजारौंले शिरमा टेक्दा पनि ॥