कविता
आज म
उसको जादुमय कला सृजनाको प्रभावले
बेहोस छु
कसरी लेख्छन् हँ उनी कविता ?
अक्षरहरूको भीडबाट
शब्दहरूको मायाबी जुलुस मात्र निकाल्दैनन्
बिम्ब र प्रतीकहरूको भेल बगाउँछन्
उपमा अनि कलात्मकताको मालासहित
लालित्यपूर्ण जामा लगाई दिन्छन्
र त उनको कविताको बल्छीमा
हजारौं कोष यात्रारत छन्
द्रविभूत भै परेला भिजाई रहेछन्
खुसीले मुस्कुराएका मात्र छैनन्
खित्का छाडेर हाँसिरहेछन् ।
त्यति मात्र कहाँ हो र ?
संमृद्ध एवं साङ्केतिक शब्द प्रयोग
एवं उनको भाषिक सामर्थ्यले
सुसाइड नोट टेबुलमा राखेर
मर्न उद्यत कायरहरूले
जीवन बोध गरेको देखेको छु
उनकै कविताको प्रत्यक्ष प्रभावमा
आ-आफ्ना घाँटीको नाप लिएर
सुर्केनी कस्न लालयित
जमात पनि भेटेको छु
कवितारूपी रथ र सारथी
दुवै उत्तम भएपछि
गन्तव्यमा सहजै
पुग्दो रहेछ कविता।
उस्को शब्द संयोजनले
घनत्वपूर्ण अभिव्यक्तिले
हुरी ल्याउँछ
सृजना गर्छ सूर र तालको
मादल र हार्मोनियमको रन्कोले झैं
झङ्कृत बनाउँछ परिवेश
शब्दहरूले चोट निकाल्छन्
घायल बनाउँछ मान्छेलाई
अक्षरहरूबाट आगो निकाल्छन् उनी
क्षणभरमा नै ज्वालामुखी विष्फोट हुन्छ
समग्रमा भन्नु पर्दा
रविको पहुँचभन्दा धेरैमाथि
बारम्बार पुगिरहन्छन् यी कवि
निर्जिव शब्दमा प्राण भर्ने कलाका पारखी उनी
आफू मरेपछि पनि
अनन्तकालसम्म बाँचिरहन्छन्।
कविता त म पनि बारम्बार लेखिरहन्छु
एउटै शब्द भण्डारबाट
लिएका हौं शब्दहरू दुवैले
तर, तर अफसोच !
अर्थहीन शब्दहरूका
बिस्कुन मात्र हुन्थे मेरा कविता
र त मेरै कविता स्वयं म बुझ्दिनथेँ
उसका कविताले दुनियाँ बुझाउँथ्यो
आफ्नै कविताको चितामा म स्वयं जलिरहेछु
साहित्यिक अछुतको पगरीमा म बेरिरहेको छु
समाजको राम्रै तमासा भएको छु
त्यसैले यस बखत
ऐनाको अगाडि ठिंग उभिएर
स्वयंसँग माफी माग्दै छु
कविता नलेख्ने कसम खाँदैछु।