बाहिर झमझम पानी परिरहेको थियो।
टिनको छानामा पानी दर्किएको आवाज मलाई औधि मन पर्छ, सुनिरहुँजस्तो!
यही बेला मनमा पढाइ, जागिर र करिएरका कुरा खेल्दै थिए। अफिस टाइमको जडीबुटी-कोटेश्वरको सडकजस्तै व्यस्त हुन थाल्यो मेरो मनका अव्यवस्थित विचार पनि।
टिङ टिङ . . .
एकोरिएको मन झस्कियो। यसो हेरेँ, मोवाइलमा मेसेज आएको रहेछ। च्याट हेडमा उसैको फोटो देखेँ। हाइ।
मेरो हेलोको रिप्लाइ आएको रहेछ। उ मेरो च्याटलिष्टको माथि छे, मनमा पनि।
मैले अधिकांश समय उसैलाई दिएकोले हुनुपर्छ उ च्याट लिष्टमा माथि छ। यति धेरै कुरा भए पनि हुन त उसको बारेमा मलाई खासै थाहा छैन।
उसको परिवार र पढाइदेखि बाहेक उसको व्यक्तिगत जीवनबारे मलाई केही थाहा छैन। मैले जान्ने इच्छा गरिनँ या उसले भन्ने। मैले सोध्न पो जानिनँ कि!
के गर्दै छौं? मैले सोधेँ।
केही छैन यत्तिकै, तिमी के गर्दै? उसले जवाफ फर्काइ।
म पनि तिमी जस्तै।
यति भनेपछि उसले इमोजीसहित हासेको रिप्लाइ पठाइ।
अब मलाई के लेखौँ लेखौँ भो।
एउटा हिन्दी सायरीको नेपाली अनुवाद पठाइदिएँ, जे पर्ला।
आकाशमा छरिएका बादलबाट छानिएर आउने
डिसेम्बरमा लुकेको सूर्यका यी किरणहरु
जब बस्छन् तिम्रो गालामा
तब विहान हुन्छ मेरो प्रेमको।
अनुवाद है। मिल्यो कि मिलेन बरू।
रिप्लाइ आएन। उसका प्रोफाइलमा आँखा डुलाउन थालेँ। फोटाहरू हरेँ। रियाक्ट गर्न छुटेका फोटाहरूमा रियाक्ट गर्दै गएँ।
यति गर्दा दश मिनेट वितिगयो।
बल्ल उ झुल्किइ।
‘सायद मिलेको होला अनुवाद’ उनले भनि।
धन्यवाद।
उनले सोधि, अरे पुराना फोटा लाइक किन?
तिम्रो रिप्लाई ढिलो आउँदा, तिमी अफलाइन हुँदा मेरो काम नै तिम्रो प्रोफाइल चाहार्ने हो।
‘काम नपाएपछि यस्तै हो’ उसले भनि।
हे हे, आइ लव टु लस अन योर प्रोफाइल, मैले भनेँ
उसको रिप्लाइ: उफ्!
एक आँखा झिम्क्याएका इमोजी पठाइदिएँ।
उसले त कुरा मोड्दै भनि, घरतिर के छ?
सब ठिकठाक।
उसले म कहिले आउने भन्ने पनि सोधेकी थिई। मेरो जवाफ तिहारपछि।
आज नसुत्ने? ओ हो, घडी हेरेको साढे १० बजिसकेछ।
अब सुत्ने। गुड नाइट। शुभ सपनी।
. . .
ऊ अन्तिम सेमेस्टरको परीक्षा दिन भारत गएका बेला मैले भनेको थिएँ, अब त अप्टोमेट्रिष्ट भएर आउने होला, मलाई के ल्याइदिने?
किताव ल्याइदिन्छु।
अमिताभ बाग्चीको ‘हाफ द नाइट इज गन’ भन्ने उपन्यास ल्याइदेऊ भनेँ।
यतिकैमा मैले लेखिरहेको यो लेखको सुरूका अंश उसलाई पठाइदिएँ।
उत्सुक हुँदै उनले भनि, पूरै कहिले पढ्न पाइएला।
चाँडै नै मैले भने।
मलाई अझै कुरा गर्न मन थियो। तर लामो समय कुरा गर्न नै सक्दिनँ किन हो किन।
. . .
एकदिन मैले उसलाई त्रिवि सेवा आयोगको विज्ञापन पठाइदिएँ। अप्टोमेट्रिष्ट माग्या छ भनेर।
‘पाँचौं तह मागेको रहेछ’ उनले भनि।
उसलाई यो पदमा जागिर खान मन रहेनछ।
मैले आफ्ना तनाव उसलाई अलिकति सेयर गरेँ। जागिर छैन त्यही तनाव नि। अरू तनाव के छन् उसले जिस्कँदै सोधि।
मेरा तनाव यसप्रकार छन्-
- जागिर।
- पढाइ।
- अन्नपूर्ण/सगरमाथा आधार शिविर घुम्ने इच्छा कहिले पूरा होला।
- बुढेशकालमा बा-आमालाई सुख दिन सक्छु/सक्दिनँ।
- लाइफ पार्टनर कहाँ खोज्ने।
हा हा केही केही त यता पनि मिल्यो, उसले भनी।
आजकल कुराहरू मिल्न थालेका छन्।
. . .
काठमाडौं आएको भोलिपल्ट मैले फेरि एउटा मेसेज पठाएँ। ‘मेरो फेरि आगमन भयो तिम्रो शहरमा’ लेखेर।
कहाँ हो र? के गर्दै? उसले सोधि। अनि भनि, अब अस्तीको लेख पढ्न पाइने भो होइन त?
लेखेको डायरी घरमै छुटेछ भनेपछि उसले उपाय सिकाइदिइ। फोटो खिचेर पठाइदिने।
बा-आमालाई फोटो खिचेर पठाइदिनू त भन्ने तर त्यो पढ्नुभयो भने त? केटाको लभ परेछ भन्नुहुन्छ नि।
हा हा भनेर उसले त्यसै टारिदिई।
काठमाडौं आएपछि ऊसँग भेट्ने योजना बन्यो। मेरो मनमा बसेकी उसलाई भेट्ने दिन १६ डिसेम्बर।
उसले भाइलाई पनि सँगै ल्याउन भनेकी थिई। भाइसँग पनि चिनजान थियो।
भाइलाई भने- फष्ट डेट नै भाइलाई सँगै लिएर जानुपर्ने। भाइ मज्जाले हाँस्यो।
हामी सिद्धपोखरी जाने भइयो। उ त्यहीँ आउने भई। उसलाई भेट्ने हतार नपुग्दै फोन गर्दै भनि, खोइ कता हो? आइसकियो भनेँ।
सिद्धपोखरी नजिकै रहिछे। भेट भयो। घाम ताप्दै कुरा सुरू गरियो- पढाइ, जागिर र करियर। खाजा पनि सँगै खाइयो।
छुट्टिने बेला उपहार आयो- किताव।
’धन्यवाद’ मैले भनें।
तर म कस्तो हुस्सु भने नि, नारायण वाग्लेको कोरियाना कफिगफ उसैलाई उपहार दिन किनेको थिएँ कोठामै भुलेछु।