प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकारको एक वर्षे निराशाजनक भएको बताएको छ।
प्रधानमन्त्रीले काम गर्नुभन्दा धेरै बोल्नेमात्रै काम गरेको प्रवक्ता विश्वप्रकाश शर्माले आरोप लगाए।
‘प्रधानमन्त्रीको सफलता बोल्नुमा हुन्छ कि काममा?,’ पार्टी कार्यालय सानेपामा सोमबार पत्रकार सम्मेलन गर्दै शर्माले भने, ‘जब प्रधानमन्त्री टिभीमा बोल्न थाल्नुहुन्छ बालबालिकाले प्रशस्त मनोरञ्जन पाउँछन्। प्रधानमन्त्रीको बोलीबाट बालबालिकामा नराम्रो असर नपरोस्।’
प्रधानमन्त्रीले नयाँ वर्षमा आइतबार बिहान देशव्यापीका नाममा सम्बोधन गर्दा सरकारको विरोध गर्नेलाई वृद्धवृद्धा र युवाले ढुंगा बर्साउँलान् भनेर प्रतिपक्षी दलहरूलाई गैरजिम्मेवार अभिव्यक्ति दिएको शर्माले बताए।
‘सरकारको विरोध गरेमा वृद्धवृद्धा र युवाले ढुंगा बर्साउँलान् भन्ने अभिव्यक्ति दिएर प्रधानमन्त्रीजी गैरजिम्मेवार रूपमा प्रस्तुत हुनुभयो,’ प्रवक्ता शर्माले भने, ‘विपक्षी दलहरूलाई नन्दीभिरंगीको संज्ञा दिने?,’
२०७५ सालमा गरेका गल्तीबाट पाठ सिकेर २०७६ लाई समृद्धिको दिशातर्फ जाने गरी काम गर्न पनि कांग्रेसले प्रधानमन्त्रीलाई सचेत गराएको छ।
सरकारले संघीयता कार्यान्वयन गर्न नसकेको, कर्मचारी समायोजन गर्न नसकेको, प्रदेशको मागअनुसार बजेट विनियोजन नभएको, मुख्यमन्त्रीलाई आसन दिए पनि शासन दिन नसकेको र प्रधानमन्त्री कार्यालयमा अनावश्यक शक्ति केन्द्रिकृत गरेको कांग्रेसको आरोप छ।
‘संघीयतामा शक्ति विकेन्द्रीकरण गर्नुपर्नेमा प्रधानमन्त्री कार्यालयमा केन्द्रिकृत गरिएको छ,’ शर्माले भने, ‘राष्ट्रिय सुरक्षा परिषदलाई सरकारको लाचार छाया बनाउन खोज्ने?’
निर्मला पन्तको हत्यारालाई खोज्नेभन्दा सरकारले जोगाउनेतर्फ भूमिका खेलेको आरोप कांग्रेसको छ।
‘निर्मलाको हत्यारा किन खोजिएन? एक वर्षमा कांग्रेसका चार जना साथीहरू मारिए। यसबाट सुरक्षा अवस्था कस्तो छ भन्ने देखिन्छ,’ शर्माले भने।
संवैधानिक परिषदमा प्रमुख प्रतिपक्षी दलको नेता पनि रहने संविधानले परिकल्पना गरे पनि सभापति शेरबहादुर देउवाको अनुपस्थितिमा निर्णय गरेर सरकारले गल्ती गरेको पनि उनले बताए।
‘न्यायाधीश सिफारिसमा न्यायपालिकालाई सरकारको लाचार छाया बनाउने कोशिस भयो। शाही आयोगको ढंगले बाइड बडी खरिद प्रकरणमा छानबिन गर्न समिति गठन गरे पनि भ्रष्टाचार प्रकरणलाई खोज्नुभन्दा ढाकछोप गरियो,’ उनले भने, ‘कमिसनको खेलले मेलम्ची खानेपानी आयोजना पनि अवरूद्ध छ।’
कांग्रेसले बालुवाटारको सरकारी जग्गा विष्णु पौडेलको छोराको नाममा कसरी आयो भनेर पनि प्रधानमन्त्रीसँग जवाफ मागेको छ।
‘सरकारी जग्गा व्यक्तिको नाममा ल्याउन सत्तारूढ पार्टीको संलग्नताबारे प्रधानमन्त्रीजीलाई जानकारीमा छ कि छैन? जानकारीमा भए सचादारको उच्च कोटीमा राख्नुहुन्छ कि राख्नुहुन्न,’ शर्माले भने, ‘भ्रष्टाचार सहन्न भन्ने प्रधानमन्त्रीले छानबिन गरी कारबाही गर्नुहुन्छ/ गर्नुहुन्न?’ प्रधानमन्त्रीको सफलता बोल्नुमा भन्दा काममा हुने उनले बताए।
कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले जनविरोधी काम गरिराखेको बताए।
प्रधानमन्त्रीले देशब्यापीका नाममा सम्बोधन गर्नुपर्ने भए पनि पार्टी र गुट विशेषका लागि सम्बोधन गरेको निधिले आरोप लगाए। ‘प्रधानमन्त्रीजीले पार्टी कार्यकर्तालाई अरिंगाल बनाउन कोशिस गर्नुभयो। नेकपा कार्यकर्ताले मानेनन् म धन्यवाद दिन चाहन्छु,’ उनले भने, ‘विपक्षीलाई ढुंगामुढा गर है भन्ने हाम्रो प्रधानमन्त्रीलाई के भएको होला?’