कविता
त्यस दिनपछि
न कहिल्यै खोजे बाले हामीलाई
न खोजिन् आमाले नै बालाई
तर आश्चर्य !
रगत नसुकेसम्म नसुक्दोरहेछ
नशामा बगिरहने रगतकै नाता
हरेक 'प्यारेन्स् डे' को दिन
म सोध्थें आमालाई-
‘ड्याडी खै?'
आँखाबाट खस्थ्यो आमाको जवाफ
त्यतिखेर बुझ्दिनथें
मौनता,आँसु र झुकेको शिरको भाषा
बुझ्ने भएपछि
कहिल्यै सोधिनँ यो प्रश्न आमालाई
बरु त्यसपछिका दिनहरूमा
आमाले नै रटाइरहिन्
सुगालाई जस्तै
जिन्दगीका कारुणिक कथाहरू
बिर्सिनै दिइनन् कहिल्यै
बाको बेइमान नाम
पढाइरहिन्
छोरी हुनुको अझ ठूलो कारुणिकता
क्रमश: क्रमश :
आमाले त त्यतिखेरै पखालेर फ्याँकेकी हुन्
सिउँदोको सिन्दुर
झर्याम् झुरुम् फुटालेकी हुन्- हातका चुरा
र छरपस्ट चुँडालेकी हुन्
गलाको पोते पनि
तर मैले सधैं
घृणाले जपिरहेँ बाको नाम
मेरो अघिल्तिर भित्तामा झुन्डिएको
समयको यो घडी
संकटको सेकेन्ड सुई लिएर
टिक्...टिक्... टिक्...टिक् ...गरिरहेछ
मान्छेको जीवन रक्षा कवच
सेतो एप्रोनमा लपेटिएको छु म
र छु अपरेसन थिएटरमा
अब मैले अपरेशन गर्नुपर्ने छ
जीवन र मृत्युको संघारमा लडेको
एउटा जिउँदो लासलाई
जो जुम्ली हात जोडेर
याचना गरिरहेछ
‘नानी !
मेरी छोरी पनि तिमीजस्तै हुन्थी होली
तर, उसलाई मैले 'सन्तान' सम्झिइनँ
र फ्याँकिदिएँ आफ्नै कछाडमा पोको पारेर
हुन्थी होली तिम्री आमा जस्तै भाग्यमानी
मेरी स्वास्नी पनि
डाक्टर छोरीकी आमा भएर
तर उसलाई मैले छोरी जन्मेकै दिन
छोरी जन्माएकै कसूरमा
रगतको आहालमा लतार्दै थेचार्दै
घरबाट निकालिदिएँ
त्यसपछि,
कहिल्यै फर्किइन ऊ मेरो घरको बाटो
बताइन कहिल्यै आफू पुगेको ठेगाना
श्रीमती नभएको घर घरजस्तो नहुँदो रहेछ
खाल्डाखुल्डी, बेरङ्गी,
पिच भत्केको बाटो जस्तो
र उस्तै हुँदोरहेछ नानी
जिन्दगीको लय पनि
उमेर हुञ्जेल त
धेरै पाएँ साथ दिनेहरू
पैसा हुञ्जेल त
धेरै आए अघि पछि हिँड्नेहरू
नानी ! यो मृत्युको संघारको अँध्यारोमा लडेर
के ढाँटुँ र म तिमीलाई
मैले आफ्नै छोरी सरहकीलाई पनि...
त्यही पश्चतापको तापले पोलेर
आज म यहाँ लडिरहेछु
यी मेरा शिराहरूमा
उसकै आँसु बगिरहेछ
र यी आँखाहरूमा
आफैं बहुलाएको त्यो दिन बाहेक
अरु सबै दृष्य मेटिएका छन्
धेरै मान्छेहरू बनाएँ
सम्पत्ति पनि कमाएँ,
तर, थाहा पाइनँ
पापले जिन्दगीको मूलबाटो छेक्छ भनेर
आज बग्दाबग्दै समयको भेलले
किनारामा घाइते बनाएर
फालेको छ
उठ्नै नसक्ने गरी
तै पनि अझै मलाई बाँच्ने रहर छ नानी
यो बाँच्ने रहर अरु केहीका लागि होइन
उसलाई भेटेर, प्रायश्चित गर्न हो
बिन्ती नानी ! मलाई जीवनदान देऊ !’
म सम्झिरहेछु आमालाई-
‘छोरी ! माघको कठ्यांग्रिने जाडोमा
दरालेर आफ्नै मुटुको एक छेउ
घुसारेर थरथर काँपेका यी हात
बाँसको झाङबाट
टिपेर ल्याएको हुँ तँलाई’
उफ् ! कस्तो गाह्रो !
यो सबै सुनेर पनि
यो सबै सम्झेर पनि
आफ्नो निर्णयले
उसलाई मृत्यु दिन सक्दिनँ
न सक्छु म
सधैं घाउ बल्झिरहने गरी
उल्टो ओखती दिन
किनभने,
मेरा आँखा अगाडि लडेको ‘जिउँदो लास'
मेरा बा हुन्
र यतिखेर म
उनकी छोरीभन्दा बढी डाक्टर!