कुन खोलामा कति
पानी होइन बालुवा जोख्दिने
भाइ संस्थाको प्रमुख योग्य
मार्सल आर्टको पदकधारी छ ?
चाहियो।
सत्ताको लयात्मक भजन
छ्यालब्याल ब्याउने
राष्ट्रपदकको उमेद्धवार
देशभक्त आँशुकवि छ ?
चाहियो ।
तस्करीको मृगौलो
महाजनको अण्डकोष जतनले बचाउँदै
प्रतिस्थापन गर्नसक्ने
काविल डाक्टर छ ?
चाहियो ।
कागजमा कुलो खनेर
कागजमा कुलो पुर्ने
राष्ट्रवादि ठेकेदारको लागि नक्सा कोर्न
अत्यानुभवि इन्जिनियर छ ?
चाहियो ।
उद्घाटनको भोलिपल्ट
हावा फाल्ने पानीको धारो मुनि
मालिकको प्रतिरक्षार्थ कुटिन खुसी
जल प्यासी कार्यकर्ता छ ?
चाहियो ।
भोक, आक्रोस र लासको लिफ्ट चढेर
सत्ताको उचाई चुमेपछि
आँखामा पट्टी बाँधेर पिँध चिहाउने
जनप्रिय शासक छ ?
चाहियो ।
मतपत्रमा आदर्शको बाचामन्साएर
बाजे पुज्य पुस्तैनी मत चिन्हमा
स्वस्तिक छाप जोत्ने
वंशाणुगत मतदाता छ ?
चाहियो ।